युरोपको चक्करमा २० लाख डुवाएका बेनीका बानियाँ घरमै मासिक १ लाख बचत गर्दै

धुर्व सागर शर्मा, पोखरा न्यूज – ०७, असार । दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा परे ।

युरोपको चक्करमा लागेर करीब २० लाख डुवाएका बानियाँले सानो लगानीमा शुरु गरेको पशुपालनबाटै कमाइ गर्न सफल भएका छन् । तीन वर्ष अगाडि रु तीन लाखको लगानीमा घरमै पशुपालन गरेका बानियाँले विदेश जाने रहरलाई तिलाञ्जली दिँदै पशुपालनमै जमेका छन्  ।

स्थानीय र उन्नतजातका पाँचवटा भैँसीबाट दैनिक ७० लिटर दूध बिक्री गर्ने गरेको बानियाँले बताए । तीन लाखबाट पशुपालन शुरु गरेका बानियाँको लगानी रु १० लाख पुगेको छ । “विदेशमा डुबेको पैसा दूध बेचेर कमाउँदै छु । घरमै खर्च कटाएर मासिक रु एक लाख आम्दानी हुन्छ”, बानियाँले भने ।

उनका अनुसार डेरीमा प्रतिलिटर रु ७० र घरायसी प्रयोजनका लागि प्रति लिटर रु १२० सम्ममा दूध बिक्री गर्ने गरेका बानियाँले कुखुरापालन समेत गरेका छन्। “दिगो र बलियो आम्दानीको माध्यम नै पशुपालन रहेछ । हरेक वर्ष लगानी थप्छु” बानियाँले भने । उनले घरमै व्यवसाय गरेर राम्रो कमाउन सकिने रहेछ भन्ने चेतना भए पनि सरकारी अनुदानमा विभेद, पर्याप्त घाँसको अभावले पशुपालनमा युवाको लगानी आर्कषित गर्न नसकिएको बताए ।

विदेश जाने लगानीले घरमै एउटा उन्नतजातको भैँसीबाट मासिक राम्रो कमाइ गर्न सकिने बानियाँको भनाइ छ । परिवारको सहयोगमा पशुपालन गरिहेका बानियाँले दैनिक बिहान र बेलुकी दुई पटक मोटरसाइकलमा दूध ढुवानी गर्ने गरेको बताए ।

बानियाँले भैँसी र कुखुरालाई आवश्यक पर्ने पानीको समस्या रहेको बताए । उनले दूध बेचेर घरायसी खर्च, साहुबाट लिएको ऋण भुक्तानी गरेर बचत समेत हुने गरेको बताउँदै गोठ विस्तार गदैं पशुपालनमा दोब्बर लगानी गर्ने बताए ।

गाउँघरका युवालाई विदेश पलायन रोक्न सरकारी निकायबाट वितरण हुने अनुदानलाई प्राथमिकताको आधारमा वितरण, बैंकबाट सस्तोमा कर्जा, युवा लक्षित कार्यक्रम, अनुदान रकम, मेसिन, भकारो सुधार, गोठ निर्माण, आवश्यकता अनुसार निःशुल्क घाँसको बीउ, औषधि उपचार, पशुसेवाका कर्मचारीले घरदैलोमै निःशुल्क उपचारमा प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

जिल्लामा विदेशबाट फर्किएका युवा पशुपालनमा आर्कषित हुने गरेका छन् । जिल्लामा अहिले करीब एक सयभन्दा बढी विदेशबाट फर्किएर व्यावसायीक पशुपालनमा संलग्न भई मनग्य आम्दानी गर्ने किसान रहेको तथ्याङ्क रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button