तनहुँका कृषक समूहलाई हाते ट्र्याक्टर वितरण

पोखरा न्यूज – २८, जेठ ।  गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको भानु नगरपालिका–११ बाँसखर्कस्थित कृषक समूहलाई हाते ट्र्याक्टर वितरण गरेको छ । मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषिगाउँको रुपमा छनोट भएको बाँसखर्कको लालीगुराँस कृषक समूहलाई मन्त्रालयले तीन हाते ट्र्याक्टर वितरण गरेको हो ।

मन्त्रालयको ८५ प्रतिशत र कृषक समूहको १५ प्रतिशत लगानीमा रु दुई लाख २५ हजार मूल्य बराबरको हाते ट्र्याक्टर वितरण गरिएको मन्त्रालयका कृृषि प्राविधिक बन्दना पुलामी मगरले जानकारी दिइन । हाते ट्र्याक्टर खरीदका लागि कृषक समूहले रु ३३ हजार ७५० लगानी गरेको छ ।

तरकारी खेतीमा प्रविधिको प्रयोग गरी बढी उत्पादन गर्न सहयोग पुर्याउने उद्देश्यले हाते ट्र्याक्टर प्रदान गरिएको हो । उनले भनिन, “नमूना कृषिगाउँ स्थापना कार्यक्रमअन्तर्गत तरकारी खेतीलाई विशेष प्राथमिकता दिइएको छ, तरकारी खेतीका लागि जोत्न सहज हुने भएकाले हाते ट्र्याक्टर प्रदान गरेका हौँ ।”

कृषक समूहमा ५८ सदस्य आबद्ध छन् । प्रदान गरिएका ट्र्याक्टर समूहका कृषकले आवश्यकताअनुसार समय मिलाएर प्रयोग गर्ने समूहका सदस्य कल्पना गुरुङले बताइन् । उनले भनिन, “हाते ट्र्याक्टरमार्फत् बारी जोत्न सहज र समयको पनि सदुपयोग हुनेरहेछ ।”

मन्त्रालयले यसअघि सोही ठाउँका १५ घरधुरीलाई रु सात लाख मूल्य बराबरको ६० मौरीसहितको घार वितरण गरेको थियो । मन्त्रालयले ३३ कृषकलाई बाख्रापालन तथा घाँस व्यवस्थापन र प्लाष्टिक घर, थोपा सिँचाइ, ‘मलचिङ’ प्रविधिको तरकारीखेती तालीम प्रदान गरिसकेको छ ।

नमूना गाउँको रुपमा छनोट भएको यस ठाउँलाई हरियाली बनाउन वृक्षरोपण कार्यक्रमलाई तीव्रता दिइएको छ भने सरसफाइका लागि डस्टबिन वितरण गरिएको छ । एभोकाडो, शीतलचिनी रोपणको कार्यक्रम, नर्सरी व्यवस्थापनलगायतका काम भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button