पोखराको उत्तमचोकमा लागूऔषध कारोबारीमाथि प्रहरीले गोली चलायो

दीननाथ बराल, पोखरा न्यूज – २९, जेठ । पोखराको उत्तमचोकमा एक लागूऔषध कारोबारी माथि प्रहरीले गोली चलाएको छ । लागूऔषध बोकेर हिँडेको सुचनाको आधारमा बुझ्न गएको प्रहरीमाथी आक्रमणको प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको  छ ।

लागूऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडा भन्दा तल खुट्टामा गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए  ।

प्रहरीले चलाएको गोली लागेपछी घाइते भएका लागूऔषध कारोबारी जोन/ डीके भनिने करिव ३० बर्षीय गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको एसपी कार्कीले जनाएका छन् ।

प्रहरीले थापाको साथबाट नर्फिन, फेनार्गन र डाइजोपाम लगाएतका  १५ सय थान लागूऔषध बरामद गरेको जनाएको छ । लागूऔषध कारोबारी थापा यसअघी कतारमा २०१४ देखी २०१८ सम्म जेल बसेका थिए भने नेपालमा २०७५/०१/०२ मा ज्यान मार्ने उद्योगमा जेल चलान भएका थिए ।

लागूऔषध कारोबारीको आक्रमणबाट एक प्रहरी असईको बाया खुट्टा र तिघ्रामा चोट लागेको एसपी कार्कीले जनाएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button