तनहुँ: व्यास नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

कृष्ण न्यौपाने  ,पोखरा न्यूज – १०, असार । तनहुँको व्यास नगरपालिकाले ‘विविधतायुक्त गाउँ शहर : समृद्ध मेरो व्यास नगर’ निर्माण गर्ने दीर्घकालीन सोचबाट निर्देशित भई आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आजदेखि शुरु भएको नगरपालिकाको नगरसभामा आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मीरा जोशीले नगरपालिकाको समतामूलक विकास र समृद्धि हासिल गर्न पन्ध्रौँ योजनाको आधारपत्र, नेपाल सरकार, गण्डकी प्रदेश सरकारको समष्टिगत आर्थिक नीति, दिगो विकास लक्ष्य प्राप्तिका अन्तर्राष्ट्रिय मान्यता र विषयगत गुरुयोजनाका प्रस्तावलाई मार्गदर्शनको रुपमा लिइएको बताइन् ।

संविधानले प्रत्याभूत गरेका एकल तथा साझा अधिकारको सूचीको मर्म र मान्यताअनुरुप कानूनको तर्जुमा गरी सङ्घ, प्रदेश र नगरपालिकाको आन्तरिक राजश्व तथा आयस्रोतका आधारमा सन्तुलित र पारदर्शी नीति तथा कार्यक्रम निर्माण गरिएको नगर उपप्रमुख जोशीले बताइन् । जोशीले भनिन, “नगरपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, वन तथा वातावरण, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम निर्माण गरेको छ ।”

नगरपालिकाले नगरस्तर र वडास्तरमा न्यूनतम एउटा कृषिउपज सङ्कलन केन्द्र निर्माणलाई प्राथमिकतामा राखेको छ । कृषि, कृषि उद्यमी, कृषक समूह र कृषि व्यवसायमा आधारित सहकारीलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरी नगरपालिकाभित्र उत्पादित सहकारीमार्फत बिक्री हुने खसीबोका र दूधमा प्रोत्साहनस्वरुप कार्यविधि बनाई आर्थिक सहयोग उपलब्ध गराइनेछ ।

पर्यटन क्षेत्रलाई विशेष महत्व

उपप्रमुख जोशीले व्यास जन्मभूमि, पराशर ऋषिको तपोभूमि, छाब्दी बाराही मन्दिर, अकला मन्दिर, तनहुँसुर दरबार, गलेखामकोट, कर्लुङकोट, क्यामिन कालिका, शहीद जङ्गलपार्क, मानहुँ, पुलिमराङको संरक्षण र विकास गरी पर्यटकीय क्षेत्रको विकासमा विशेष कार्यक्रम ल्याइने बताइन् ।

पर्यटकलाई दमौलीस्थित मादी नदीमा ताल निर्माण गरी जलविहारको आनन्द प्रदान गर्ने र स्थानान्तरण हुन लागेको प्याराग्लाइडिङलाई व्यास नगरपालिकामा भित्र्याइ यस क्षेत्रको प्रबर्द्धन गर्ने नीति नगरपालिकाले लिएको छ । जीविकोपार्जन र रोजगारीको अवसर वृद्धि गर्न जल पर्यटन, कृषि पर्यटन, शैक्षिक पर्यटन, धार्मिक पर्यटन, खेल पर्यटन, ग्रामीण पर्यटन, सांस्कृतिक एवं प्राकृतिक पर्यटन व्यवसायको विविधकरण तथा विस्तारमा जोड दिने नीति छ ।

भ्रमण वर्ष सन् २०२० लाई ध्यानमा राखी नगरपालिकाको सम्पूर्ण पर्यटकीय सम्पदा समेटिने भ्रमण पुस्तिका प्रकाशन गरी द ग्रेट हिमालय ट्रेलको सवट्रेलको रुपमा बुद्ध शान्ति पदमार्ग (मनाङको तिमाङ गाउँ–दमौली–लुम्बिनी)लाई नक्साङ्कन गरी व्यवस्थित गर्ने योजना छ ।

नगरपालिकाभित्र सञ्चालन भएका शैक्षिक संस्थाको व्यवस्थापन र गुणस्तर सुधारलाई प्राथमिकतामा राखी नगरपालिकालाई शैक्षिक हवको रुपमा विकसित गरिनेछ । नगरभित्रका प्रत्येक वडामा एक/एक नमूना विद्यालयको छनोट गरी नमूना विद्यालय सञ्चालन गर्ने नीति लिएको नगरपालिकाले अन्य विद्यालयमा गुणस्तर वृद्धिका विभिन्न कार्यक्रममा सहयोग गर्नेछ ।

