कुस्मा बजार जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र हुँदै

पोखरा न्यूज – २३, जेठ । पर्वतको सदरमुकामदेखि कुस्मा बजारसम्म जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढेको छ ।

पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुङ्खु हुवास सडक कालोपत्र गर्नका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) पर्वतले टेण्डर आह्वान गरेको हो । टेण्डर आह्वानसँगै कालोपत्रका लागि प्रक्रिया शुरु भएको छ ।

आरसिआइपीले लुङ्खु हुवास सडकको १५ किलोमिटर खण्डका ठेक्का आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रया शुरु गर्न सहमति दिएपछि आयोजनाले ठेक्काका लागि सूचना आह्वान गरेको हो । उक्त सडक कालोपत्र गर्नका लागि गएको मङ्सिरमा विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार भएको थियो । डिपीआर तयार भए पनि ठेक्का सम्झौता गर्न स्वीकृति नदिँदा अन्योल कायम थियो ।

ठेक्का आह्वानपछि निर्माण प्रक्रिया अघि बढेको आयोजनाका कार्यक्रम व्यवस्थापक विजय रानामगरले बताए । महाशिला र पैँयु गाउँपालिका जोड्ने २० किमी को यो सडक कालोपत्रे भएपछि पैँयु गाउँपालिकाका बासिन्दा स्याङ्जा, पोखरा भएर वर्षायाममा कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ । कुश्मादेखि फलेवाससम्मको ६ दशमलव ७ किमी सडक कालोपत्र भइसकेको छ भने लमाय खोलादेखि लुङ्खुसम्मको १३ किमी सडक कालोपत्र गर्न काम भइरहेको छ ।

अब लुङ्खु देउरालीदेखि हुवास सडकखण्ड पनि कालोपत्र हुने भएपछि कुश्मादेखि सुदूरदक्षिण पर्वतको हुवासलाई कालोपत्र सडकले जोड्ने छ । सडक कालोपत्रको काम अबको दुई वर्षभित्र पूरा भएपछि कुस्मादेखि हुवाससम्म कालोपत्र सडकमा यात्रा गर्न सकिनेछ । यो सडकमा पर्ने शेराबेंसी र गेडीखोलामा पक्की पुलको पनि डिपीआर बनाउने काम अन्तिम चरणमा छ । यी पुल पनि यसै वर्ष ठेक्का प्रक्रियामा जानेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button