पोखरा महानगरपालिकाको आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक

दीननाथ बराल, पोखरा न्यूज – ०८, असार ।  पोखरा महानगरपालिकाले पूर्वाधार निर्माणलाई विशेष जोड दिदै २०७६/०७७ को नीति तथा कार्यक्रम आइतबार पोखरामा सार्वजनिक गरेको छ । महानगरका मेयर मानबहादुर जिसीले आइतबार आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संघिय संरचनाको दुई बर्ष पुरा भएकोले तेस्रो बर्षको दौरानमा पनि विकासको पूर्वाधार निर्माणमा आफुहरुको जोड रहेको बताए ।

पोखरा महानगरपालिकाको पाँचौ नगरसभामा आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर जिसीले पूर्वाधार निर्माण कार्यक्रममा चालू आर्थिक वर्षमा २ अर्ब ४३ करोड लागतमा १ सय ४७ वटा योजनाहरुको टेन्डर प्रक्रिया पूरा गरी काम अगाडि बढाइएको बताए । मेयर नमुना पूर्वाधार योजना अन्तर्गत मुख्य सहरी सडक अस्फाल्ट कंक्रिट गर्ने प्रक्रिया सुरु भएको जनाउदै मेयर जिसीले भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै प्राविधिक व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि गुणस्तर मापन प्रयोगशाला सञ्चालनको लागि पूर्वाधार तयार गरिएको बताए । चालू आर्थिक वर्षमा १५ किमी बाटो ढलान, १० किमी सडक कालोपत्रे, २४ किमी सडक मर्मत, ३७ किमी सडक स्तरोन्नति, साढे ४ किमी ढल तथा नाली निर्माण र ५६ किमी खानेपानी पाइपलाइन विस्तार गरिएको उनले जनाए ।

पोखरा महानगरपालिकामा अन्डर ग्राउन्ड पार्किङसहित भवन निर्माण गर्दा एक तल्लासम्मको राजस्व मिनाहा गर्ने भएको छ । पोखरामा पार्किङ समस्या भएकोले गर्दा अब बन्ने भवनमा अनिर्वाय अन्डर ग्राउण्ड पार्किङ निर्माण गर्नु त्यसो गर्दा एक तलामा लाग्ने राजश्व मिनाह गर्ने मेयर जिसीले जनाए । साथै निजी क्षेत्रले निजी क्षेत्रमा पार्किङको व्याबस्था मिलाएमा विशेष सहयोग गर्ने जनाए ।

मेयर जिसीले भने “सडक सबै पूर्वाधारको पनि पूर्वाधार हो, क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगर पोखराले सडक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको छु, महानगरका सबै ३३ वटै वडाहरुलाई एक आपसमा स्तरीय सडक सञ्जालबाट जोडी विकटलाई निकटमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छु । ”चालू आर्थिक वर्षमा महानगरपालिकाको कार्यालयबाट सबै वडाको केन्द्रसम्म जोड्ने २७ वटा पहुँच मार्ग अर्थात कनेक्टिङ सडक आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी १ अर्ब १६ करोड बराबरको टेन्डर भई काम अगाडि बढेको मेयर जिसीले जनाए ।

केन्द्र सरकारको ४० प्रतिशत र स्थानीय सरकारको ६० प्रतिशत लागत सहभागितामा ५ वटा सडक योजनाहरुको बहुवर्षीय ठेक्का सम्झौता भइसकेको मेयर जिसीले जनाए । आर्थिक वर्ष ०७६/०७७ मा २९ किमी सडक स्तरोन्नति गरी १५ किमी. पक्की नाली निर्माण, १० किमी सडक ग्राभेलिङ तथा ८ किमी सडक कालोपत्रे गर्ने लक्ष्य राखेको बताउदै मेयर जिसीले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा नमुना सडक अन्तर्गत पोखरा चक्रपथ निर्माणको लागि पहल गरिने जनाए ।

