
पोखरा न्यूज – ०९, असार । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय टाँडीले चालू आर्थिक वर्षको एक वर्षमा अवैध रुपमा विद्युत् चोरी एवं चुहावट गर्ने २ सय ३४ जनालाई कारबाही गरी रु २८ लाख ८९ हजार ८६३ जरिवाना गरेको छ । कारबाहीमा परेका व्यक्तिले एक लाख ५१ हजार ५८७ युनिट विद्युत् चुहावटसमेत गरेको थियो ।
कार्यालयले बन्द भएको, बिग्रेको र मिटरमा कैफियत देखिएका ७८८ ग्राहकको विद्युत् मिटर परिवर्तन गरी त्यस अवस्थामा बक्यौता रहेको रु २० लाख ३६ हजार राजश्वसमेत सङ्कलन गरेको कार्यालय प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए ।
कार्यालयका अनुसार लामो समयदेखि बक्यौता रहेका ६०५ ग्राहकको लाइन कट्टा गरी रु एक करोड ६६ लाख ३२ हजार ७०० राजश्व सङ्कलन भएको छ । त्यस्तै, कालोसूचीमा परेका १३ ग्राहकबाट रु छ लाख ३१ हजार राजश्वसमेत सङ्कलन भएको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार कारबाहीमा परेका ५१५ ग्राहकले बक्यौता तिर्दा रु दुई करोड चार लाख ८८ हजारसमेत राजश्व सङ्कलन भएको छ । सो वितरण केन्द्रअन्तर्गत ५६ हजार ९५७ विद्युत् मिटर जडान गर्ने ग्राहक रहेको सो कार्यालयले मासिक रु छ करोड विद्युत् शुल्कबापत राजश्व सङ्कलन गर्ने गरेको छ ।
अवैध रुपमा विद्युत् चोरी तथा हुकिङ हुन नदिनेतर्फ सो कार्यालयले अनुगमन तीब्र पारेको प्रमुख श्रीवास्तवको भनाइ छ । कानूनी रुपमा विद्युत् चोरीको कार्य बन्द गरी त्यहाँका आम नागरिक विद्युत् मिटर जडान गर्दै आएका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा चार हजार ५०० घर परिवारले विद्युत् मिटर जडान गरेको बताइएको छ । यसैबीच सो केन्द्रले आर्थिक रुपमा गरिब, विपन्न तथा सुकुम्वासीतर्फका १७२ जनालाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । नेपाल सरकारको उज्यालो कार्यक्रमअन्तर्गत सो विद्युत् मिटर निःशुल्क वितरण गरिएको हो ।