जिल्लास्तरीय दमौली अस्पतालको स्तरोन्नति गर्नका लागि प्रदेश सरकारसँग सहकार्य गर्ने नीति छ । हाल १५ श्ययाको अस्पताललाई न्यूनतम ५० श्ययाको बनाउन पहल गरिनेछ । कूल १६ रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल स्तरोन्नतिका लागि ३५ रोपनी जग्गा आवश्यक पर्दछ ।

प्रत्येक वडालाई रु एक करोड

नगरपालिकाले पूर्वाधार निर्माणमा प्रत्येक वडा कार्यालयलाई रु एक करोड विनियोजन गरेको छ । वडाले सिफारिस गरेका ठूला पूर्वाधारका आयोजना नगरस्तरीय आयोजनामा राखी कार्यक्रम बनाउने नीति लिएको नगरपालिकाले आगामी तीन वर्षभित्र सबै वडा कार्यालयमा कालोपत्रे मार्ग  पुर्याउने लक्ष्य लिएको छ ।

नगरपालिकाबाट सञ्चालित योजनालाई व्यवस्थित बनाउन एक वडा एक प्राविधिकको व्यवस्था, नगर यातायात सञ्जाल विकास गर्न र नगर बस सञ्चालन गर्न सम्भाव्यता अध्ययन, काठेपोल विस्थापन गरी स्टिलको पोल व्यवस्थापन गरिने योजना छ ।

नगरपालिकाले लोकतन्त्र स्थापना र संवर्द्धन गर्ने अभियानमा सहादत प्राप्त गरेका स्व गोवद्र्धन शर्माको सम्मानमा व्यास नगरपालिका–१० मा गोवर्द्धन शर्मा प्राङ्गारिक जैविक विविधता अध्ययन तथा विस्तार केन्द्र स्थापना गर्ने भएको छ । लोकतन्त्र स्थापनाको क्रममा शहीद भएका महत्वपूर्ण व्यक्तिको सम्मानका लागि विभिन्न स्मारक, अध्ययन केन्द्र, मार्ग र अन्य विकास आयोजनाको नामकरण गर्ने नीति छ ।

शुक्लागण्डकी : पर्यटन, कृषि र पूर्वाधारलाई प्राथमिकता

पर्यटन, कृषि र पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आवको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

‘पर्यटन, कृषि र पूर्वाधार :समृद्ध शुक्लागण्डकीको मूल आधार’ भन्ने सोच तथा र नीतिसँगै सहभागितामूलक योजना तर्जुमा प्रक्रियाको माध्यमबाट छनोट भएका योजना तथा कार्यक्रम नगरपालिकाले सार्वजनिक गरेको हो ।

पाँचौँ नगरसभामा आव ०७६/७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख सविता रसाइलीले पर्यटन, कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको नगरपालिकाले कृषिमा व्यवसायीकरण, पूर्वाधार निर्माण र पर्यटक आकर्षित कार्यक्रम सञ्चालन गरिने बताइन् । युवा विदेश पलायन रोक्न युवा लक्षित कार्यक्रम, घरेलु तथा साना उद्योग स्थापना, प्राकृतिक स्रोत र साधनको वैज्ञानिक उपयोगलगायतलाई नगरपालिकाले प्राथमिकतामा राखेको उपप्रमुख रसाइलीले जानकारी दिइन ।

नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन नगर प्रमुख कृषि आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्र्ने नीति लिइएको छ । नगरलाई उज्यालो र समृद्ध बनाउन नगरप्रमुख युवा कार्यक्रम लागू गर्ने, निर्यातयोग्य एवं उच्च मूल्यवान कृषिउपजको उत्पादन तथा बजार प्रबर्द्धनमा जोड दिने, नगरभित्र एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिने नीति नगरपालिकाले लिएको छ ।

