गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

पोखरा न्यूज – २६, जेठ । गण्डकी प्रदेशसभाको आज पोखरामा बसेको प्रदेशसभा बैठकमा सरकारले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको छ । छलफलमा भाग लिने प्रदेशसभा सदस्यले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशको समग विकासमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । उनीले कतिपय छुटेका विषय समेटिनुपर्नेमा जोड दिए ।

बैठकमा सत्तापक्षीय सदस्यले प्रदेशको समृद्धि र विकासका लागि नीति तथा कार्यक्रम महत्वपूर्ण आधार भएको बताए । उनिहरुले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्यले विशिष्टीकृतरुपमा नीति तथा कार्यक्रम आउन नसकेको भन्दै यसको कार्यान्वयनमा आशङ्का व्यक्त गरे । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नीति तथा कार्यक्रमले प्रशस्त मार्ग निर्देशन गरेको उल्लेख गरे ।

उनले किसान, मजदूर, दलित, सीमाङ्कृत तथा बहुसङ्ख्यक वर्गलाई बजेटले समेटेको बताए । प्रदेशसभा सदस्य आशा कोइरालाले नीति तथा कार्यक्रम नयाँ स्रोतको प्रतिबिम्ब भएको उल्लेख गरिन । उनले बजेट विनियोजन गरेर कार्यान्वयन गर्न चुनौती रहेको बताइन् । प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, गायत्री गुरुङ र रोशन गाहा मगरले नीति तथा कार्यक्रमले जनतालाई सुशासन प्रदान गर्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य कृष्ण थापाले सामन्तीको भूमि उत्पीडित जनतालाई वितरण गर्नुपर्ने बताए । प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले नीति तथा कार्यक्रमले सङ्घीय सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।

छलफलमा प्रदेशसभा सदस्यहरु मणिभद्र शर्मा, दिलमाया रोका मगर, जुनादेवी नेपाली, डोवाटे विश्वकर्मा, चन्द्रबहादुर बुढा, प्रभा कोइरालालगायतले नीति तथा कार्यक्रममा सुशासन कायम गर्न लिएको अभियानलाई सफल पार्न सामूहिक प्रयास आवश्यक रहेको बताए  ।

यस्तै प्रतिपक्षी दल नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य मणिभद्र शर्मा र समाजवादी पार्टी नेपालका हरिशरण आचार्यले नीति तथा कार्यक्रमका विभिन्न सात बुँदामा संशोधन आवश्यक रहेको भन्दै संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका  छन्  ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेबुल गर्नुभएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७५ लाई बैठकले सर्वसम्मत पारित गरेको छ । यसका साथै आव २०७६/७७ को नीति तथा कार्यक्रममाथि विचार गरियोस् भनेर उनले प्रस्ताव टेबुल गरेका थिए  । अर्को बैठक जेठ २७ गते सोमबार बिहान ११ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button