बागलुङको पर्यटन गुरुयोजना बन्दै

पोखरा न्यूज – ३१, जेठ l जिल्लाको पर्यटन विकासका लागि गुरुयोजना निर्माणको काम अघि बढाइएको छ । बागलुङ पर्यटन विकास समितिले गुरुयोजनाको प्रस्तावपत्र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बुधबार पेश गरेको छ ।

गुरुयोजनासँगै जिल्लाको पर्यटन क्षेत्रको वस्तुगत अवस्था झल्काउने वृत्तचित्र (प्रोफाइल) पनि बनाइने समितिका सचिव अर्जुन चोखालले बताए । “गुरुयोजना र वृत्तचित्र दुवैको प्रस्तावपत्र पर्यटनमन्त्री विकास लम्साललाई बुझाएका छौँ”, सचिव चोखालले भने, “बजेटको प्रतिबद्धता आएको छ ।”

गत फागुनमा पर्यटन गुरुयोजनाबारे मन्त्री लम्सालको उपस्थितिमा सरोकार भएका पक्षबीच बागलुङमा बृहत् अन्तरक्रिया भएको थियो । सबैको सुझावका आधारमा प्रस्तावपत्र तयार पारेको समितिले जनाएको छ । आउँदो वर्षभित्र गुरुयोजना तयार हुनेछ ।

“बागलुङको पर्यटन विकासको भावी खाका र योजना गुरुयोजनामा समेटिन्छ”, समितिका अध्यक्ष राजु खड्काले भने, “गुरुयोजनामा टेकेर निजी र सार्वजनिक क्षेत्रले पर्यटनमा काम गर्नेछन् ।”

आगामी १५ वर्षसम्मको कार्ययोजना गुरुयोजनाभित्र समेटिनेछ । विज्ञ, पर्यटन व्यवसायी, सरकारी संयन्त्रदेखि सरोकारवालाको सुझावमा गुरुयोजनालाई पूर्णता दिइनेछ । गुरुयोजना तयारीकै लागि समितिले जिल्लाभर रहेका पर्यटकीय गन्तव्यस्थलको वस्तुगत विवरण सङ्कलनको काम शुरु गरेको छ ।

समितिले बागलुङलाई पर्यटकीय जिल्लाका रुपमा घोषणा गर्न पनि पहल थाल्ने बताएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्ष असारमा समिति गठन भएको थियो । यसअघि एकीकृत ढङ्गले पर्यटनको काम गर्ने संस्थाको अभाव थियो ।

सरकारी निकाय र स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने समितिको तत्कालीन कार्ययोजना छ । समितिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनःनिर्माणमा समन्वयकारी भूमिका खेल्नेछ ।

पर्यटन विकासको चर्को बहस शुरु भए पनि यतिका वर्षसम्म बागलुङको पर्यटन गुरुयोजनासमेत बन्न सकेको थिएन । गुरुयोजना नुहँदा पर्यटनमा बजेट र कार्यक्रम ल्याउन सहज थिएन ।

“अब पर्यटन गुरुयोजना बन्ने टुङ्गो लागेको छ”, बागलुङका प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ ले भने, “पर्यटन क्षेत्रको दिगो र एकीकृत विकासमा सबै केन्द्रित हुनुपर्छ ।” सङ्घ र प्रदेश दुवै सरकारले बागलुङको पर्यटन क्षेत्रको विकासमा लगानी बढाएका छन् ।

आउँदो आर्थिक वर्षका लागि सङ्घीय सरकारले जिल्लाका धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलको विकासका लागि रु पाँच करोड बजेट छुट्याएको छ । सरकारले सूचीकृत गरेका एक सय गन्तव्यमा ढोरपाटन, कालिका भगवती मन्दिर, पञ्चकोट, भकुण्डे, गाजा दहलगायत छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button