सहकारी, बैंक तथा वित्तीय क्षेत्रमार्फत लगानी हुने कृषिकर्जालाई सरलरुपमा कृषकमाझ पुर्उयान कार्यक्रम गर्ने, कृषि उत्पादन तथा उत्पादकत्वमा परिणात्मक एवं गुणस्तर वृद्धिका लागि आवश्यक पर्ने कृषि उत्पादन सामग्री तथा सेवामा कृषकको पहुँच बढाइ सक्षम बनाउन पहल गर्ने नीति लिएको छ ।

किसानको वर्गीकरण गरी निश्चित सीमाभन्दा माथिको कृषि आयमा कर लगाउने कानून तर्जुमा र जमीन बाँझो राख्नेलाई ‘करारोप’ को सिद्धान्तअनुसार कृषि उत्पादनमा वृद्धि गर्ने नीति लिएको छ ।

ढोरबाराही मन्दिर क्षेत्रलाई गुरुयोजनाबमोजिम विकास गरी तीर्थालु पर्यटकबाट यस क्षेत्रको कृषि तथा गैरकृषि उत्पादन तथा व्यापार प्रवद्र्धन पर्याप्त रुपमा गर्ने अवस्था सिर्जना, पर्यटकीयस्थल भुजिकोट र दगाममा एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

नगर क्षेत्रभित्रका मुक्तिनाथ शुक्लागण्डकी च्वयनधाम, मिलेनियम गुफा, रक गार्डेन, भुलभुले बाराही मन्दिर, खोरादीकोट, कोटखड्ककाली, भूमे भैरवलगायत क्षेत्रको विकास गरी पर्यटकीय गतिविधि बढाउने अवस्था सिर्जना गरिनेछ ।

नगरकेन्द्र र वडा केन्द्र जोड्ने सडक स्तरोन्नतिलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । आगामी तीन वर्षभित्र वडा कार्यालय जोड्ने सडक कालोपत्रे गरिने उपप्रमुख रसाइलीले जानकारी दिइन् ।

नगरपालिकाले तेह्र वडा सडकलाई नगरको प्रमुख मार्गको रुपमा पहिचान गरेको छ । पचास प्रतिशत जनसहभागितामा सञ्चालन आयोजनाबाहेक अन्य रु दशलाख भन्दामाथिका योजना ठेक्का प्रक्रियामार्फत सञ्चालन गर्ने, लागत साझेदारी जुट्ने योजनालाई पहिलो प्राथमिकता दिई २० लाखभन्दा बढी लागत भएका योजनामा मात्र लागत साझेदारी गर्ने नीति लिइएको छ ।

नगरपालिकाले ‘एक वडा एक नमूना विद्यालय’ को नीति अवलम्बन गरी सामुदायिक विद्यालयको समग्र पक्षको सुधारको अवसर उपलब्ध गराउने छ । विद्यालयको तल्लोतहदेखि नै प्राविधिक शिक्षाको स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिनेछ ।

विद्यार्थी सङ्ख्या, सञ्चालित कक्षा र भौगोलिक अवस्थिति समेतका आधारमा शिक्षक दरबन्दी मिलान गर्ने, शैक्षिक शत्र २०७७ देखि नगरभित्रका सबै सामुदायिक विद्यालयमा एकै प्रकारको विद्यार्थी पोशाक र एउटै प्रकाशनको पाठ्यपुस्तक प्रयोग गर्ने, सञ्चालनमा नरहेका र कम्तीमा लगातार दुईवर्ष शैक्षिक तथ्याङ्क नभर्ने विद्यालयको अनुमति खारेज गर्ने नीति छ ।

सबै वडामा अप्टिकल फाइबर

नगरपालिकाले सबै वडामा अप्टिकल फाइबरसहितको उच्च गतिको इन्टरनेट सेवा पु¥याउने नीति लिएको छ । त्यसको लागि निजी क्षेत्रसँग साझेदारी गरी योजना कार्यान्वयन गरिने बताइएको छ ।

८५ करोडको अनुमानित बजेट

नगरपालिकाले आगामी आवका लागि रु ८५ करोड ६८ लाख १२ हजार ८७५ को अनुमानित आयव्यय सार्वजनिक गरेको छ । नगरप्रमुख किसान गुरुङले नगरवासीको मागलाई मध्यनजर गर्दै नगरपालिकाबाट सम्बोधन हुन नसकेका योजनालाई प्रदेशस्तर र केन्द्रस्तरबाट सम्बोधन गर्नका लागि सांसदहरुमार्फत अनुरोध गरिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button