पर्यटकीय गन्तव्य बन्दै कास्कीको याङ्जाकोट स्थित प्राचीन पोखरी

हरि बाँस्तोला, पोखरा न्यूज – २७, जेठ । कास्कीको मादी गाउँपालिका याङ्जाकोटस्थित प्राचीन पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ ।

खानेपानीको सङ्कटलाई केही हदसम्म भए पनि सुलभ बनाउने लक्ष्यका साथ पुर्खाले झण्डै साढे दुई सय वर्षअघि खनेको पुरानो र ऐतिहासिक महत्व बोकेका सो पोखरीको संरक्षण तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको हो ।

समुन्द्री सतबाट झण्डै एक हजार ४०० मिटरको उचाइमा चार रोपनी क्षेत्रफलमा फैलिएको सो पोखरीलाई पाँचदेखि छ फिटको गहिराइमा खनिने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार पोखरीको किनारमा ढुङ्गा छापेर आकर्षण बनाउने र बीच भागमा गौतम बुद्धको मूर्तिसहित पानीको फोहोरा निर्माण गरिने छ ।

गाउँपालिकाले पोखरीको सौन्दर्यकरणका लागि चालू आर्थिक वर्षमा रु सात लाख बजेट विनियोजन गरेको बताउँदै अध्यक्ष गुरुङले आवश्यकताका आधारमा प्रत्येक वर्ष बजेटको व्यवस्थापन गर्ने जानकारी दिए । गाउँपालिकाको केन्द्र होस् वा रमणीय स्थल याङ्जाकोट डाँडागाउँको होमस्टेमा आउने जो कोहीको पहिलो आँखा पोखरीमा पर्ने गरेको छ ।

प्रदेश सरकारको रु ३२ करोडको लागतमा पोखरा १३ विजयपुर खोलादेखि सो पोखरीसम्मको साढे पन्ध्र किलोमिटर बाटो स्तरोन्नति गरी कालोपत्र गर्ने प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै अध्यक्ष गुरुङले पर्यटकलाई आकर्षण गर्न अढाइ सय वर्ष पुरानो यस पोखरीको संरक्षण, संवर्द्धनसहित यसको व्यापक प्रचारप्रसारको आवश्यकता रहेको बताए  । पहिलो वर्ष पोखरादेखि तारकाङसम्म ११ किलोमिटर कालोेपत्र गरिने बताउँदै उनले क्रमागत योजनाअन्तर्गत बाँकी काम आगामी आर्थिक वर्ष निर्माण सम्पन्न गर्ने जानकारी दिए ।

“गाउँपालिकाको केन्द्रको प्रवेशद्वारमा रहेको सो पोखरीमा पुग्ने जो कोहीले पनि मोबाइल झिकेर सेल्फी खिच्ने गरेका छन्”, उनले भने, “पोखरीमा माछा र हाँससमेत पाल्ने योजना रहेको छ ।” “पोखरीलाई यस क्षेत्रको पर्यटकीय गन्तव्यका रुपमा विकास गरिन लागेका छौँ”, उनले भने, “पोखरीमा बाह्रै महीना पानी भरिभराउ राख्नका लागि याङजाकोट खानेपानी योजनाको बढी भएको पानी पोखरीमा राख्ने व्यवस्था मिलाइएको छ ।”

मादी गाउँपालिका–३ याङ्जाकोटस्थित डाँडागाउँका ७६ वर्षीय कुम्भसिंह गुरुङका अनुसार कलहु पँधेरा, खोग्यों, सुम्रेखोला र हिलैचोलगायतका विभिन्न स्रोतबाट एक गाग्री पानीका लागि घन्टौ समय खर्चिनुपर्ने अवस्था थियो । मानिसलाई पीउनका कुवाको पानी ल्याउने र पशुका लागि गाउँको सिरमा पोखरी खनेर आवश्यक पानी सङ्कलनका लागि पुर्खाले पोखरी खनेको बताउँदै सँगै गाउँपालिकाको भवन र खेलमैदान निर्माण गरिएको स्थानमा अर्को पोखरी रहेको थियो भने ।

एक गाग्री पानीका लागि बिहान पूरै खर्चिनु पर्ने तत्कालीन अवस्थामा पशुपालनका लागि पोखरीमा बर्खे पानी सङ्कलन गरेर गाउँभरिका पशुलाई पोखरीमा लगेर वा पोखरीबाट पानी ल्याएर घरमा खुवाउँदा समयको समेत बचत हुने गरेको स्थानीयवासी ६६ वर्षीय नरवीर गुरुङले बताए ।

पोखरीलाई पर्यटकीय गन्तव्यकारुपमा विकास गर्न सकेमा यस क्षेत्रमा रहेको घरवास कार्यक्रमलाई समेत टेवा पुग्ने याजाकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष रोशन गुरुङको धारणा छ । पानीको साह्रैनी दुःख थियो, अहिले भने झण्डै नौ किलोमिटरको दुरी मिश्राखोलाबाट पाइपको माध्यमले गाउँमा पानी ल्याएपछि स्थानीयवासी सुखको महसुस गर्न पाएको डाँडागाउँ आमा समूह याङ्जाकोटकी अध्यक्ष पूर्णश्री गुरुङको भनाई छ ।

गण्डकी प्रदेश सरकारले लगभग तीन सय होमस्टेको व्यवस्थापनसहित एक सय १० नयाँ पर्यटकीय गन्तव्य घोषणा गरेको छ । सन् २०१९ आन्तरिक भ्रमण बर्ष, २०२० छिमेकी पर्यटन बर्ष र २०२२ अन्तर्राष्ट्रिय पर्यटन भ्रमण बर्ष मनाउने तयारी गरि रहेको वर्तमान अवस्थामा लुकेर रहेका यस्ता धरोहरलाई उजागर गरि पर्यटन प्रवर्द्धनसंग जोड्नु अपरिहार्य देखिन्छ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button