जीर्ण बन्दै म्याग्दीका पक्की पुल

पोखरा न्यूज – ३२, जेठ l हिमाली जिल्ला म्याग्दीको उत्तरी क्षेत्रका पक्की पुल सवारी साधनको बढ्दो चाप, क्षमताभन्दा बढीको भार र नदी कटानका कारण जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको छ ।

अहिले उत्तरी म्याग्दी जोड्ने सबैजसो बेलिब्रिजमा समान्य मोटरसाइकलसहित साना सवारीसाधन आवतजावत गर्दासमेत जोखिम बढेको छ । पर्वत र म्याग्दी जोड्ने पक्की पुलमा क्षमता मापन नगरी क्षमताभन्दा बढी सामान लिएर ‘हेभी’ सवारीसाधन आवतजावत गर्न थालेपछि पक्की पुल जीर्ण बन्दै गएका छन् ।

सवारीसाधन २४ सै घण्टा आवतजावत गर्ने पक्की पुलमा साना मालबाहक ट्रक आवतजावत गर्दासमेत हल्लिन्छन् । उत्तरी क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनलाई आवश्यक पर्ने ट्रान्सफर्मरसहित हेभी इक्युमेन्टसम्बन्धी सरकारी निकायको निगरानी बिनै पुलमा सामान्य ‘सर्पोट’ राखेर भारतीय १८ चक्केसम्मका सवारीसाधन आवतजावत गर्दा दुई जिल्ला जोड्ने पक्की पुल दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको बेनी नगरपालिका–८ कालीपुलका खेम केसीले बताए ।

अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकारणले २२० केभी क्षमताको कालीगण्डकी प्रसारण करिडोरमा आवश्यक पर्ने ३५ टनभन्दा बढी क्षमताको ट्रान्सफर्मर म्याग्दीको सदरमुकाम जोड्ने पक्की पुल हुँदै सवस्टेशनसम्म पु¥याउन एक हप्ता लाग्यो । सवस्टेशनका कर्मचारीले बेनीको पक्की पुलबाहेक गलेश्वर हुँदै तीनवटा बेलिब्रिजमा सर्पोट राखेर ट्रान्सफर्मर दानासम्म पु¥याएका थिए ।

“पुल पैदलयात्रा गर्दा पनि हल्लिन्छन्, जोखिम ह्वात्तै बढेको छ, पुलको क्षमताका बारेमा कुनै पनि जानकारी उल्लेख छैन”, केसीले भने । पक्की पुलमा खाल्टाखुल्टी भएकाले पोखरी बन्ने गरेकाले पनि सवारीसाधन आवतजावतमा समेत समस्या हुने गरेको सवारी चालकले बताएका छन् । पक्की पुलको संरक्षणका लागि अहिलेसम्म कुनै पनि सरकारी निकायले चासो देखाएका छैनन् ।

बेनी नगरपालिकाको वडा तथा अन्य सरोकारवाला निकायले समेत क्षमताभन्दा धेरै ढुवानीलाई रोक्नेतर्फ चासो नदेखाएको स्थानीयको गुनासो छ । डेढ दशक अगाडि निर्मित पक्की पुलको मर्मत तथा क्षमताभन्दा बढीका सवारीसाधनलाई रोक लगाउन नसक्दा कुनै पनि बेला गम्भीर क्षति हुने प्राविधिक पक्षकै भनाइ छ ।

बेलिब्रिज पनि कमजोर

तत्कालीन समयमा बेनी–जोमसोम सडकखण्ड विस्तारसँगै निर्मित उत्तरी म्याग्दीका तीनवटा बेलिब्रिजको अवस्था पनि उस्तै छ । गण्डकी प्रदेशको ‘लाइफलाइन’ बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत महत्वपूर्ण मानिएको पुलको मर्मतमा बेवास्ता गर्दा गलेश्वर, महभीर र पोखरेबगरमा क्षमताभन्दा धेरै टन ढुवानी गर्दा फलामे बेलिब्रिजमा ठड्याइएका पाता, नटबोल्टमा असर गरेको छ ।

सवस्टेशन, मिस्त्रीखोला र मुस्ताङमा निर्मित थापाखोला जलविद्युत् आयोजनाले सर्पोट राखेर ढुवानी गरे पनि बेलिब्रिज छियाछिया भएको छ । दुईपाङ्ग्रे सवारीसाधन आवतजावनको क्रममासमेत समस्या देखिन थालेको छ । पुलको बीचमा प्वाल परेको छ भने बिमसमेत जीर्ण अवस्थामा छ ।

केही दिन अगाडि बेलिब्रिजमा बोलेरो अड्किएपछि करीब डेढघण्टा सवारीसाधन अवरुद्ध भएको थियो । क्षमताभन्दा बढी भारवहन सवारी पुल हुँदै आवतजावत गर्दा समस्या भएपछि गाउँपालिकाले सम्बन्धित निकायलाई सचेत बनाएको अन्नपूर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताए । “पुल एकदमै जोखिम देखिन्छ”, “कुनै पनि बेला पुलमा ठूलो दुर्घटना हुनसक्छ”, उनले भने ।

कालीगण्डकी कोरिडोरअन्तर्गत नयाँ पुल बन्दै गरे पनि तत्काल पुरानै पुलको संरक्षण गर्नुपर्ने उनको भनाइ छ । उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले समेत प्रयोग गर्ने पुलमा भूकम्प आउँदा हल्लिएको जस्तै हुन भएकाले पैदलयात्रीलाई समस्या हुने गरेको छ । पुलको डिजाइन गर्दा तोकिएको भारवन क्षमताका बारेमा समेत अस्पष्ट भएकाले जलविद्युत् र सवस्टेशनका प्राविधिकले पुलमा थप सर्पोट राखेर ढुवानी गर्ने गरेकाले पनि तत्काल गाउँपालिकामार्फत प्राविधिक टोलीलाई पुलको निरीक्षणमा ल्याउनुपर्नेमा जोड दिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button