घोडेपानी–घान्द्रुक पदमार्ग निर्माण

पोखरा न्यूज – २२, जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन् ।

पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार र सिँढी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले जानकारी दिए । साँघुरो र भिरालो बाटोमा ३०० मिटर सिँढीसहितको पदमार्ग निर्माण भएको हो ।

यात्रा सुरक्षित भएको छ, यसअघि चिप्लो र भिरालो बाटोमा लडेर चोटपटक लाग्ने समस्या थियो । पदमार्ग निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको थियो ।

भौगोलिक रूपमा विकट र बस्तीदेखि टाढाको जङ्गलमा पदमार्ग बनाइएको हो । पुनहिल भ्रमणका लागि आउने पर्यटकबाट सङ्कलन गरिने प्रवेश शुल्कबाट पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

घोडेपानी र पुनहिललाई सरकारले नेपालका १०० पर्यटकीय स्थलमा समेटेको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु श्रृङ्खलाका हिमालको अवलोकन गर्न सकिन्छ । म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिल क्षेत्र गुराँसको जङ्गल, वन्यजन्तु, वनस्पतिले पनि आकर्षण गर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button