धार्मिक स्थल स्वर्गद्वारीमा पोखरेली पर्यटन व्यवसायी

पोखरा न्यूज – ०८, असार । नेपाल पर्यटन बोर्डको प्रबर्द्धन एवम् पर्यटन यातायात समिति, पोखराद्वारा आयोजित धार्मिक पर्यटकीय स्थल स्वर्गद्वारीको प्रबर्द्धनात्मक भ्रमण गरिएको छ ।

प्रबर्द्धनात्मक भ्रमणका क्रममा स्थलगत अवलोकनका साथै सरोकारवालाबीच अन्तरक्रिया समेत गरिएको छ । प्युठानी समाज, पोखराको समन्वयमा आज प्युठानको भिंग्रीमा आयोेजित अन्तरक्रियामा वक्ताहरूले धार्मिक पर्यटनलाई व्यवसायिकतामा बदल्न नसक्दासम्म स्थानीयवासी एवम् सरोकारवालाले लाभ लिन नसक्ने बताए ।

अन्तरक्रियामा पर्यटन यातायात समिति, पोखराका अध्यक्ष बबोरजंग गुरुङले स्वर्गद्वारीप्रतिको आकर्षणलाई व्यवसायिकताका माध्यमबाट नगदमा बदल्नुपर्ने बताए । आँफूहरूले स्वर्गद्वारी र पोखराबीच पर्यटकीय सम्बन्ध जोड्न सहयोग गर्ने बताउँदै उहाँले पर्यटक लक्षित पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले व्यवसायिक सोचका साथ पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न नसक्ने हो भने त्यसबाट लाभ लिन असम्भव भएको बताए ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले स्वर्गद्वारीमा पर्यटक लक्षित पूर्वाधारको विकासका साथै व्यवसायिकतालाई प्रभावकारी बनाउन सुझाव दिए ।

स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाया क्षेत्रीले स्वर्गद्वारीको विकास आँफूहरूको प्राथमिकतामा रहेको बताउँदै पोखरासँगको पर्यटकीय साझेदारीको अपेक्षा गरेको धारणा राखे ।

कार्यक्रममा पर्यटन यातायात समितिका महासचिव नवराज अधिकारी, उद्योग वाणिज्य संघ स्वर्गद्वारीका अध्यक्ष पशुपति श्रेष्ठ, स्वर्गद्वारी नगरपालिका नेपाली काँग्रेसका सभापति तिलकबहादुर विक, सञ्चारकर्मी सिपी पौडेल लगायतले पोखरा र स्वर्गद्वारीबीच पर्यटकीय साझेदारी कायम गर्दै यसबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

पर्यटन यातायात समिति, पोखराका अध्यक्ष गुरुङका अनुसार प्रबर्द्धनात्मक भ्रमणकै क्रममा आज नेपाल भारतबीचको कृष्णनगर नाका पनि अवलोकन गरिएको छ । भ्रमणटोली भोली अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल सुपा देउराली र सिजी धामको स्थलगत अवलोकन गरी पोखरा फर्कने उनले जानकारी दिए ।  समितिकै सकृयतामा अघिल्लो वर्ष रसुवागढी नाका लगायतका क्षेत्रको प्रबर्द्धनात्मक भ्रमण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button