गैंडाकोटमा पहिलोपटक बिजुली बलेपछी स्थानीय दङ्ग !

पोखरा न्यूज – ०७, असार । नवलपुरको गैंडाकोट नगरपालिका–३ हर्दीमा पहिलोपटक बिजुली बलेको छ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको हर्दीमा बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् ।

हर्दीका ६७ घरमा बिजुली पुगेको छ । यहाँ शुरुआतमा १९ घरमा मिटर बक्स जडान गरिएको छ । पन्ध्र दिनभित्र अन्य घरमा मिटर बक्स जडान गरिनेछ । धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आएएका स्थानीयवासी सोम भुजेल बिजुली बाल्न पाएपछि दङ्ग छन् । गैँडाकोट नगरपालिकासँगै जोडिएको भएपनि हर्दीका बासिन्दा बिजुलीबाट वञ्चित थिए । “जनप्रतिनिधि निर्वाचित भएपछि बिजुलीको पहल भएको हो”, भुजेलले भने ।

नेपाल विद्युत् प्राधिकरणको करीब रु ३५ लाख तथा नगरपालिकाको विद्युतीय सामग्री ढुवानीलगायत सहयोगमा यहाँ बिजुली बलेको हो । ग्रामीण क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत हर्दीमा बिजुली बालिएको हो । गैंडाकोट–३ मा रु सात करोडको लागतमा खानेपानी योजना समेत विस्तार गरिएको छ । कालीगण्डकीबाट लिफ्टको माध्यमबाट स्थानीयलाई सिँचाइको सुविधा प्रदान गर्ने नगरपालिकाको योजना छ ।

नेपाल विद्युत् प्राधिकरण गैँडाकोट शाखाका प्रमुख सुजन रिजालले हर्दीमा विद्युतीकरणका लागि स्थानीयवासीले श्रमदान गरी सहयोग गरेको बताए । उनले विद्युत् नियमित गराउन प्राधिकरणका तर्फबाट अधिकतम प्रयास गरिने बताए । सिँचाइका लागि बोरिङको समेत व्यवस्था गरिएको छ । गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारी विद्युतीकरणसँगै गाउँमा विकासको ढोका खुलेको बताउछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button