गण्डकी प्रदेशको मुख्य आधार पर्यटन? बजेट न्यून !

दीननाथ बराल, पोखरा न्यूज – ०२, असार l गण्डकी प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनायर चालु आर्थिक बर्षमा बजेट तथा कार्यक्रम ल्याए पनि यस बर्ष पर्यटनको क्षेत्रमा सरकारले करिब २ प्रतिशतको न्यून बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटमा पर्यटनको शीर्षकमा ६७ करोड ६० लाखको बजेट विनियोजन भएको छ । ३२ अर्ब १३ करोडको कुल बजेट मध्य ६७ करोड ६० लाख पर्यटनमा छुट्टिनुले पर्यटनमा सरकारले कम प्रथामिकता दिएको आलोचना सुरु भएको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारले अघिल्लो बर्ष ल्याएका धेरै कार्यक्रमलाई निरन्तरता दिन नसकेको र पर्यटनलाई कम प्रथामिकता दिएको दाबी गरे । त्यसै गरी सरकारले उत्पादन र युवालाई उद्यमशिलता बनाउने ठोस कार्यक्रम ल्याउन नसकेको उनको आरोप छ । आउदो बर्षको चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजन प्रस्ताव गरेको मन्त्री गुरुङले जनाए । पुँजिगत तर्फ हेर्दा पनि पर्यटन क्षेत्रमा ३.४०५ प्रतिशत मात्र बजेट विनियोजन भएको देखिन्छ ।

पर्यटनमैत्री कार्यक्रमका माध्यमबाट गुणस्तरीय सेवा र नयाँ पर्यटकीय गन्तव्यको विकास गरी पर्यटकको बसाई अवधि लम्बाउने तथा निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिको रूपमा सम्मान गर्ने अतिथिदेवो भवः अभियानलाई निरन्तरता दिने व्यवस्था गरेको मन्त्री गुरुङले बताए । प्रकृति, संस्कृति र साहसिक पर्यटन समेट्ने गरी पर्यटन क्षेत्रको एकीकृत विकास गर्ने गुरूयोजना तयार गर्न १ करोड, पर्यटन क्षेत्रका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पर्यटन कार्यालय तथा पर्यटन सूचना केन्द्रको स्थापना गर्न ५ करोड विनियोजन गरिएको मन्त्री गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

पर्यटन क्षेत्रलाई प्रदेश समृद्धिको मुख्य आधारका रूपमा लिदै आन्तरिक पर्यटन वर्ष सम्पन्न गर्न तथा छिमेकी आकर्षण पर्यटन वर्षको रूपमा मनाउन १ करोड विनियोजन गरिएको छ । प्रदेश पर्यटक आकर्षक क्षेत्रको रूपमा घोषणा भएका १ सय १० पर्यटन गन्तब्य मध्ये प्रत्येक जिल्लामा ४ गन्तब्यको छनौट गरी जम्मा ४४ गन्तब्यमा पूर्वाधार विकास गर्न १७ करोड ६० लाख विनियोजन गरिएको छ ।

राउण्ड अन्नपूर्ण पदमार्ग, धौलागिरी पदमार्ग, मिलेनियम ट्रयाक लगायत पदमार्ग, पार्क, उद्यान तथा भ्यू टावर निर्माणका कार्यक्रमलाई निरन्तरता दिन १८ करोड र होमस्टे प्रवर्द्धन कार्यक्रमलाई परिमार्जन गर्दै सञ्चालन गर्न २५ करोड विनियोजन गरिएको मन्त्रीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button