सेवा सुरु भए पनि अनलाइनबाट शेयर कारोबार गरिदैन: सिइओ साउत

दीननाथ बराल, पोखरा न्यूज – ०६, असार ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउतले अझै पनि शेयरमा फाइदा लिने लगानी कर्ताले अनलाइन सिस्टममा नगएको बताएका छन्। शुक्रबार पोखरामा आयोजित शेयर बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सिइओ साउतले अनलाइन सिस्टममा जादा शेयर कारोबार गर्नु भन्दा पहिले नै २५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने भएकोले गर्दा यदा कदा शेयरमा फाइदा लिनेले अझै पनि अनलाइन सिस्टममा नगएको दाबी गरेका हुन्।

अनलाइनमा जाँदा अडरको प्रमाण पनि हुने भोलि अडर गरे अनुसार रकम तिर्न बाध्य हुने भएकोले गर्दा अनलाईनमा केही जान अझै नमानेको उनले बताए । अनलाइन सेवा अन्तर्गत हाल मोबाइलबाटै समेत शेयर कारोवार गर्न सकिने मोबाइलबाटै रकम लेन देन गर्न सकिने सुविधा भएको साउतले जनाए । उनले भने “अनलाइन सिस्टममा जानु भनेको पारदर्शीता र छिटो छरिताको सेवाको लागि हो, यो सिस्टममा अब हामी जानै पर्छ, कहिले काहिँ प्राविधिक समस्या आयो भन्दैमा अनलाईनमा नजानु राम्रो हुदैन् । ” हाल १५ लाख नेप्सेमा लगानी कर्ता भएको उनले जनाए । करिब १३ हजार जनाले पुँजीबजारमा कारोबार गर्ने गरेको साउतले बताए । २ लाख जनाले के.वाइ.सी. अप्डेट गरेको उनले जनाए ।

लगानी कर्तालाई कसरी लगानी गर्ने भन्ने बिषयमा यसको सचेतना आवश्यक भएको बताउदै साउतले ब्रोकर नभएको ठाँउमा बढी शेयर कारोबार हुने गरेको जनाए । उनले अफलाईनमा हुने गरेको शेयर कारोबारको पनि नियमन गर्ने जनाए । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेपालको अर्थतन्त्रको करिब ५० प्रतिशत जसो शेयर मार्केट रहेको बताए । उनका अनुसार नेपाली शेयर मार्केट १६ खर्ब ३२ अर्ब रहेको छ । सम्पन्न देशमा भने देशको अर्थतन्त्र भन्दा शेयर मार्केट बढी हुने गरेको उनले जनाए । देशमा हाल २ सय १३ कम्पनी रहेको जनाएका प्रवक्ता पराजुलीले २२ वटा शहरहरमा शेयर कारोबार गर्ने कम्पनी वा ब्रोकर पुगेको जनाए । जसमा करिब एक सय ५० वटा बैंक तथा वित्तीय संघ संस्थाहरु रहेका छन्।

उनका अनुसार गत बर्ष काठमाडौं बाहिर १० प्रतीशत जसो शेयर कारोबार भएको थियो भने यस बर्षको ११ महिनामै करिब २० प्रतिशत जसो पुग्न लागेको जनाए । बिहान ११ बजे देखि ३ बजेसम्म खुल्ला हुने शेयर मार्केटमा दैनिक ३० करोडदेखि २ अर्बसम्मको कारोबार हुने गरेको बताइन्छ । देशको अर्थतन्त्र र राजनीतिक अवस्थासंग शेयर कारोवार जोडिन्छ । नेप्सेका बरिष्ठ आइटि अधिकृत प्रभाकर घिमिरेले २०६७ साल देखि डिम्याट सिस्टम लागु भएको बताउदै २०७२ साल देखि पूर्ण रुपमा डिम्याटबाट शेयर कारोबार हुँदै आएको बताए । शेयर बजारको जोखिम न्यूनिकरण गर्नको लागि ब्रोकरको आवश्यकता भएको उनले जनाए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले शेयर बजार सम्बन्धि सचेतना तथा छलफल कार्यक्रम पोखरेली संचारकर्मीको लागि निकै फलदायी भएको बताए । कार्यक्रममा पोखरामा कार्यरत करिब ५० जना संचारकर्मीको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button