खर्चकै आधारमा बजेट विनियोजन गरेको मन्त्री गुरुङको दाबी

दीननाथ बराल, पोखरा न्यूज – ०२, असार l गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खर्च गर्न सकिने गरी मात्र योजन गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले यस बर्ष जुन ठाँउमा जति बजेट खर्च गर्न सकिन्छ त्यसैको आधारमा बजेट विनियोजन गरेको बताएका हुन्।

विगतका बर्षमा ठुला योजनाहरुमा बजेट विनियोजन गर्दा खर्च गर्न र योजना समयमै सक्न कठिन भएकोले गर्दा गत बर्षको अनुभवको आधारमा यस बर्ष खर्च गर्न सकिने आधारमा बजेट ल्याएको उनले जनाए । उनले भने “गत बर्ष हामीले हतारमा बजेट ल्यायौं, हामीले ठुला योजानमा पनि धेरै रकम विनियोजन गर्यौं जसले गर्दा हाल खर्च कम भएको हो, त्यसैलाई मध्यनजर गर्दै आर्थिक बर्षमा हामीले शत प्रतिशत बजेट सकिने गरी जुन ठाँउमा जति बजेट खर्च गर्न सकिन्छ त्यसका आधारमा हामीले बजेट विनियोजन गरेका छौं । ” पर्यटनसँग सम्बन्धित रहेर भौतिक पुर्वाधार निर्माणमा बजेटले जोड दिएको मन्त्री गुरुङको भनाइ छ । यसपटक ठुलो रकम भौतिक पूर्वाधार विकासमा खर्च गर्ने उनले जनाए । उनले भने “पर्यटन प्रवर्धन गर्न धेरै बहुआयामिक क्षेत्रहरु छन् जस्तै खेलकुद, कृषि, शिक्षा, स्वास्थ्य, जसलाई हामीले पर्यटनसँग जोड्न खोजेका हौँ तर पर्यटनको शीर्षकमा भने कम बजेट विनियोजन भएको पक्का हो । ”

राष्ट्रिय गौरवका ठुला ठुला महत्वका योजनाहरुलाई विकास प्राधिकरण बनाएर लैजाने योजना प्रदेश सरकारले अघि सारेको मन्त्री गुरुङले बताए । उनले भने “ यस चालु आर्थिक बर्षको असार मसान्त भित्र करिब ६७ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेका छौं । धेरै योजनाहरुको रकम भुत्तानि गर्न बाकी छ भने धेरै योजनाहरुको काम अघि बढेको छ । ” पुराना कार्यक्रमलाई निरन्तरता दिदै नतिजा आउने कार्यक्रममा केन्द्रित भएको मन्त्री गुरुङले जनाए । उनले भने “ मेरो वक्तव्यमा केही कुराहरु छुटेका छन्, अघिल्ला बर्षका अधिकाशं कार्यक्रमलाई हामीले निरन्तरता दिनेछौै, प्राविधिक कारण र विगतमा बटुलेको अनुभवको आधारमा जसरी बजेट छलफल गरेर कुन एक्टीभिटिजलाई छलफल गरेर ल्याउनु पर्ने हो त्यो हुन सकेन, कति कार्यक्रम हाम्रो नियन्त्रण भन्दा बाहिर छ । ”

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट सवै निर्वाचन क्षेत्रमा समान रुपले साना योजनाहरु समेट्नको लागि प्रदेश सरकारले विनियोजन गरेको मन्त्री गुरुङले बताए । प्रत्येक निर्वाचन क्षेत्र भित्र सबै मिलेर २ करोड बराबरको योजना ल्याउने र त्यसको खर्च गर्न पनि सम्बन्धित मन्त्रालयबाटै निकासा हुने उनले जनाए । उनले भने “ केन्द्र सरकारमा हुने गरेको जस्तो निर्वाचित सांसदले आफुखुसी चिटकट्टामा लेखेर बुझाउने त्यसको भरमा रकम ल्याउने त्यस पछि विल भरपाइको ताकेता हुन्थ्यो अनि नक्कली सक्कली त्यो के के हो बुझाइन्थ्यो , तर हामीले त्यो ढंगले वितरण गर्न खोजेका पक्कै होइनौं, यसको कार्य विधि नै हुन्छ । ”

निर्वाचित सांसदको मात्र पहिलाको जस्तो ढंगले खर्च गर्न नपाउने मन्त्री गुरुङले बताए । समानुपातिक सांसदहरुलाई उक्त रकम दिदा पहिलाकै जस्तै रकम हिनाहिमना हुने आशंकामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा ७२ करोड विनियोजन गरेको मन्त्रीले बताए । प्रदेशमा ३६ जना निर्वाचित सांसदहरु रहेका छन् भने जम्मा ६० जना सांसद रहेका छन्। कार्यक्रम पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button