संरक्षण गरिँदै मुस्ताङ स्थित ऐतिहासिक घरपझोङ किल्ला

रामबहादुर थापा, पोखरा न्यूज – २९, जेठ । संरक्षण र प्रचारप्रसारका अभावमा ओझलमा परेका मुस्ताङको ऐतिहासिक घरपझोङ किल्लाको संरक्षण गर्ने भएको छ । संरक्षणको अभावमा सो किल्लाको अस्तित्व नै सङ्कटमा परेको थियो ।

पर्यटकीय सम्पदास्थलका रुपमा विकास गर्ने लक्ष्यसहित घरपझोङ गाउँपालिकाले संरक्षण योजना ल्याएको हो । गाउँपालिकाले यसका लागि गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको थियो ।

किल्ला संरक्षण योजनाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु ३६ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट पर्खाल र प्रवेशद्वार लगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ । “भग्नावशेष बनेका संरचनाहरुको पहिचान र संरक्षण गर्दैछौँ”, गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले भने ।

पुरातात्विक महत्व झल्कने गरी पूर्वाधार खडा गर्ने योजना गाउँपालिकाको छ । किल्लामा १६औँ शताब्दीका दरबार र घरका भग्नावशेष छन् । स्थानीय राजा थोकरचेनले सोही किल्लाबाट शासन चलाएको इतिहास छ ।

घरपझोङ किल्लाले इतिहासविद् र अनुसन्धानकर्मीको समेत ध्यान खिचेको गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताइन । “घरपझोङ किल्लामा थकाली जातिका पूर्वजहरुको बस्ती थियो”, उनले भनिन, “पछि उक्त बस्ती थाक पाँच गाउँको रुपमा स्याङ्, ठिनी, मार्फा, छैरो र चिमाङ सरेको बताइन्छ ।”

सोही किल्लाको नामबाट गाउँपालिकाको नामाकरण भएको थियो । सङ्घ र प्रदेश सरकारको पनि ऐतिहासिक महत्वको किल्ला संरक्षणमा चासो बढेको छ । यसको संरक्षणका लागि गण्डकी प्रदेश सरकारले पनि चालू आवमा रु ४० लाख बजेट विनियोजन गरेको छ ।

उक्त बजेटबाट हरियाली बगैँचा, पदमार्ग, सूचना केन्द्र, विश्रामस्थल जस्ता पर्यटनमैत्री पूर्वाधार बन्दैछन् । जोमसोमदेखि किल्लासम्म पुग्ने सडकलाई पनि स्तरोन्नति गर्ने योजना गाउँपालिकाको छ । किल्ला क्षेत्रमा केही वर्षअघि स्थानीयवासीले चैत्य बनाएका थिए । थकाली समुदायले आफ्नो पुख्र्यौली थलोका रुपमा घरपझोङ किल्लालाई मान्छन् । किल्लाको नजिकै थकाली बाहूल्य ठिनी गाउँ छ ।

“घरपझोङ किल्ला संरक्षणमा गाउँले पनि जुट्नुपर्छ” ठिनीवासी निरज थकालीले भने, “मुस्ताङको पर्यटनमा यसबाट थप टेवा पुग्छ ।” पर्यटकसँगै इतिहासका विद्यार्थी र अध्येतालाई समेत किल्लाले आकर्षित गर्नेछ ।

घरपझोङको अर्थ सबैले मन पराएको गाउँ भन्ने बुझिन्छ । ‘गरावजोङ’ शब्द अपभ्रङ्स हुँदै ‘घरपझोङ’ बनेको स्थानीयवासी बताउँछन् । किल्लाबाट ठिनी गाउँ, ढुम्बा ताल, नीलगिरि, धवलागिरिलगायतका हिम शृङ्खला अवलोकन गर्न सकिन्छ ।

घरपझोङ गाउँपालिका–५ मा पर्ने किल्ला जोमसोमदेखि झण्डै तीन किमिको दूरीमा छ । पैदल जाँदा ४५ मिनेटमा पुगिन्छ । पर्यटकीय गाउँ ठिनी, ढुम्बा तालहुँदै घरपझोङ किल्ला पुग्न सकिन्छ ।

किल्ला पुग्दा नजिकमा रहेका हिउँ चितुवा गुफा, कुछुप तेरेङ्गा गुम्बालगायतका पर्यटकीय गन्तव्य पनि घुम्न सकिन्छ । मुस्ताङमा आठौँ शताब्दीको मध्यतिर ‘शे–रिव’ नामको स्थानीय राज्य हुँदा त्यसको केन्द्र अहिलेको घरपझोङ भन्ने स्थानमा रहेको इतिहासमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button