तनहुँको पर्यटकीय गन्तव्य मानहुँ पुग्ने बाटो कालोपत्रे हुँदै

पोखरा न्यूज – ३२, जेठ l तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँडाँडा पुग्ने बाटो कालोपत्रे शुरु गरिएको छ । सरकारको रु सात करोड बजेटबाट सडक कालोपत्रेका लागि नाला निर्माणको काम शुरु गरिएको हो ।

सोही वडाको अलैचेबाट मानहुँकोटसम्म पुग्ने साढे छ किमि बाटो कालोपत्रेका लागि काठमाडौँस्थित रानीबारी कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको छ । छ महीना अघिदेखि निर्माण शुरु भएको नाला निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । उनका अनुसार बाटो सुधारको काम ८० प्रतिशत सकिएको छ ।

मानहुँसम्म पुग्ने बाटो कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै वृद्धि हुने अनुमान गरिएको छ । अहिले पनि मानहुँडाँडामा दैनिक पर्यटक पुग्ने गरेका छन् । आन्तरिक पर्यटकका साथसाथै विदेशी पर्यटकले समेत मानहुँडाँडाको भ्रमण गर्ने गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

रेलिङ निर्माण

मानहुँडाँडा आफैमा एउटा दृश्यावलोकन स्तम्भ (भ्युटावर) हो । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँ प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । नगरपालिकाको रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा निर्माण गरिएको रेलिङ अन्तिम चरणमा पुगेको छ ।

मानहुँडाँडा आन्तरिक पर्यटनको गन्तव्यको रुपमा विकास हुन थालेपछि यहाँ पूर्वाधार निर्माणको आवश्यकता खड्किएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार मानहुँको पर्यटकीय विकासका लागि आगामी आर्थिक वर्ष २०७६/७७ मा रु एक करोड बजेट माग गरिएको छ ।

वडा कार्यालयले चापाघाटदेखि अलैचेसम्म पैदलमार्ग निर्माण गरेको छ । सवारी गुड्ने बाटोका अलवा पैदल हिँडेर मानहुँसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको र त्यसलाई विस्तार गर्दै मानहुँसम्म पुर्याउने लक्ष्य रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button