नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ

पोखरा न्यूज – ०९, असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सङ्गठन कमिटीका ७२ वडाका अध्यक्ष र सचिवले शपथ लिएका छन् । नेकपाले आज जिल्ला पार्टी कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना गरी पोखरा महानगरपालिका र चार वटै गाउँपालिकाका गरी ७२ वडाका अध्यक्ष र सचिवलाई शपथ गराएको हो ।

उनीहरुलाई पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापाले शपथ गराएका थिए । साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठन भएको १४ महीनापछि नेकपाको तल्लो कमिटीमा एकताले पूर्णता पाएको हो । वडामा महानगरमा ६०/४० तथा गाउँपालिकामा ५५/४५ प्रतिशतको अनुपातमा साबिक दुई पार्टीका बीचमा भागबण्डाका आधारमा नेतृत्व चयन गरिएको छ ।

जिल्लाका ७२ वडामध्ये पूर्व एमालेले ४२ र माओवादी केन्द्रले ३० वडामा नेतृत्व लिएको छ । महानगरमा रहेका ३३ वडामध्ये पूर्व एमालेले २० तथा माओवादी केन्द्रले १३ तथा गाउँपालिकाका ३९ वडामा पूर्व एमालेले २२ तथा माओवादीले १७ वडामा नेतृत्व पाएको छ । अध्यक्ष र सचिव साबिकका फरक पार्टीबाट हुने गरी जिम्मेवारी प्रदान गरिएको छ ।

शपथग्रहण कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका सदस्य एवं पोखरा महानगरप्रमुख मानबहादुर जिसीले दुई फरक पृष्ठभूमि र कार्यशैलीबाट आएका दुई पार्टीबीच एकता भएर एउटै गन्तव्य तय गरेको अवस्थामा हार्दिकताका साथ जनताको काममा खट्न आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङले कम्युनिष्ट पार्टीको सदस्यको हैसियतले शपथ लिएकाले साम्यवादसम्म पुग्ने अन्तिम लक्ष्य पछ्याउँदै सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर समाजवादको तयारी गर्नुपर्ने बताए ।

जिल्ला अध्यक्ष थापाले निर्वाचित जनप्रतिनिधिको काम तथा कार्यशैलीलाई हजारौँ जनताले नजीकबाट हेरिरहेको चर्चा गर्दै जनताले चुनेका प्रतिनिधि अनियमितता र गलत कार्यमा लागेको प्रमाण भेटिए पार्टीले कारवाही गर्ने चेतावनी दिए । नेकपाले यही असार १२ गतेभित्र वडा कमिटीको नामावली जिल्लामा पठाउन सम्पूर्ण वडाध्यक्षलाई निर्देशन दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button