लेकसाइडमा मापदण्ड मिचेका बरालले महानगरलाई टेरेनन !

दीननाथ बराल,  पोखरा न्यूज –  २७, जेठ ।  पोखरा लेकसाइड शान्तिपथमा मापदण्ड मिचेका दीपक बरालले महानगरले दिएको समयसीमालाई बेवास्ता गर्दै  अटेर गरेका छन्।

बरालले आफ्नो घरमा मापदण्ड विपरित फुटपाथ माथि नै (सडक पेटिमा असर पर्ने गरी) गोल भर्याङ राखेकोमा महानगरले उक्त संरचना हटाउन पत्रचार गर्दा समेत  बरालले अटेर गरेका हुन्। पोखरा महानगरपालिका वडा नम्बर – ६ ले यही जेठ १० गते सुचना टास गरी एक हप्ताको म्याद राखेर उक्त संरचना हटाउन आग्रह गरेको थियो । घर धनि बरालले सुचना लिन नमाने पछि वडा कार्यालयले बरालकै घरको भित्तामा सुचना टास गरेको थियो ।

पोखरा – ६ का वडाअध्यक्ष जगत पहारीले मापदण्डको विपरित राखिएको भर्याङ घरधनि बरालले नहटाएमा महानगरले भत्काउने चेतावनी दिएका छन्। उनले भने “ पोखरा ६ भित्र मापदण्ड विपरितका धेरै संरचनाहरु निर्माण भएका छन्, जुन जुन ठाउँमा उजुरी पर्छ त्यसमा महानगरको पहिलो प्रथामिकताको साथ ध्यानाकर्षण हुने छ । ”

उक्त बिषयमा स्थानिय कमल प्रसाद बरालले महानगरमा उजुरी गर्दै सार्वजनिक ठाउँमा आम जनतालाई हिडडुल गर्न कठिन भएको हुदा उक्त भर्याङ हटाउनु पर्ने माग राख्दै उजुरी दिएका थिए । पटक पटक महानगरमा उजुरी दीए पनि हालसम्म कुनै पनि सुनुवाइ नभएको उनले गुनासो गरे । उनले आफुले वडा र महानगरपालिकाको कार्यालयमा उजुरी दिएको बताउदै वडाले  भर्याङ हटाउन ७ दिनको समयसीमा दिएको भएपनि समय सिमा सकिएको अर्को साता बित्दा पनि महानगर मुकदर्शक भएर बसेको आरोप लगाए ।

घरधनि दीपक बरालले आफुहरुले २०५५ सालमा बनाएको घरको माथिल्लो तलामा कोठा थप गरेकोले कोठामा जाने बाटो नभएकोले भर्याङ राखेको जनाए । उनले भने “ मेरो घरको तलामा जाने बाटोको विकल्प नभएर मैले सडकपेटिमा पर्ने गरी भर्याङ राखे तर पोखरामा हाल निर्माण भएका मापदण्ड विपरितका सवै संरचना भत्काइयोस अनि  मैले पनि मेरो संरचना भत्काउछु । ”

बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत मार्गदर्शन २०७२ ले निर्देश गरे अनुसार अब निर्माण हुने सडकको कुनै पनि बाटो न्यूनतम ६ मिटर हुनु पर्ने, बाटोमा भवन निर्माणको स्वीकृत दिदा केन्द्रबाट ३ मिटर सडकको क्षेत्राधिकार र सडक क्षेत्राधिकार सिमाबाट १.५ मीटर व्याक छाडेर मात्र निर्माणको स्वीकृति दिनुपर्ने  प्राबधान रहेको छ ।

भवनको प्लिन्थको उचाई बाटोको अधिकार क्षेत्र तथा तोकिएको सेटब्याकलाइ हानी नपुग्ने गरी राख्नुपर्ने भनिएको छ  । सडक अधिकार क्षेत्र अतिक्रमण गरी खुडकिला, र्याम्प आदि राखिएकोमा भवन निर्माण सम्पन्न प्रमाणपत्र दिन नसकिने र  सडकको क्षेत्राधिकार र सेटव्याक क्षेत्रमा पर्ने गरी छज्जा बार्दली वा टप वा अन्य कुनै संरचना निमार्ण गर्न नपाइने भवन निर्माण सम्बन्धि आधारभूत मार्गदर्शनमा उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button