पोखरा न्यूज – ०६, असार । पोखरा पत्रकारिता पुरस्कारबाट यस बर्ष पत्रकार श्यामनाथ कुँवर पुरस्कृत हुने भएका छन्। नेपाल पत्रकार महासंघ कास्कीद्वारा स्थापित पोखरा पत्रकारिता पुरस्कार समाधान दैनिकमा आवद्ध कुंवरलाई प्रदान गरिने भएको महासंघ कास्की शाखाले जनाएको छ ।
उनले करिब साढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका छन् । प्रत्येक वर्ष प्रदान गरिने पोखरा पत्रकारिता सम्मानको राशि ३५ हजार रुपैयाँ रहेको छ । यसअघि पत्रकार नारायण कार्की, कुसुमकेशव पराजुली, बद्री विनोद प्रतीक, माधव शर्मा, पुण्य पौडेल, कृष्ण बाँस्तोला, दुर्गा बराल ‘वात्स्यायन’ र पोखरा महानगरपालिका सम्मानित भइसकेका छन् । त्यसै गरी गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट त्रिभुवन पौडेल र जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारबाट गिता रानामगरलाई प्रदान गरिने भएको छ ।
पौडेल पत्रकार महासंघ गण्डकीका अध्यक्ष हुन भने पोखरा हटलाइन दैनिकका सम्पादक हुन् । रानामगर एबिसि टेलिभिजनका पोखरा संबाददाता हुन। महासंघ कास्कीको शुक्रबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गरेको हो । पत्रकार कुसुम केशव पराजुली संयोजकमा पोखरा पत्रकारिता पुरस्कार छनौट समिति गठन गरिएको हो । त्यस्तै समितिको सदस्यमा कृष्णप्रसाद बास्तोला, दुर्गा बराल ‘वात्स्यायन’, महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना सदस्य रहेको प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेको थियो ।
गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । पत्रकार बद्री विनोद प्रतीक संयोजक रहेको प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेको हो । समितिमा रवीन्द्र बाँस्तोला, रुपनारायण ढकाल, दीपेन्द्र श्रेष्ठ र रामप्रसाद तिमिल्सेना सदस्य थिए । जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । उनी महासंघ कास्कीका कार्यसमिति सदस्य हुन् ।
महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठिन प्रतिभा छनोट समितिले गिताको नाम सिफारिस गरेको थियो । समितिमा सरिता तिमिल्सिना, रुद्र श्रीस मगर, दीपेन्द्र श्रेष्ठ र रामप्रसाद तिमिल्सेना सदस्य थिए । पत्रकार महासंघ कास्कीको स्थापना दिवसका दिन यही असार १२ गते विहान सम्मान र पुरस्कार प्रदान गरिने अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।