नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह आकाशमा छाडियो

पोखरा न्यूज – ०२, असार । नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई आज अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘वर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो ।

डेढ महीनाअघि देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले आजबाट पृथ्वीको कक्षमा आई आकाशबाट स्वतन्त्र रुपमा परिक्रमा गर्ने भएको हो ।

उक्त भूउपग्रहले पहिलो चरण भूटान अनि नेपाललाई जानकारी दिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का अन्तरिक्ष यान प्रविधि (एरोस्पेस) इञ्जिनीयर मिलनकुमार न्यौपानेले जानकारी दिए । “पृथ्वीको ४०० किलोमिटर माथि आइएसएसमा पाँच जना अन्तरिक्ष यात्री बसी उक्त भूउपग्रह आज आकाशमा छाडिएका हुन्”, न्यौपानेले भने , “अमेरिकाका दुई, रसियाका दुई र क्यानाडाका एक जना व्यक्तिलाई आइएसएसमा सो कामका लागि खटाइएको थियो ।”

सो भूउपग्रहको तौल एक किलो ३०० ग्राम, यसको आकार एक हजार घनत्वको रहनाका साथै यसमा छ वटा ब्याट्री जडित भएकाले सो सूर्यबाट चल्ने र फालेको परिधिभन्दा बाहिर भूउपग्रह गएमा बढी जोखिममा पर्ने सम्भावना हुने बताइएको छ ।

सो भूउपग्रहमा पाँच मेगा पिक्सल क्यामेरा जडान गरिएको छ । यसबाट सङ्कलन गरेको फोटो व्यावसायिक काममा त्यति प्रयोग गर्न नमिल्ने नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिए  ।

सो अवसरमा हाल जापान भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जापानको क्युटेक र सो परियोजनामा कार्यरत जापानका सम्पूर्णलगायत नेपालका आभाष मास्के र हरिराम श्रेष्ठलाई धन्यवाद व्यक्त गरे  । मन्त्री पोखरेलले भने , “नेपालको झण्डा र नाष्टको लोगो अङ्कित सो भूउपग्रहले नेपालको गरिमा बढाउँदै अघि बढेकोे छ ।”

सो मन्त्रालयका सचिव कृष्णराज बिसीले नेपाल, जापान र श्रीलङ्काका लागि आजको दिन अविष्मरणीय रहेको बताए  । उनले भने , “जापानले भविष्यमा नेपाललाई विज्ञान र प्रविधिको अन्य क्षेत्रमा सहयोग गर्ने आशा बोकेको छु ।”

नाष्टको कार्यालयमा नेपालका लागि जापानी राजदूत मटासमिची साइगोले ‘वर्ड–३’ परियोजनाका कारण नेपाल र जापानको सम्बन्धमा थप सुधार भएको जानकारी दिए  । साइगोले भने , “आज आकाशमा छाडिएको नेपाली स्याट–१ ले अन्य भूउपग्रह निर्माण  गर्न हामीलाई प्रेरणा दिने विश्वास बोकेको छु ।”

जापानमा संयुक्त रुपमा एकैपटक निर्माण गरिएको अन्य भूउपग्रहमध्ये श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘युवुसु’ नामकरण गरिएका छन् । जाक्साले सो भूउपग्रह निर्माणका लागि नमूना तयार गर्न सहयोग गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए  । “यस भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्म हुनेछ”, ढुङ्गेलले भने , “नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।”

सो भूउपग्रहले एकपटक पृथ्वीको परिक्रमा गर्दा ९० मिनेट लगाउँछ । नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले भने , “सो भूउपग्रहले दिनको १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ ।” विश्वमा लगभग ४० हजार भूउपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परीक्षण गर्न सकिने कार्यक्रममा बताइएको छ ।

नेपालले पहिलोपटक प्रक्षेपण गरेको सो भूउपग्रहले नेपाली जनशक्तिको निर्माणका साथै क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा मानिसको उपस्थिति तथा उत्साही युवामा पहुँचका दृष्टिले अघि बढाएको बताइएको छ ।

वास्तवमा भूउपग्रहले सबै काम गर्न सक्छ । तर यो भूउपग्रह न्यानो स्याटलाइट भएकाले वातावरण परिवर्तन, शहरी क्षेत्रको व्यवस्थापन, शैक्षिक अध्ययन र अनुसन्धानमा जोड पुग्ने नाष्टका प्रविधि सङ्काय प्रमुख ढकालले बताए ।

नाष्टले आफ्नै कार्यालयको स्रोता गण कक्षबाट आज अपराह्न १२ः३० बजेपछि सो भूउपग्रहको प्रत्यक्ष प्रसारण गरेको थियो । जापानका तीन जना विज्ञ नाष्टको कार्यालयमा सो कामका लागि उपस्थित भएर सबैमा ऊर्जा भरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button