तनहुँको सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाइने

सानेबहादुर नेपाली, पोखरा न्यूज – २१, असार । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित तीन सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउन लागिएको छ । डिभिजन वन कार्यालय तनहुँले मल्याङ, कवादी र सालडाँडा सामुदायिक वन क्षेत्रलाई समेटदै तेजपातको पकेट क्षेत्र बनाउन लागेको हो ।

बिना लगानी, थोरै मेहनत र छोटो अवधिमा राम्रो आम्दानी हुने भएकोले सामुदायिक वनलाई सवल र आत्मनिर्भर बनाउने उद्देश्यले यस क्षेत्रमा खाली रहेको जग्गामा तेजपात रोपेर पकेटक्षेत्र बनाउन लागिएको डिभिजन वन कार्यालय तनहुँका सहायक अधिकृत बाबुराम उप्रेतीले बताए ।

गत वर्ष ११ हेक्टर क्षेत्रफलमा १७ हजार पाँच सय तेजपातको बिरुवा रोपिसकिएको डिभिजन वनका सहायक अधिकृत उप्रेतीले जानकारी दिए । “तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप यसवर्ष १० हेक्टर क्षेत्रफलमा १६ हजार बिरुवा लगाउने योजना रहेको छ”, उहाँले भने । तेजपातबाट हुने आम्दानी तीन वटै सामुदायिक वनले उपभोग गदै शतप्रतिशत आयआर्जन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

वन कार्यालयले आफ्नै नर्सरीमा तयार गरेको तेजपातको बिरुवा सामुदायिक वनलाई प्रदान गरेको छ । साथै त्यसको उचित संरक्षण र संवद्र्धन गर्ने अधिकार पनि सामुदायिक वनलाई नै प्रदान गरिएको छ ।

एउटा तेजपातको बिरुवाको बजार मूल्य रु १० पर्ने भए पनि डिभिजनले निःशुल्क रुपमा उपलव्ध गराएको छ । उत्पादन भएका तेजपातको कच्चा पदार्थलाई प्रशोधन गर्न शुक्लागण्डकी नगरपालिकामा रु २० लाखको लागतमा ‘प्रोसेसिङ युनिट मेसिन’ ल्याएर जडान गर्ने काम शुरु भइरहेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

तीनदेखि चार वर्षको अवधिमा तेजपातको उत्पादन हुने भएकाले यसको कच्चा पदार्थ प्रशोधनको लागि नगरपालिकास्थित कृषि सहकारी संस्थाले चासो देखाएको वन कार्यालयले जनाएको छ ।

उक्त सहकारीले समेत व्यावसायिक रुपमा तेजपात लगाएको छ । डिभिजन प्रमुख बरालका अनुसार सहकारी र सामुदायिक वनमा उत्पादन भएको तेजपात किनेर ‘प्लान्ट’ निर्माण गर्ने योजना बनाएको छ । प्रशोधित तेजपात जर्मन, इटली र स्वदेशका विभिन्न जडीबुटी कम्पनीमा माग रहेकोले बिक्रीको चिन्ता नरहेको बताइएको छ । साथै सहज रुपमा बाह्य मुलुकमा समेत निर्यात गर्न सकिने व्यवस्था गरिने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button