दीननाथ बराल, पोखरा न्यूज – २१, असार । भ्रष्टाचार विरुद्ध अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचार विरुद्धको अभियानमा एक हुन पोखरेलीहरुलाई आग्रह गरेका छन्।
भ्रष्टाचार र बेथिति न्यूनीकरणका लागि ‘नेपालका लागि नेपाली’ नागरिक अभियानले शनिबार पोखरामा आयोजना गरेको भ्रष्टाचारी विरुद्धको कार्यक्रममा बोल्दै भ्रष्टाचार बिरुद्ध अभियान्ता शाहीले देशका धेरै ठाउँमा भ्रष्टाचार मौलाएकोले त्यसको खुलेर विरोध गर्दै भ्रष्टाचार विरुद्ध सबै पोखरेली एक हुन आग्रह गरेका हुन्।
स्थानिय तह देखि प्रदेश हुदै केन्द्र सरकारसम्म भ्रष्टचार भएको दाबी गर्दै शाहीले अझै पनि भ्रष्टाचार विरोधी गतिविधिको विरोध नगर्ने हो भने देश झन कंगाल बन्ने दाबी गरे । सुखि नेपाली समृद्ध नेपाल बनाउने केपी शर्मा ओली सरकारले ल्याएको नाराले जनतालाई अनुभव हुने गरी खासै विकास गर्न नसकेको टिप्पणी गर्दै शाहीले जनताको आर्थिक भार बढेको अवस्थामा देशमा भ्रष्टाचार बढ्दै जादा देश भिखारी हुने अवस्थामा पुग्न लागेको जनाए ।
स्थानिय देखि प्रदेश सरकारमा बेरुजु र मोजमस्तीमा रकम दुरुपयोग भएको साहीको आरोप छ । स्थानिय तह देखि प्रदेश सरकारमा अरबौको बेरुजु भएको उनले बताए । बेरुजु एक प्रकारको भ्रष्टचार भएको बताउदै उनले कास्कीमा पोखरा महानगर सहितका ४ गाउँपालिकाको गरी ५७ करोड बेरुजु रहेको जनाए । पोखरा महानगरमा ४५ करोड ५० लाख बेरुजु रहेको उनले जनाए ।
त्यसै गरी गण्डकी प्रदेशमा १ अर्ब ७७ करोड बेरुजु रहेको बताउदै साहीले मोजमस्तीमा कास्कीको स्थानिय तहले १ करोड २८ हजार खर्च गरेको जनाए । प्रदेश सरकारमा भने १ अर्ब १५ करोड ४६ लाख ७५ हजार मोजमस्तीमा खर्च भएको जनाए । उनले भने “२०१४ सालमा फेवातालको नापी हुदा २२ हजार रोपनी, २०५७ मा नापी हुँदा ९ हजार ९ सय ५५ रोपनी भएको फेवाताल हाल ८ हजार ७ सय ८ रोपनी फेवाताल भएको भएकोले उक्त जग्गा कसले खायो त्यसको सम्पूर्ण विवरण पोखरेलीले माग्नसक्नु पर्छ । ”फेवाताल र बेगनासताल विना पोखराको अस्तित्व नहुने बताउदै उनले पोखराका ताल राष्ट्रिय सम्पदा भएकाले तालकोे क्षेत्रफल घट्नु के माछाले जमिन खायो भनि प्रति प्रश्न गरे ।
भ्रष्टाचार विरुद्ध अभियानका अभियान्ता बालकृष्ण न्यौपानेले काँगेस, एमालेको भ्रष्टाचार अभियानमा माओवादीले पछिल्लो क्रममा साथ दिदा देशमा भ्रष्टाचार थप मौलाएको आरोप लगाए । सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पक्ति छानविन गर्नुपर्ने उनले माग गरे । दुधको साची बिरोलो नहुने गरी उच्च स्तरिय आयोग गठन गर्नुपर्ने न्यौपानेले जोड दिए । गण्डकी मेडिकल कलेज पोखराका एक विद्यार्थी परिवर्तन भाटले देशमा अझै मेडिकल माफियाहरु रहेको दाबी गर्दै जिएमसीमा भएको सहमतीलाई अझै कार्यन्वयन नभएकोमा गुनासो गरे ।
भ्रष्टाचार विरुद्ध अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारी, जिता बराल, नेपालका लागि नेपाली कास्कीका संयोजक नारायणहरी तिवारी, सहसंयोजक ठाकुर बराल, सचिव नरेन्द्र गुरुङ लगायतले देशमा भएको भ्रष्टचारले गर्दा आम जनताले अत्यावश्यक सेवा सुविधा पनि प्रयोग गर्न नपाएको ठोकुवा गरेका थिए । पोखराको मानवअधिकार चोकमा संचालन भएको विरोध कार्यक्रम संचालनकै क्रममा बिद्युत लाइन काटिएको आयोजकले जनाएको छ ।