पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले कास्कीको न्यू ट्रायल ट्रेकिङमा हाइकिङ

दीननाथ बराल, पोखरा न्यूज – २२, जेठ । पर्यटन प्रवर्द्धन  गर्ने उद्धेश्यले कास्कीको नयाँ ट्रेकिङ रुट (न्यू ट्रायल ट्रेकिङ रुट) मा हाइकिङ गरिएको छ ।

विश्व वातावरण दिवसको सन्दर्भमा ट्रेकिङ इकुपमेन्ट सप एशोसियसन (टेसा) पोखराको आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा बुधबार कास्कीको पर्यटकीय गाँउ देउराली, कास्कीकोट दरबार, काश्यप धाम, सराङकोटसम्मको करिब ८ किलोमिटरको न्यू ट्रायल ट्रेकिङ रुटमा हाइकिङ गरिएको हो ।

पोखराको मुख्य बजारदेखि नजिक प्राकृतिक मनोरम दृश्य सहितको नेपालको ऐतिहासिक कास्कीकोट लगायतको क्षेत्रमा पर्ने ट्रेकिङ रुटलाई प्रचार प्रसार गर्नु पर्ने टेवा पोखराका निवर्तमान अध्यक्ष नारायण प्रसाद सुवेदीले बताए । टेसा पोखराका उपाध्यक्ष नारायण सापकोटाको संयोजकत्वमा टोलीले हाइकिङ गरेको थियो ।

टोलीमा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिवि पोख्रेल, पश्चिमाञ्चल होटल संघका महासचिव गणेश पहारी, नाट्टा गण्डकी प्रदेशका कार्यालय प्रमुख देवराज देवकोटा, एगा पोखराका अध्यक्ष शंकर भट्टराई लगायतको सहभागिता रहेको थियो । बिहान १० बजे पोखरा २४ को देउरालीबाट हाइकिङको यात्रा सुरु भएसंगै ऐतिहासिक स्थल कास्कीकोट दरबार, काश्यपधाम हुदै सराङकोटसम्म करिब ३ घण्टामा उक्त यात्रा पुरा गरिएको टेसा पोखराका अध्यक्ष रामचन्द्र गिरीले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले टेसाको टोलीलाई नयाँ ट्रेकिङ रुटमा एउटा जम्वो टिम सहभागि गराएकोमा धन्यवाद दिदै कास्कीकोटको पर्यटन प्रवर्द्धन गर्न यस्ता हाइकिङ कार्यक्रम ल्याउन विभिन्न संघ संस्थालाई आग्रह गरे । कार्यक्रममा सहभागिहरुले बाटोको विभिन्न ठाउँमा ट्रेकिङ रुटमा जथभावी रुपमा डोजर लगाएकोमा चिन्त्ता व्यक्त गरेका थिए । टोलीमा करिब ६५ जना सहभागि भएको टेसाले जनाएको छ ।

नयाँ पर्यटकीय पैदल मार्ग निर्माण तथा संरक्षण समितिका अध्यक्ष बिष्णुहरी शर्माले पोखराको मुख्य बजार देखि नजिक रहेको नयाँ पर्यटकीय गन्तव्यको रुपमा रहेको उक्त ट्रेकिङ रुटका केही ठाउँमा पैदल मार्ग निर्माण गर्नुपर्ने बताए । उनले उक्त क्षेत्रमा साइकल ट्रयाकको समेत सम्भावना रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button