प्रथम सगरमाथा आरोही दलका एक मात्र जीवित सदस्य आङ फुर्वा शेर्पा

नारायण न्यौपाने,सिबी अधिकारी, पोखरा न्यूज – ३२, जेठ l सर्वोच्च शिखर सगरमाथा आरोहणको बढ्दो आकर्षण र विभिन्न किर्तिमानी कायम गर्ने प्रतिस्पर्धा चलिरहेको छ । आरोहण इतिहासको नयाँ नयाँ किर्तिमानसँगै आठ हजारको संख्यामा आरोही सगरमाथाको चुचुरो चुम्न सफल भइसकेका छन् ।

सर्वोच्च शिखरको आरोहरणका क्रममा नै २९० जना आरोहीको निधन भएको छ । संसारलाई आकर्षण गर्ने सगरमाथा आरोहणको इतिहास भने अनौठो छ । सन् १९५३ मे २१ का दिन नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका नागरिक सर एडमण्ड हिलारीले अदम्य साहसका साथ सगरमाथाको शिखरमा पहिलो पटक पाइला टेकेका थिए ।

त्यो ऐतिहासिक आरोहण दलका सदस्य आङ फुर्वा शेर्पा (कान्छा शेर्पा) भने सगरमाथाको महत्वको पत्तो नपाइकनै आरोहण दलमा सहभागी भए। प्रथम सगरमाथा आरोहण दलका एक मात्र जीवित सदस्य शेर्पा भन्छन, “के गर्न जाने होला ? बाटो अप्ठेरो छ । कसरी बाटो पायो । डर पनि लागेको थियो, बाटो कसैलाई पनि थाहा थिएन, भगवान्ले देखाई दिएकी क्या हो पुग्न सफल भइयो ।”

पहिलो पटक आरोहण गर्दा कान्छा शेर्पा २० वर्षको भए । हाल उनी ८७ वर्षको छन् । आलु मात्र फल्ने खुम्बु क्षेत्रमा चामल र पैसाको चलन पनि सोही आरोहणले भित्र्याएको शेर्पा स्मरण गरे । चामल देखेको भए पनि किनेर खाने पैसा थिएन । आरोहणका क्रममा कमाएको पैसाले पहिलो पटक चामल किनेर खाँदाको खु्सी अहिले पनि अविस्मरणीय छ उनलाई । शेर्पालाई भात खान पाउदा असाध्यै खुसी लाग्यो । ‘

सगरमाथा हिमाल सफाई अभियानका क्रममा सगरमाथाको फेदी नाम्चेमा भेटिनुभएका शेर्पाले सगरमाथा आरोहणको इतिहास सुनाउदै आफ्नै लवजमा भने, “जानै पर्ने बाध्यता भयो, पैसा त चाहियो । उ बेला पैसा पाउन गाह्रो थियो । सधै आलू मात्रै खानु पर्दथ्यो । तेजिङ आउनुभन्दा अघि हामीले चामलको भात कहिल्यै खान पाएका थिएनौँ । हिलारी आयो, हामी माथि गयो, पैसा दियो, अनि चामल किनेर खायो ।”

कसरी आरोही दल सगरमाथाको चुचुरोमा पुग्यो कान्छा अहिले पनि छक्क पर्छन । उनले भने, “हिलारी र नोर्गेले हामीलाई खोज्यो, बल्लबल्ल पाएर गयो । त्यति बेला क्याम्प, साउथ कोल भन्ने थिएन, डोरी बानेर गइयो । गम्छा बानेर चढियो । अहिले जस्तो सजिलो भर्याङ थिएन । रुख काटेर साँघु वनाएर गइयो ।” आरोही दलमा २० शेर्पासहित न्यूजील्याण्ड र इङल्याइण्डका गरी ३५ जनाको टीम रहेको उनले बताए ।

शेर्पाको अनुभवमा त्यतिखेर समिट गर्ने चलन नै थिएन, अहिले त दिनकै दुई/तीन सय जना सगरमाथाको चुचुरोमा पुग्ने गरेका छन् । उनलाई अहिले सगरमाथा चढनुको केही महत्व नभएजस्तो लाग्छ । “हामीले दिनको आठ रुपैयाँ ज्याला पाउने गरेका थियौँ । त्यो बेला कहाँबाट आउने पैसा ? हिलारी र नोर्गे आएपछि यो ठाउँको विकास भयो, होइन भने दुखै दुख थियो”, विगत स्मरण गर्दै उनले भने ।
कान्छाले अहिलेसम्म हिमाल चढेको सात पटक भयो । प्रथम आरोही भारतको दार्जेलिङ, रक्सौल र रेसुङ्गाहुँदै सगरमाथाको चुचुरो चुम्न सफल भएका थिए । आरोहीलाई साउथ कोलबाट चचुरो पुग्न पाँच घण्टा र फर्कन दुई घण्टा लागेको थियो भने आरोहण पुरा गर्न तीन महिना लाग्यो ।

सगरमाथाको पाँच आरोहण गरेका सोना शेर्पा सगरमाथा आरोहणमा मावन आवागवनको चाँप धेरै देखिएको हुँदा ठूलो मानवीय क्षति हुनसक्नेप्रति सचेत हुनुपर्ने आवश्यकता औंल्याए । वसन्त यामको गत मे २२ तारिखका दिन सगरमाथा आरोहण गरेका शेर्पालाई आखै अगाडि आरोहीको मृत्यू हुँदा नराम्रो लागे पनि कतिपय आरोहीको जिद्धिपनले यस्ता मानवीय क्षति बेहोर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

शारीरिक अवस्था कमजोर भएका र आफ्नै घमण्ड तथा जिद्धिपनले पनि मृत्यु भएको सगरमाथाको १३औँ पटक आरोहण गरेका कीर्तिमानी आरोही काजी शेर्पालले बताउनुभयो । आरोही शेर्पा भन्नुहुन्छ, “ज्यान भनेको जुवा तास जस्तै हो । जोखिम आफ्नै हातमा छ । हिउँ पहिरोमा पनि परेको थिए । अमेरिकन र चिनीयाँ आरोही भनेको कुरालाई आत्मसात गर्ने भएकाले उनीहरुसँग काम गर्न निकै सजिलो हुन्छ ।”

सगरमाथा आरोहण गर्नु आफैमा निकै ठूलो चुनौती रहेपनि आर्थिक हिसाब दृष्टिकोणबाट राम्रो कमाइको गन्तब्य पनि हो । दुई महीनाको आरोहण अवधिमा रु १५ लाखसम्म कमाइ हुने गरेको उनले  सुनाए । राजनीतिक नेतृत्वले त्यस क्षेत्रमा सडक यातायातको सञ्जाल पुर्याउने भनिरहँदा त्यस क्षेत्रका बासिन्दाले चौरीखर्क भन्दा माथि मोटर बाटो लैजान नहुने भन्छन् । सगरमाथा चढ्ने आरोही बढेसँगै प्रदूषण पनि उत्तिकै थुप्रिएको छ । फोहर व्यवस्थापन अर्को चुनौती छ ।

यस पटक सरकारीतवर बाटै गरिएको सगरमाथा सफाइ अभियानले १० हजार किलो फोहर सङ्कलन गरेको थियो । अभियान भन्दा बाहेक पनि १४ हजार किलो फोहर यस वर्ष जम्मा गरिएको खुम्बु पासाङ गाउँपालिकाका प्रमुख निमा दोर्जे शेपाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button