वडा समितिका कार्यालयहरुको भवनको पूर्वाधार विकास गरी सुविधा सम्पन्न बनाउन चालू आर्थिक वर्ष ०७५/७६ मा ८ वटा वडा कार्यालयको निर्माण कार्य सम्पन्न भएको छ भने चालू आ.व.मा बहुवर्षीय ठेक्का सम्झौता भई निमार्णाधीन ७ वडा कार्यालय यस आर्थिक वर्ष ०७६/७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले जनाए । पोखरा सभागृह भवनको डिजाइन कार्य अन्तिम चरणमा पुगेकोले उक्त डिजाइनलाइ अन्तिम रुप दिइ ठेक्का व्यवस्थापन गरी आर्थिक वर्ष ०७७/०७८ मा सम्पन्न गर्ने लक्ष्य लिएको मेयर जिसीले जनाए ।

बेगनास, भरतपोखरी, कृष्ती, निर्मलपोखरी, माझठाना, लगायतका आयोजनामा साझेदारी तथा अन्य साना खानेपानी आयोजनामा १२ करोड लगानी गरी कार्य अगाडि बढाइएको उनले जनाए । फेवाताल संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा सिल्टेसन ड्याम निर्माण कार्यका लागि चालू आर्थिक वर्षमा ठेक्का प्रक्रिया अगाडि बढेको मेयर जिसीले बताए । आर्थिक वर्षमा काम सुरु भई आर्थिक वर्ष ०७७/७८ मा सम्पन्न गर्ने लक्ष्य लिइएको मेयर जिसीले सार्वजनिक गरेको निती तथा कार्यक्रममा उल्लेख छ । त्यसै गरी पोखरामा रहेका अन्य तालहरुको संरक्षण र प्रबर्द्धनका कार्यहरुलाई पनि निरन्तरता दिने भएको छ ।

स्मार्ट सिटी पूर्वाधार अन्तर्गत सबै वडा कार्यालयमा इन्टरनेट इन्ट्रानेट प्रणाली जडान गरी महानगर र वडाको सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै लगिएको र महाशाखा/शाखाहरुमा नेटवर्किङ गरी ई-गभर्नेस मा जोड दिइएको छ । पोखराका मुख्य चोकहरुमा सिसिटिभी क्यामरा जडान गरिनुका साथै मुख्य बजार क्षेत्रमा सिसिटिभी जडानको लागि सर्भे सम्पन्न गरिएको निती तथा कार्यक्रममा उल्लेख छ । त्यसै गरी चालू आर्थिक वर्षमा १० हजार पुराना घर नक्साका कागजातलाई विद्युतीकरण गरी अभिलेख राखिएको छ । भण्डारढिकमा आरएफआइडीमा आधारित पुस्तकालय स्थापनाको काम भइरहेको छ ।

महानगरबासीहरूलाई आफ्नो टोल बस्तीमा सञ्चालन हुने विकास निर्माणका कार्यहरूमा महानगरको ५० प्रतिशत र टोलबासीको ५० प्रतिशत लागत साझेदारीमा हामी बनाउँछौं हाम्रो महानगर कार्यक्रम सञ्चालन गरी चालू आर्थिक वर्षमा ७० योजनाबाट १९ करोडको पूर्वाधार निर्माण भएको छ ।

सडकको मापदण्ड कायम गरी सडक, फुटपाथ र चोकहरुलाई फराकिलो बनाई सौन्दर्यीकरण गर्ने कार्य अगाडि बढाइएको निती तथा कार्यक्रमा उल्लेख छ । महानगरपालिका क्षेत्र भित्र निर्माण गरिएका मुख्य तथा कनेक्टिङ सडकको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याइएको छ । भवन तथा पूर्वाधार निर्माणको मापदण्डलाई समयानुकल परिर्वतन गरी व्यवहारिक र कार्यान्वयन योग्य बनाइएको छ । सडक समस्याको रुपमा रहेका छाडा चौपायालाई वडा नम्बर १४ बाच्छीबुडुवास्थित खाली जग्गामा अस्थायी संरचना निर्माण गरी व्यवस्थापन गरिएको छ ।

महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाई सामाजिक रुपमा स्थापित गर्न उपप्रमुखसँग महिला कार्यक्रम मार्फत् लक्षित वर्गको सशक्तीकरण एवं क्षमता विकासका कार्यक्रमहरु सञ्चालित गरिएको छ । सहकारीसँग सहकार्य अन्तर्गत ९ वटा सहकारी, ५ महिला समूह र १४ वटा संस्थालाई ऋण उपलब्ध गराइएको छ । ५० महिला उद्यमी, ५ सय महिला रोजगार अन्तर्गत नयाँ उद्योग सञ्चालन र पुरानो उद्योगको स्तरोन्नति गर्ने गरी ९ वटा उद्योग सञ्चालनमा सहयोग गरिएको छ । कृषि, पशु, व्यापार र व्यवसाय प्रबर्द्धनको लागि ४४ जना महिलालाई ऋण लगानी गरिएको छ ।

