बागलुङमा बुद्ध विहार निर्माण, संरक्षणका लागि १ करोड खर्च

पोखरा न्यूज – २७, जेठ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघास्थित धार्मिक पर्यटकीय क्षेत्र उदय बुद्ध विहारमा पुग्ने पर्यटकहरुलाई लक्षित गरी आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।

गलकोट क्षेत्रमा बुद्ध धर्मालम्बीको मुख्य स्थलका रुपम परिचित उदय रिघा बुद्ध विहारमा रु १२ लाख ५० हजारको लागतमा विभिन्न पूर्वाधार निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५/७६ को सांसद देवेन्द्र पौडेलको क्षेत्र विकास कोषको रु १० लाख तथा गलकोट नगरपालिकाको रु दुई लाख ५० हजार बजेटबाट रेलिङसहितको सय मिटर पक्की पदमार्ग, प्रवेशद्वार, दुई सार्वजनिक धारा, दुई शौचालय तथा स्नान गृह, तारजालीलगायतका भौतिक संरचना निर्माण गरिएको उदय रिघा बुद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्ती मगरले बताए ।

गलकोट क्षेत्रकै प्रमुख धार्मिक गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको गलकोट नगरपालिकाले जनाएको छ । बुद्ध विहार पुग्नका लागि पदमार्ग, शौचालय, खानेपानी तथा स्नान कक्ष नहुँदा त्यहाँ पुग्ने पर्यटकलाई समस्या हुन सक्ने भन्दै पूर्वाधार निर्माण गरिएको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए । झण्डै १५ रोपनी क्षेत्रफलमा फैलिएको बुद्ध विहारलाई संरक्षण तथा प्रचार गर्न सके गलकोट क्षेत्रकै महत्वपूर्ण धार्मिक गन्तव्य बन्न सक्ने भएकाले प्कारवर्द्धन लागि योजना निर्माण गरेर अगाडि बढेको श्रीसले बताए ।

बुद्ध विहारमा शान्ति स्तुपा, पक्की भवन, धर्म महललगायतका संरचनाहरु निर्माण भइसकेका छन् । डाँडामा अवस्थित स्तुपासहितको बुद्ध विहार निकै मनमोहक रहेकाले ढोरपाटन जाने पर्यटकलाई आकर्षण गर्न सकिने स्थानीयवासी बताउँछन् । मध्यपहाडी लोकमार्ग नजीकै रहेको बुद्ध विहारमा विश्वकै पर्यटकीय गन्तव्य ढोरपाटन शिकार आरक्ष पुग्ने पर्यटकको आकर्षणमा पर्न थालेको भन्दै आवश्यक पूर्वाधार निर्माणमा लागेको अध्यक्ष घर्ती मगरले जानकारी दिए। “अहिले स्थानीय पर्यटक आउँछन्”, मगरले भने, “थप निर्माण भएको पूर्वाधारले बाह्य पर्यटकसमेत आउने विश्वास छ ।”

देशका विभिन्न जिल्लाबाट ढोरपाटन आउने पर्यटकहरु लोकमार्ग झरेर बुद्ध विहारको अवलोकन गरेर जाने गरेको पाइएको वडाध्यक्ष श्रीसले बताए । “बुद्ध विहारलाई गलकोट क्षेत्रकै नमूना धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि निरन्तर काम भइरहेको छ”, मगरले भने, “पूर्वाधार निर्माणसँगै यहाँ आउने धार्मिक पर्यटक आकर्षित भएका छन् ।”

मगरका अनुसार अनुसार हालसम्म बुद्ध विहार संरक्षणका लागि रु एक करोड बजेट खर्च भएको छ । बुद्ध विहारमा पार्कलगायतका अन्य आर्कषक संरचना निर्माणका लागि आवश्यक बजेट प्राप्तिका लागि गलकोट नगरपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकारसमक्ष पहल भइरहेको वडाध्यक्ष श्रीसले जानकारी दिए । दैनिक सामान्य पूजाआजा हुने बुद्ध विहारमा वैशाखे पूर्णिमामा ठूलो मेला लाग्ने मगरले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button