पोखरामा नाला निर्माण गर्न अवरोध भएपछि प्रहरी तैनाथ

दीननाथ बराल ,पोखरा न्यूज – ०३, असार l पोखराको जाल्पा मार्गमा नाला निर्माण गर्न प्रहरी तैनाथ गरिएको छ । पोखराको भित्रि सडकमा पर्ने उक्त जाल्पा मार्गमा साँढे दुई फिटको दोहोरो नाला निर्माणको क्रममा स्थानिय ज्ञानेन्द्र बरालले नाला निर्माणको क्रममा अवरोध गरेपछि मंगलबार प्रहरी तैनाथ गरी नाला निर्माणको कार्य अघि बढाइएको जाल्पा मार्ग बाटो ढल निर्माण उपभोक्ता समितिका अध्यक्ष शोमनाथ बरालले बताए ।

मुद्धा हारेर पनि ज्ञानेन्द्रले आफ्नो घर आगनमा विकास हुन लागेको बिषयमा पुनः मंगलबार अवरोध गर्न खोजेकोले आफुहरु बाध्य भएर प्रहरीको साथमा नाला निर्माणको काम अघि बढाएको अध्यक्ष बरालले बताए । ८ सय ३० मिटर लम्बाईमा उक्त नाला निर्माणको काम गत जेठ १५ भित्र सकिनु पर्नेमा ज्ञानेन्द्रले अवरोध गरी उच्च अदालतमा मुद्धा समेत हालेकाले निर्माण कार्य  ढिलो भएको उनले जनाए ।

ज्ञानेन्द्रले आफ्नो घर तर्फ बढी बाटो मिचिएको भन्ने बिषयमा उक्त नाला निर्माण तत्काल रोक्न भनी पोखरा महानगरपालिका वडा नम्बर ८ र उपभोक्ता समितिलाई विपक्षिमा मुद्धा हालेका थिए । उक्त मुद्धा फैसला हुदा मुद्धा हारे पछि सो क्षेत्रमा आफ्नो घरको पिढि पर्ने भागमा डोजर लगाउन खोज्दा मंगलबार ज्ञानेन्द्र सहित उनका परिवारले अवरोध सृजना गरेका थिए ।

वडा कार्यालय तथा उपभोक्ता समितिले प्रहरी नै तैनाथ गरी ज्ञानेन्द्रको घरको पिढि पट्टिको भाग डोजर लगायर खनेका थिए । डोजर लगाउदा ज्ञानेन्द्रका परिवारले केही चर्को स्वरमा कराए पनि समितिले आफ्नो काम अघि बढाएको थियो ।  समितिका उपाध्यक्ष समेत रहेका ज्ञानेन्द्रले उक्त क्षेत्रमा नाला निर्माण गर्ने अभियानमा अबरोध गर्दा निर्माण कार्य एक महिना ढिलो सरेको पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले बताए ।

उनले भने “ जाल्पामार्गमा नाला बनाउदा केहीले दुई तलेसम्मका घर आफै भत्काए तर ज्ञानेन्द्रको घरको पिढिसम्मको भाग पर्दा उहाँले हामी बिरुद्ध मुद्धा मामिला गर्नुभयो, हामीले सकभर कसैको घर भत्काउने उद्धेश्य राखेका छैनौं । ”पटक पटक ज्ञानेन्द्र परिवारसंग नाला बनाउने बिषयमा छलफल हुँदा उनको परिवारले आफ्नो घर अगाडी खन्न नदिए पछि वडा र समितिले समयमै काम गर्न नपाएको वडा अध्यक्ष बरालले गुनासो गरे ।

स्थानिय हुमादी बराल, तुलसी बराल, गोपाल पालिखे, मिन बहादर गुरुङ, लक्ष्मी ध्वजु, मायादेवी श्रेष्ठ, अनुप ताङगे, असोक गुरुङ लगायतले आफ्ने घर तथा टहरा एवं नाला बनाउने स्थानमा पर्ने संरचना आफै भत्काएर आफुहरुको नाला बनाउने अभियानमा सहयोग गरेको अध्यक्ष बरालले बताए ।

ज्ञानेन्द्र र उनका छोरा प्रकाश बरालले एकै स्वरमा भने “समितिले हामीलाई प्रहरी प्रशासन अघि सारेर हामीलाई डर धम्की दिदै हाम्रो जग्गा मिचेका छन्। समितिले बाटोको मध्यभागबाट समान रुपमा दोहोरो नाला बनाउनु पर्नेमा आफ्नो घर तर्फ बढी मिचेको ज्ञानेन्द्र परिवारको आरोप छ । सो क्षेत्रमा आफ्नो करिब ५ फिट जग्गा मिचिएको ज्ञानेन्द्रले दाबी गरेका छन्। समितिका उपाध्यक्ष ज्ञानेन्द्रले समितिबाट राजिनामा दिए पनि उक्त रानिजामा हालसम्म स्विकृत नभएको अध्यक्ष बरालले बताए ।

यस बिषयमा भने समितिका अध्यक्ष बरालले ज्ञानेन्द्रको घर अगाडी करिब २/३ फिट घुमाउरो बाटो भएकोले गर्दा मध्यबाट दुबै तर्फ २१/२१ फिट पर्ने गरी नाला बनाइएको बताए । ज्ञानेन्द्रको घर अगाडी भने ४२ फिटको बाटो रहेको उनले जनाए । जाल्पामार्गमा केही ठाउँमा ३० देखि ४२ फिटसम्मको फराकिलो सडक रहेको समितिका अध्यक्ष बरालले जनाए । महानगरको पटक पटक मापदण्डले गर्दा सडकमा एकरुपता नभएको उनले गुनासो गरे । पोखरा महानगरपाकिलाको ३३ लाख ६० हजार र १४ लाख ४० हजार जन सहभागिता गरी ४८ लाखको लागतमा उक्त योजना गत माघ पहिलो साता देखि सुरु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button