महानगरपालिका भित्रका ८९ जना सडक बालबालिकाको पहिचान गरी उनीहरुको पुन: स्थापनाको लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा अन्नपूर्ण गाउँपालिकाको ल्याडेमा रहेको बालगृह सञ्चालन प्रक्रिया अगाडि बढाइएको मेयर जिसीले जनाए । महानगर बहु-प्राविधिक शिक्षालयको सञ्चालनको निम्ति पश्चिमाञ्चल क्याम्पससँग सहकार्य गर्ने गरी आवश्यक प्रक्रिया सुरु गरिएको छ । शिक्षा परिषद्बाट गठित कार्यदलले गरेको सुझाव अनुसार तयार गरिएको वर्तमान बस्तुगत शैक्षिक अवस्थाका आधारमा शिक्षा सम्बन्धी नीति तय गरिने भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोकमा कृषि बजार तथा कस्टम हायरिङ केन्द्र स्थापना र बिरौटामा कृषक बजार स्थापना गरी बिचौलियाको न्यूनीकरण गरी किसानहरुलाई सहज बजार पहुँच विस्तारको कार्य थालनी भएको मेयर जिसीले जनाए । मेयर प्रविधि मैत्री कृषि परियोजना सञ्चालन गरी किसानलाई आर्थिक सहयोग गरिएको छ । महानगका २८ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना एव्ां व्यवस्थापन गरी वडास्तरमा नागरिकहरुलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको सुनिश्चित गरिएको मेयर जिसीले जनाए । निशुल्क औषधी तथा स्वास्थ्य सामग्रीको नियमित आपूर्तिको सुनिश्चितता गरिएको छ । गर्भवती एवं सुत्केरी महिला तथा शिशुहरुको पोषण प्रद्र्धन एवं खोप सेवालाई थप प्रभावकारी बनाइएको छ । स्वास्थ्य संस्थामा प्रसूति हुने आमा तथा जन्मिने बच्चाको स्वास्थ्य रक्षाको लागि न्यानो कपडा एवं यातायात खर्चको व्यवस्था गरिएको छ ।

पोखरा महानगरपालिकाले नेपालमै पहिलो पटक १० स्थानमा पशुसेवा केन्द्र स्थापना एवं व्यवस्थापन गरी ९२ प्रकारका पशु सम्बन्धी औषधी नि:शुल्क वितरण गर्ने कार्य सुरु गरेको नती तथा कार्यक्रममा उल्लेख छ । त्यसै गरी व्यवसायिक रुपमा दर्ता भएका सबै पशु फर्महरुलाई निश्चित अनुदानको व्यवस्था गरिएको छ भने १८ वटा व्यावसायिक दुग्ध संकलन केन्द्रमा मिल्क एनालाइजर मेसिन उपलब्ध गराइएको एवं १० स्थानमा चिलिङ भ्याट उपलब्ध गराई स्वस्थ दुध उत्पादन र उपभोगमा जोड दिइएको छ । बाँझो जग्गालाई उपयोग गर्न १ हजार ७ सय ५३ रोपनी बाँझो जग्गामा उन्नत घाँस लगाए वापतप्रति रोपनी ३ हजार अनुदान वितरण गर्ने व्यवस्था मिलाइएको छ । ‘हाम्रो चाहना, पर्यटन मैत्री निर्माण संरचना’ लाई अभियानकै रुपमा अगाडि बढाइ नेपाल भ्रमण वर्ष २०२० र प्रदेश भ्रमण वर्ष २०१९ लाई सफल बनाउन आन्तरिक भ्रमणमा विशेष प्राथमिकता दिएर ‘पहिले देश ,अनि विदेश’ अभियानलाई विशेष जोड दिइने मेयर जिसीले जनाए ।

सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सिर्जनाचोकमा आकाशे पुल निर्माण सम्पन्न गरिनुको साथै ओभरहेड र सबवे संरचना निर्माणको लागि अध्ययन, डिजाइनको कार्य अगाडि बढाइने उनले जनाए । यातायातमा सहजता ल्याई तथा पैदल यात्रुहरुको सुविधालाई समेत मध्यनजर गरी हाल सडक छेउमा पार्किङ गर्ने कार्यलाई निरुत्साहित गरिनेछ । उपयुक्त स्थान पहिचान गरी अटो भिलेज निर्माण गरिन, दिनानुदिन सवारी चाप बद्दै गइरहेको अवस्थामा सहरका तपसिलमा उल्लेखित सडकहरुमा भवन नक्शा पास गर्दा अनिवार्य रुपमा अन्डरग्राउन्ड पार्किङ बनाएर मात्र नक्शापास स्वीकृति प्रदान गर्ने नीति लिइने निती तथा कार्यक्रममा उल्लेख छ ।

उज्यालो पोखरा कार्यक्रम अन्तर्गत नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा स्मार्ट ग्रिड सडक बत्ती राख्न आवश्यक प्रबन्ध मिलाइनुका साथै मुख्य स्थानमा पिउनेपानी सहितको सर्भिस स्टेसन, जग्गाको उपलब्धता हेरी आवश्यक स्थानमा सार्वजनिक शौंचालय निर्माण गरिने, सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दर कायम गरेर ई-टिकेटिङ लागू गरी मेट्रो कार्ड मार्फत् भाडा बुझाउन मिल्ने गरी आवश्यक प्रबन्ध मिलाइने भएको छ ।

सहरका मुख्य चोकहरु महेन्द्रपुल, पृथ्वीचोक र सिर्जनाचोकमा ट्राफिक लाइट राखिने भएको मेयर जिसीले उल्लेख गरे । ‘लेक टु लेक, केभ टु केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गको रुपमा अगाडि बढाइने भएको छ भने पोखरा सभागृहको मर्मत सम्भार कार्यलाई तत्काल अगाडि बढाइने, अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणको लागि सम्भाव्यता अध्ययन गरी काम अगाडि बढाइनेछ निती तथा कार्यक्रममा उल्लेख छ ।

त्यसै गरी मुख्य सहरी क्षेत्र तथा बजार क्षेत्रमा पहिलो चरणमा सिसी क्यामेरा जडान गरिने, डकका बीचमा रहेका बिजुलीका पोल, खानेपानी पाइप तथा तारबार व्यवस्थापनको कार्य सम्बन्धित निकायसँगको समन्वयमा अगाडि बढाइने भएको छ । सेती गर्जलाई साहासिक पर्यटन पूर्वाधारको रुपमा विकास गरिनुका साथै पातलो छाँगोमा सिसापुल निर्माण गर्ने र सराङकोटमा पर्यटन पूर्वाधार निर्माण आयोजना सार्वजनिक निजी साझेदारी अन्तर्गत अगाडि बढिरहेको र यस आर्थिक वर्षमा निर्माण कार्य सुरु गरिने भएको छ ।

यस अघि नै घर, भवन र भौतिक संरचनाहरु निर्माण गरेका तर विभिन्न कारणले नक्सापास प्रमाणपत्र नलिएका संरचनालाई विशेष व्यवस्थासहित कानुनी दायरामा ल्याई नियमित गरिने भएको छ भने मापदण्ड विपरीत संरचना निर्माण गर्ने कार्यलाई निरुत्साहित गरिने निती तथा कार्यक्रममा उल्लेख छ । २० लाख रूपैयाँ भन्दा बढी लागतमा निर्माण भएका भौतिक संरचना तथा विकास आयोजनाको अनुगमन तथा सुपरीवेक्षण गर्न तेस्रो पक्ष मार्फत् विकास निर्माणलाई थप प्रभावकारी र गुणस्तरीय बनाइने छ ।

लामे आहालमा निर्माण गरिने आधुनिक बसपार्कको डिपिआर तयार भइसकेकाले गण्डकी प्रदेश सरकारसँग सहकार्य गरी यस आर्थिक वर्षमा निर्माण कार्य सुरु गरिने भएको छ भने पृथ्वीचोक बसपार्क निर्माणका लागि समितिबाट प्राप्त प्रतिवेदनका आधारमा प्रक्रिया अगाडि वढाइने भएको मेयर जिसीले जनाए । पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित तल्लोपुँडीमा औद्योगिक क्षेत्र स्थापना गर्नका लागि आवश्यक पहल गरिने भएको छ ।

