३२ करोड लागतमा पोखरा–याङ्जाकोट सडक पक्की बन्दै

पोखरा न्यूज – २२, जेठ । कास्की जिल्लाको पूर्वी भेगमा अवस्थित मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडक पक्की गरिने भएको छ ।

पोखरा महानगरपालिका–१३ को विजयपुर खोलादेखि भैँसे, तारकाङ हुँदै याङ्जाकोटसम्म गण्डकी प्रदेश सरकारको रु ३२ करोडको लागतमा सो सडक निर्माण गरिने भएको हो ।

क्रमागतरुपमा निर्माण गरिने साढे १५ किलोमिटर लम्बाइको सो सडक आर्थिक वर्ष २०७६/७७ विजयपुर खोलादेखि तारकाङसम्मको ११ किलोमिटर र बाँकी आगामी आवमा निर्माण सम्पन्न गरिने गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

ढलसहितको दोहोरो मार्गको सो सडक निर्माणसँगै पालिकाको केन्द्र पोखरासँग जोडिने बताउँदै उनले गाउँपालिकाको पहिलो प्राथमिकतामा सडक रहेको धारणा राखे  । गाउँपालिकाका १२ वटै वडालाई सडक सञ्जालसँग जोड्ने अभियानअन्तर्गत ग्रामीण सडकको स्तरोन्नतिका साथै नयाँ ट्रयाक खोल्ने कार्यलाई तीव्रता दिइएको छ ।

प्रदेश सरकारको रु ५० लाख बराबरको आर्थिक सहयोगमा याङ्जाकोट, तोगी, भाचोक, मिजुरे, नागिधार, पाख्रीकोटसम्मको नयाँ ट्रयाक खोल्ने कार्य शुरु गरिएको छ । नयाँ सडक निर्माणसँगै पर्यटकीय गाउँ ताङतिङ र सिक्लेस सडक यातायातसँग जोडिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button