काठमाडौँमा डलर र सुन साट्ने भन्दै ठगी गर्ने गिरोह सक्रिय

पोखरा न्यूज – ०१, असार l वैदेशिक रोजगारीबाट फर्किएकासँग डलर र सुन साट्ने भन्दै नक्कली नोट दिएर ठग्ने तथा लुटपाट गर्ने गिरोह काठमाडौँलगायत आसपासका क्षेत्रमा सक्रिय छन् ।

उनीहरु काठमाडौँको नयाँ बसपार्क, बौद्धलगायत क्षेत्रमा यसरी ठगी कार्यमा सक्रिय रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँले डलर र सुन साट्ने भनेर कसैले प्रलोभन दिएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार विगतदेखि नै यस्ता व्यक्तिहरु सक्रिय रहेकाले निगरानी बढाएर धेरैलाई पक्राउ गरिएको जानकारी दिए ।

आज मात्रै पनि परिसरले यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको साँगाबाट डलर र सुन साट्ने भनी लुटपाट गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ घर भई काभ्रे पाँचखाल बस्ने जीतबहादुर तामाङ र धुलिखेल बस्ने रामबहादुर तामाङ पक्राउ गरेको परिसरले जनाएको छ ।

यसअघि नयाँ बसपार्कबाट यसैगरी ठगी गर्दै आएका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । जीतबहादुर र रामबहादुरले नयाँ बसपार्क र बौद्ध क्षेत्रलाई मुख्य आधार बनाई विदेशबाट फर्किएका व्यक्तिहरुलाई डलर र सुन साट्नेलगायत अन्य विदेशी रकम बढीमा साट्ने भन्दै ठगी गर्ने गरेको खुल्न आएको छ ।

उनीहरुले पैसाको बण्डलको अगाडि र पछाडि सक्कली नोट राखी भित्र कागज राखेर ठग्ने गरेको परिसरको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button