यसै आर्थिक वर्षदेखि कर्मचारी र पदाधिकारीको बिमा गर्ने कार्य अगाडि बढाइने भएको मेयर जिसीले बताए । करको दर होइन दायरा फराकिलो बनाई महानगरबाट लिइने कर, राजस्व र शुल्कलाई प्रगतिशील करको आधारमा थप व्यवस्थित र वैज्ञानिक बनाइने भएको छ । महानगरपालिकाको वडाहरुको गरिबी नक्सांकन तथा पारिवारिक विवरण संकलनको काम अगाडि बढाइनेछ । महानगर क्षेत्रभित्र वैकल्पिक ल्यान्डफिल साइट छनोट गर्ने कार्य अगाडि बढाइने, फोहोरलाई मोहोरमा परिणत गर्न महानगरमा संकलित फोहोरबाट ऊर्जा तथा कम्पोस्ट मल बनाउने कार्य सार्वजनिक निजी साझेदारी अवधारणामा अगाडि बढाइने भएको मेयर जिसीले जनाए ।

महानगर भित्रका ९ वटै तालहरुमा भएको अतिक्रमण रोकी तालहरुको संरक्षण, प्रबर्द्धन र विकास गर्नुका साथै ताल वरपर पैदल मार्ग निर्माण कार्यलाई निरन्तरता दिने, फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि सिल्ट्रेसन ड्याम निर्माण कार्य यसै आर्थिक वर्षमा सम्पन्न गरिने, पोखरामा व्यवस्थित ढल निर्माण तथा ढल डाइभर्सनको विस्तृत योजना तयार पारी कार्यान्वयनमा ल्याइने मेयर जिसीले जनाए । पुम्दीकोट, ठूलाकोट कालभैरव, तालबाराही (बेगनासताल), भद्रकाली र सराङकोट क्षेत्रहरुमा आवश्यक पूर्वाधार निर्माण एवं संरक्षण गरि धार्मिक पर्यटन प्रबर्द्धनगरिने लक्ष्य राखिएको मेयर जिसीले बताए ।

कृषि क्लब गठन गरी ‘एक हप्ता एक दिन खेतबारीमा केही छिन’ अभियान मार्फत् श्रमको वातावरण तयार गरिने, बाँझो जमिनमा सिँचाइको व्यवस्था गर्नुका साथै सामूहिक खेतीलाई प्रोत्साहन गरिने मेयर प्रविधिमैत्री कृषि परियोजना मार्फत् उत्पादन वृद्घि गर्न विशेष कार्यक्रम सञ्चालन गरिने मेयर जिसीले बताए । न्यायिक समिति मार्फत् प्रदान गरिने सेवालाई मेलमिलाप तथा मध्यस्तताको माध्यमबाट थप प्रभावकारी र सर्वसुलभ बनाइने लैंगिक समानता तथा हिंसामा परेका महिलाको सहायता लागि कानुनी परामर्श तथा सहायता कक्षलाई थप व्यवस्थित र सुलभ बनाइने भएको छ ।

कल महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, टुहुरा, सिमान्तकृत र लोपोन्मुख समुदायका लागि यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहुलियत प्रदान गर्न आवश्यक पहल गरिने र हरेक वर्ष विश्व ज्येष्ठ नागरिक दिवस (अक्टुबर १) मा महानगरका सबै भन्दा ज्येष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिता को सम्मान प्रदान गरिने मेयर जिसीले जनाए । सार्वजनिक यातायातको वैज्ञानिक भाडा दर कायम गरी ई-टिकटिङ लागू गर्नुका साथै डिजिटल विज्ञापन प्रणालीको अवलम्बन गरिनुका साथै वडा कार्यालय तथा विद्यालयमा सिसिक्यामेरा जडान गर्नुका साथै मुख्य सहरी क्षेत्रमा समेत सिसि क्यामरा विस्तार गरिँदै लगिने भएको छ ।

एक वडा एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिइने, ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिइेने भएको मेयर जिसीले जनाए । महानगरपालिकाका जनतालाई सफा र स्वच्छ पिउनेपानी उपलब्ध गराउन जनतासंगको सहलगानीमा खानेपानी मूलको संरक्षण गर्दै लिफ्टिङ पद्घत्तिलाई प्राथमिकतामा राखि ‘एक घर एक धारा’ अभियानलाई जोड दिइने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button