बाग्लुङमा कृषिजन्य उत्पादन बिक्रीबाट करिब ४ करोड आम्दानी

पोखरा न्यूज – २५, जेठ । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँका किसानले चालू आर्थिक वर्षमा कृषिजन्य उत्पादन बिक्री गरेर झण्डै रु चार करोड गाउँ भित्र्याएका छन् । दूध, सुन्तला, उखु, अदुवा, पलम, बाख्रालगायत कृषिजन्य उत्पादनको बिक्रीबाट चालू आवमा मात्रै तीन करोड ८० लाखभन्दा धेरै गाउँ भित्रिएको हो ।

बिहुँबाट चालू आवमा एक करोड ५० लाख, ३० हजार २२५ सुन्तला, एक करोड ३५ लाख ९० हजार २०० दूध, रु आठ लाख ९५ हजार केरा, ७५ हजार ३५० अम्बा, तीन लाख ९० हजारका खसिबोका, पाँच लाख २० हजार १५० कुखुरा र अन्य घुसुवा तथा नगदे बालीको बिक्रीबाट उक्त रकम गाउँ भित्रिएको हो ।

काठेखोला–६ बीउका शिवलाल कँडेलले चालु आर्थिक बर्षमा मात्रै १ लाख २० हजरा रुपैयाँको कृषिजन्य उत्पादन बिक्री गरे । ७० हजार रुपैयाँको दुध, ३० हजार सुन्तला र १० हजार उखु बिक्री गरेर कँडेलले सो रकम कमाएका हुन् ।

उनी जस्तै घरछेउको बारीमा सुन्तलाको खेती गरेका सयौँ किसान बिहुँमा छन् । उनीहरुले आम्दानीको मुख्य स्रोत कृषिजन्य उत्पादनलाई नै लिने गरेका छन् । “एउटा भैँसी पालेको छु, ७०/८० वटा सुन्तलाका रुख छन्”, कँडेलले भने, “दूध र फलफुल बेचेर घर खर्च चलाएको छु ।” बिहुँका किसानले अत्यावश्यक सामग्री बजारबाट ल्याउँदा त्योभन्दा धेरै कृषिजन्य उत्पादन बजार पठाउने गरेको उनले दावी गरे ।

बिहुँबाट दूध तथा दुग्धजन्य उत्पादनको बिक्री वितरण र सुन्तलाको बिक्री धेरै हुने गरेको छ । भरिभराउ देखिने बिहुँका बारीमा फलेको सुन्तलाले गाउँमा करोडौँ रकम भित्र्याएको वडाध्यक्ष युक्तप्रसाद कँडेलले बताए । बिहुँका किसानले कुनै न कुनै रुपमा कृषिजन्य उत्पादनको बिक्री वितरण गरेर घर खर्च चलाउने गरेका छन् । व्यावसायिक रुपमा उत्पादन गर्नेले राम्रो आम्दानी गर्ने गरेको र निर्वाहमुखी खेती गरेकाहरुले पनि घरखर्चको लागि कृषिजन्य उत्पादनकै भर गर्ने गरेको कँडेलले बताए ।

वडा कार्यालयले यहाँका किसानलाई चार तहमा विभाजन गरेर स्तरीकरण गरेको छ । वडा कार्यालयको तथ्याङ्कअनुसार व्यवसाय उन्मुख, सिमान्तकृत, निर्वाहमुखी र सोखको लागि कृषि पेशा गर्ने किसान बिहुँमा छन् । वडा कार्यालयले गरेको सर्वेक्षणमा यहाँका ४७६ परिवार कृषि पेशामा आबद्ध छन् ।

उनीहरुमध्ये अधिकांशले निर्वाहमुखी कृषि पेशा गर्ने गरेको तथ्याङ्क छ । “बिहुँका हरेक किसानको बारीमा सुन्तला छन्, भैँसी पालेकाले दूध बिक्री गरेकै हुन्छन्”, वडाध्यक्ष कँडेलले भने, “कतै समूहमा त कतै सहकारी संस्थामा आबद्ध भएर यहाँका किसानले कृषिजन्य उत्पादनबाट आम्दानी लिन्छन् ।”

बिहुँमा स्थापना भएको नमूना दुग्ध उत्पादक सहकारी संस्था र मिलीजुली दुग्ध उत्पादक सहकारी संस्थाले किसानको दुग्ध संकलनदेखि बजारीकरणको काम गर्ने गरेका छन् । सहकारीमार्फत दुग्धको कारोवार गर्दा बिक्रीका लागि बजार पुर्याउनुपर्ने झण्झट नै आम्दानी गर्न सकिने किसान कँडेल बताउछन् ।

बिहुँबाट वर्षेनी करोडौँ रुपैयाँको कृषिजन्य उत्पादन बिक्री हुने गरेको भए पनि त्यसको व्यवस्थापन गर्न नसक्दा व्यावसायिक नबनेको भन्दै वडा कार्यालयले कृषकहरुको स्तरीकरण गरेको हो । ‘‘हामीले उत्पादन गरेर बिक्री भइरहेको कुरामा समस्या छैन, यसैलाई व्यावसायिक उत्पादनसँग जोड्न खोजेका छौँ” वडाध्यक्ष कँडेलले भने, “सोखका लागि खेतीपाती गर्नेहरुलाई पनि राम्रो आम्दानीको स्रोतका रुपमा कृषिलाई अवलम्बन गर्ने बनाउन स्तरीकरण गरेका हौँ ।”

बिहुँमा उत्पादन भएको दूध, फलफुल तथा तरकारीहरु बागलुङ बजारमा बिक्री हुने गरेका छन् । मध्य पहाडी लोकमार्गले यातायातमा सहजता बनाएकाले बजारीकरणमा कुनै समस्या नरहेको किसानहरु बताउँछन् । सुन्तला उत्पादनको हिसाबले विशेष क्षेत्र मानिने बिहुँमा व्यावसायिक मौरीपालन र अलैंची खेतीको समेत शुरुआत गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button