पोखरा स्पोर्टस् अवार्ड: बक्सिङका गुरुङलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

दीननाथ बराल, पोखरा न्यूज – २५, जेठ । बक्सिङका अन्तराष्ट्रिय पदकधारी खेलाडी चित्रबहादुर गुरुङ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। पोखरा स्पोर्टस् अवार्डको अवसरमा शुक्रबार लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७५ बाट उनलाई सम्मान गरिएको हो ।

खेलकुदको क्षेत्रमा लागेर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक सहित खेलकुदमा महत्वपूर्ण योगदान दिएको भन्दै नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले उक्त सम्मान गरेको हो । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले सम्मानपत्रको साथमा दोसला, अवार्ड प्रदान गर्दै उनलाई सम्मान गरेका हुन्।

प्याराग्लाइडिङका युकेश गुरुङ र फुल कन्याक्ट कराँतेकी सुष्मी श्रेष्ठ वर्ष खेलाडी घोषित भएका छन् । गुरुङ पुरुषतर्फ वर्ष खेलाडीघोषित हुँद टीभीएस अपाचे मोटरसाइकल पुरस्कार समेत प्राप्त गर्न सफल भए । यस्तै श्रेष्ठले महिलातर्फ वर्ष खेलाडी घोषित हुँदै वीगो स्कूटर प्राप्त गरिन्।

वर्ष चर्चित खेलाडीको उपाधि सुटिङकी श्रेया केसीले जित्न सफल भइन् । एसएमएस भोटिङ आधारमा उनले सर्वाधिक मत प्राप्त गर्दै २५ हजार सहित वर्ष चर्चित खेलाडी बन्न सफल भएकी हुन् । यस्तै, उदियमान खेलाडीतर्फ क्रिकेटका अर्जुन कुमालले उपाधि जित्न सफल भए । वर्ष उत्कृष्ट प्रशिक्षकमा फूलकन्ट्याक्ट कराँतेका दीपक गोदारले उपाधि हात पार्न सफल भए । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका हुन्। वर्ष उत्कृष्ट पत्रकार पुरस्कारबाट विनोद लामिछाने पुरस्कृत भए । २० हजार नगद सहित लामिछाने पुरस्कृत भए । वर्ष उत्कृष्ट खेल संघ अवार्ड जिल्ला बास्केटबल संघ कास्कीलाई प्रदान गरिएको छ । संघलाई सम्मानको साथमा १५ हजार रुपैयाँ प्रदान गरिएको हो । संघका अध्यक्ष धोज कुमार गुरुङ सहितको टोलीलाई सम्मान गरिएको थियो ।

वर्ष उत्कृष्ट पुरुष, महिला, उदियमान र प्रशिक्षक विधामा यस अघि नै उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको थियो । ती मध्येबाटै चर्चित खेलाडी छनोटमा पूरै एसएमएसलाई आधार मानिएकोमा अन्यविधामा भने छनोट समितिको निर्णयलाई आधार मानिएको छनोट समिति संयोजक रामकृष्णज्ञवालीले बताए । वर्ष खेलाडी पुरुष बन्न सफल युकेश गुरुङको अनुपस्थितिमा उनको बुवालाई अवार्ड अर्पण गरिएको थियो । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिलालाई सामसङ मोवाइलवर्ड कनेक्सनले मोवाइल उपलब्ध गराएको थियो ।

पोखरा ६ लेकसाइडका १८ वर्षीय युकेश आठौं राष्ट्रिय खेलकुदमा टिम तर्फ क्रस कन्ट्री इभेन्ट्समा स्वर्ण र इण्डोनेसियामाभएको एशियन गेम्समाटिम तर्फ क्रसकन्ट्री इभेन्ट्समा स्वर्ण जित्न सफल भएका थिए । वर्ष खेलाडी महिला घोषित २१ वर्षीय श्रेष्ठ स्याङजा भीरकोटकी हुन् । उनले आठौं राष्ट्रिय खेलकुदमा खुला तौल समूहमा कास्य, सेकेण्ड साउथएशियन रिजनल कन्ट्रिजक्युकोसिन कराँतेमा खुल्ला तौल समूहमा स्वर्ण,२९ औं यूरोपियन च्याम्पियनसीपमा खुला तौल समूहमा काँस्य जितेकी थिइन् । वर्ष चर्चित खेलाडी घोषित श्रेया वर्ष महिला खेलाडी विधामा थिइन् ।

उनी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एकलतर्फ स्वर्ण र टिमतर्फ रजत विजेता हुन् । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन, प्रदेश सांसद राजिव पहारी, मीना गुरुङ, मोहन रेग्मी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, मित्र कुमारी गुरुङ, मञ्चका सल्लाहकार रामकृष्ण ज्ञवाली, त्रिभुवन पौडेल, भुतपूर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष खड्ग बहादुर रानाभाट लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम एवं डेमा प्रदर्शन भएको महासचिव विजय नेपालले बताए । मञ्चका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन भने सचिव राजाराम पौडेलले गरेका थिए ।

स्याङजा मनकामना गाविस २ गोदावारी घर भइ हाल पोखरा १५ मा बस्दै आएका चित्र बहादुर गुरुङ २०१८ असोज २० गते जन्मेका थिए । उनले ११ औं एशियाली खेलकुद प्रतियोगिता २०४७ चनीको बेजिङमा कास्य पदक, तेश्रो दक्षिण एशियाली खेलकुद प्रतियोगिता कोलकोक्ता २०४४ रजत पदक, चौथो दक्षिण एशियाली खेलकुद पाकिस्तानमा भएको खेलमा २०४६ सालमा स्वर्ण पदक हात पार्न सफल भएका थिए । उनीले हाल वन विज्ञान अध्ययन संस्थान, पोखरामा खेल शिक्षकको रुपमा कार्यरत रहेकाछन्।

बर्ष खेलाडी पुरुष तर्फ स्क्वासका अमृत थापा, प्याराग्लाइडिङका युकेश गुरुङ र फुल कन्याक्ट कराँतेका रुपक नेपाली मनोनयमा परेका थिए । सवै खेलाडीले आठौं राष्ट्रिय खेलमा स्वर्ण पदक ल्याएका थिए भने गुरुङले १३ औं एसियाली खेलकुदमा रजत पदक जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए त्यसै गरी बर्ष खेलाडी महिला तर्फ टेनिसकी प्रीति बराल, सुटिङका श्रेया केसी र फुल कन्याक्ट कराँतेका सुस्मी श्रेष्ठ मनोनयनमा परेका थिए । बरालले ८ औं खेलकुदमा रजत पदक ल्याएकी थिइन भने अन्य खेलाडीले स्वर्ण पदक ल्याएका थिए । बर्ष उदियमान खेलाडीहरुमा क्रिकेटका अर्जुन कुमाल, आर्चरीकी अनुष्का शेरचन र आइटिएफ तेक्वान्दोका सुस्मिता थापा मगर मनोनयनमा परेका थिए। त्यसै गरी बर्ष उत्कृष्ट प्रशिक्षकमा फुल कन्याक्टका दीपक गोदार, ह्याण्डवलका भीमशेन शाक्य र हक्कीका राजेन्द्र पाठक मनोनयनमा परेका थिए । बतास ब्रर्दश प्रालिकोे मुख्य प्रायोजनामा, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, हङकङ व्यूटि ईन्स्टिच्यूट, सामसुङ मोवाइल वल्र्ड कनेक्सन, क्षेत्रिय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति लगायतको सहयोग रहेकोे मञ्चले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button