बागलुङमा ३ सय वर्ष पुरानो सती घाटु जोगाइँदै

पोखरा न्यूज – २५, जेठ ।  चिजा विक, सीमा पुन र कुमारी राना घाटुनी थिए । एक महिनासम्म चलेको सती घाटुमा उनीहरु नाचे । घाटुलाई बुधबार विधिवत् विर्सजन गर्नाका साथै घाटुनीलाई गाउँलेले बिदाइ गरे । आउँदो माघ महिनासम्मलाई बागलुङ गलकोट नगरपालिका–१० पाण्डवखानीबाट घाटु पनि बिदा भयो । वर्षेनी माघमा फुक्ने(शुरु गरिने) घाटु जेठको तेस्रो साता समापन अर्थात सेलाउने गरिन्छ ।

“छ महीनाका लागिमात्र सती घाटु फुक्छ”, घाटु संरक्षण समितिका अध्यक्ष गिरिप्रसाद थापाले भने, “अब माघ भन्दाअघि घाटु नचाउन मिल्दैन ।” यो वर्षको वैशाख कृष्ण औँशीदेखि पाण्डवखानीमा घाटु शुरु भएको थियो ।छ महीनाका लागि फुके पनि पाण्डवखानीमा मुख्यत वैशाख–जेठ महीनामा सती घाटु देखाइन्छ । घाटुका गुरुबासमेत रहेका उनले भने, “यो वर्ष झण्डै एक महीना घाटु चल्यो ।” घाटु विर्सजनमा विधिवत् पूजाआजा पनि गरिन्छ ।

बिदाइपछि घाटुनीलाई बाटोमा एक्लै हिँड्दा बाधा नहोस् भन्ने कामना गरिन्छ । “देवीदेउताले छोएका घाटुनीको शरण पर्ने र विधिवत् पूजा गर्ने काम हुन्छ”, थापाले भने, “बिदाइका बेला कारुणिक गीत गाइन्छ, नाच पनि त्यस्तै हुन्छ ।”नाच्ने युवतीलाई घाटुनी भनिन्छ । तीनदेखि पाँच–छ जनासम्म घाटुनीले नाच्ने गर्छन् ।

तत्कालीन पर्वते राजा पर्शुराम र रानीको जीवनकथामा आधारित सती घाटुलाई गीतिनाटकको शैलीमा प्रस्तुत गर्ने गरिन्छ । युद्धमा राजाको वीरगतिपछि रानीको बिलौना गीत र नृत्यमार्फत् घाटुमा अभिव्यक्त हुनेगर्छ । राजाको वियोगमा मूर्छित् रानी सती गएको कथालाई गीतिलयमा ढालेर रानीको प्रतिकको रुपमा घाटुनी नृत्य गरिन्छ ।

गीतकै सुरमा घाटुनीहरुको आँखा बन्द हुने, ढल्ने र पुनः गीतबाटै उनीहरुलाई उठाउने गरिन्छ । महिला र पुरुष कलाकारले समूहमा बसेर कारुणिक गीत गाउँछन् । घाटुनीहरु गीतको सुरमा लठ्ठिएर नाच्छन् । बिहान शुरु भएको घाटु मध्यरातमा मात्र पूरा हुन्छ । नृत्यकै क्रममा आँखा पूरै बन्द हुनुमा कुनै ‘अलौकिक शक्ति’ रहेको जनविश्वास छ ।

सती घाटुमा कथा अनुसार अइरा, सतीलगायत विभिन्न खण्ड हुने घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्ष प्रकाश पुनले बताउनुभयो । सती घाटु अवलोकनका लागि सर्वसाधारण पाण्डबखानी पुग्छन् । पाण्डबखानीको घाटु नाचको कुनै लिखित इतिहास नभए पनि तत्कालीन गलकोटे राजा भरतबम मल्लले खानी खन्ने क्रममा त्यहाँ जाँदा घाटु नाच पनिसँगै लिएर गएको बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button