पोखरामा काँग्रेस निकटका वडाअध्यक्षहरुको आन्दोलन टुंगियो

दीननाथ बराल, पोखरा न्यूज – १३, असार । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीसंगको छोटो भेटवार्ताबाटै नेपाली काँग्रेसका वडा अध्यक्षहरुको आन्दोलन टुंगिएको छ ।

आज (शुक्रबार) बिहान मेयर जिसीसंग काँग्रेस वडा अध्यक्षहरुले आफ्नो मागको बिषयमा कुरा राखे पछि मेयर जिसीले महत्वपूर्ण योजनाहरु छुट भएको भए पुनः वडामै बैठक राखेर ल्याउन आग्रह गरेसंगै आफुहरुको आन्दोलन टुंगिएको काँग्रेसका सचेतक तथा वडा नम्बर ९ का वडा अध्यक्ष रामराज लामिछानेले बताए ।

मेयर जिसीले योजना माग्न आउने बिषयमा काँग्रेस वडा अध्यक्षहरुले नगर सभामा कुर्सि र टेबल फालेर रातो किताब समेत च्यातेकोले गर्दा आफुले आवेशमा आएर केही बोलिएको हुन सक्ने प्रतिक्रिया दिएको बताइन्छ । बिहान करिब १०ः३० बजे मेयर जिसी कार्यालय आउदा काँग्रेस वडा अध्यक्षहरुले बिहिबारको झै मुल गेटमा नारा बाजी गर्दै आन्दोलन गरेका वडा अध्यक्षहरुलाई के हो तपाईहरुको माग आउनुहोस वार्तामा बस्यौ भन्दै चसो दिए पछि काँग्रेस वडा अध्यक्षहरुले मेयर जिसीकै रोहबरमा ताला खोलेर वार्तामा बसेका हुन्।

दुबै पक्षबाट बजेटको असमान वितरण भएको बिषयमा करिब ३० मिनेट जसो छलफल भए पछि कुनै वडामा महत्वपूर्ण योजनाहरु छुट भएको खण्डमा कुनै प्रथामिकताको आधारमा समेट्ने प्रयास गर्ने मेयर जिसीले आश्वासन दिएसंगै वार्ता निष्कर्षमा टुंगिएको पोखरा वडा नम्बर १० का वडा अध्यक्ष राजकुमार गुरुङले बताए ।

नेपाली काँग्रेसका वडा अध्यक्षहरुले बिहिबार नै पोखरा महानगरपालिका कार्यालयकोे शुक्रबारको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएसंगै मेयर जिसीले आज बिहान ८ बजे पत्रकर सम्मेलन गरी वडा अध्यक्षहरुले भने जस्तो असमान बजेट वितरण नभएको प्रष्ट पार्दै ताला खोलेर वार्तामा आउन आव्हान गरेका थिए । उनले भने “ म यो मेयरको कुर्सीमा बसे देखि कुनै पार्टीको लागि भनेर कसैलाई महत्व दिएर बजेट बढी विनियोजन गरेको छैन्, प्रथामिकता र जनसङख्याको आधारमा केही बजेट धेर थोरै भए होलान तर अझै पनि महत्वपूर्ण योजनाहरु छुटेको हकमा छलफल गरौं हामीले कसरी समेट् सकिन्छ त्यसमा महानगर तयार छ । ”

काँग्रेसका वडा अध्यक्षहरुले बजेट विनियोजनमा विभेद गरेको भन्दै बिहीबार मुल गेटमा दिन भर जसो तालाबन्दि गरि धर्ना दिएका थिए । बजेट पारित गर्ने समयमा केही दिन अघि काँग्रेस वडा अध्यक्षहरुले बजेट तथा कार्यक्रम समेटिएको रातो किताव च्यातेर बिरोध जनाएका थिए । केही वडा अध्यक्षले अपशव्द बोल्दै कुर्सी समेत फाल्दै नगर सभामा विरोध जनाएको महानगरको आरोप छ । पोखरा महानगरमा ३३ वटा वडाहरु रहेकाछन भने जस मध्य ११ जना काँंग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए भने बाँकी वडा अध्यक्ष नेकपा तर्फबाट निर्वाचित भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button