बुद्ध जन्मस्थल लुम्बिनीमा जेष्ठ पूर्णिमा उत्सव

पोखरा न्यूज – ०२ असार । बुद्ध जन्मस्थल लुम्बिनीमा जेष्ठ पूर्णिमा उत्सव मनाइएको छ । प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ का अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहयोगमा आज पूर्णिमा उत्सव मनाइएको हो ।

उत्सवको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनीबाट प्रदेशको समृद्धिको शुरुआत भएको बताए  । लुम्बिनीसँग जोडिएका पर्यटकीय क्षेत्रको विकास गरेर यसको महत्वलाई अझै उजागर गर्नतर्फ प्रदेश सरकारले विशेष जोड दिएको उनको भनाइ छ ।

मन्त्री गिरीले भ्रमण वर्षको घोषणाले मात्रै मन्त्रालयको दायित्व पूरा नहुने भएकाले सबैको सहकार्यमा समृद्ध लुम्बिनी र प्रदेशको सपना साकार पार्ने धारणा राखे  । लुम्बिनीसँग जोडिएका पर्यटकीय क्षेत्रको विकासका लागि मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाउने उनले बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक कपिलवस्तु गणराज्य पुगेर महासम्यक सुत्त प्रवचन गरेको महत्वपूर्ण दिनका रुपमा जेष्ठ पूर्णिमालाई लिइने बताए । बुद्ध दर्शनको व्यावहारिक उपयोगबारे जानकारी गराउँदै उनले पुरानो प्रवृत्ति त्यागेर नयाँ प्रवृत्तिको शुरुआत गर्नु नै बुद्ध शिक्षा भएको स्पष्ट पारे  ।

“नैतिक शिक्षा, योग, साधना र ध्यान बुद्धले सिकाउनुभएको होइन । उहाँले मनोविज्ञान सिकाउनुभयो, मन नै प्रधान हो । यही मनलाई राम्रोसँग बुझ्न सके जीवन सफल हुन्छ”, उनले भने , “प्रदूषित मनले गरेको कर्म नराम्रो आउँछ प्रफुल्लित मनले गरिएको काम सफल हुन्छ ।”

प्रदेशसभाका सदस्य फकरुद्धिन खानले भैरहवा लुम्बिनी सडकका पुल निर्माणको काम लामो समयसम्म पूरा नहुँदा  घन्टौ  जाम बस्नुपर्ने कारण पर्यटक र स्थानीयवासीलाई सास्ती भएकाले प्रदेश सरकारको यसतर्फ ध्यान जानुपर्ने बताए  । उनले प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन भौतिक पूर्वाधारको काम समयमै पूरा गर्न र हरेक गतिविधिमा स्थानीयवासीलाई समेट्न सुझाव दिए  ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले जेष्ठ पूर्णिमा बुद्ध दर्शनका हिसाबले ऐतिहासिक दिन रहेको स्मरण गर्दै समाजमा दिगो शान्ति र समृद्धिका लागि बुद्ध शिक्षाको व्यावहारिक प्रयोगमा जोड दिनुपर्ने धारणा राखे  । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले प्रदेशको समृद्धिका लागि बुद्धको शिक्षा र संस्कृतिको महत्व बुझाउन जरुरी रहेको बताए  ।

मन्त्रालयका सचिव धनञ्जय पौडेलले बुद्धको जन्म, ज्ञान लाभ र महापरिनिर्वाण पूर्णिमाकै दिन भएकाले भ्रमण वर्ष अवधिभर हरेक पूर्णिमामा विशेष कार्यक्रम आयोजना गरेकाले यसलाई सफल बनाउन सहकार्यका लागि सबैलाई अनुरोध गरे  ।

भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेको चार वर्षपछि आजकै दिन कपिलवस्तु गणराज्य पुगेर महासम्यक सुत्त देशना गरेका थिए  । कपिलस्तुमा रोहिणी नदीको पानीको विषयमा शाक्य र कोलीय राज्यबीचमा विवाद भएपछि यही सुत्तको माध्यमबाट बुद्धले विवाद समाधान गरेको भिक्षु प्राध्यापक डा संकिच्च महास्थवीरले जानकारी दिए  ।

पुरस्कृत तथा सम्मान

जेष्ठ पूर्णिमा उत्सवका अवसरमा लुम्बिनीका भिक्षु र गुरुआमा तथा विभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको थियो । मन्त्री गिरीले लुम्बिनीका १५ जना भिक्षु, गुरुआमा र निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट भएकालाई सम्मान तथा पुरस्कृत गरे  ।

विश्वद्यिालयका प्रमुख फणीन्द्र न्यौपानेका अनुसार निबन्ध प्रतियोगितामा कपिलवस्तुका गोविन्दप्रसाद खनाल प्रथम, रुपन्देहीका कविता पन्थी द्वितीय र लुम्बिनीका शङ्कर गौतम तृतीय भएका थिया  । कपिलवस्तुका सुशीला भुसाल र लुम्बिनी विकास कोषका परशुराम राईले सान्त्वना स्थान हासिल गरे  ।

प्रथम हुनेले रु ३० हजार, द्वितीय हुनेले रु २० हजार र तृतीय हुने सहभागीले रु १५ हजार प्राप्त गरे भने सान्त्वना हुनेले रु पाँच–पाँच हजार प्राप्त गरे । बुद्ध दर्शन र शान्ति विषयमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगितामा ६५ जनाले सहभागिता जनाएको साहित्य तथा संस्कृति उपसमितिका संयोजक डा गितु गिरीले जानकारी दिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button