बाँझो जमीनमा व्यावसायिक टिमुर खेती गर्दै बागलुङका युवा

पोखरा न्यूज – २३, असार ।  बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक रूपले टिमुर खेती गर्न थालेका छन् । बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा लगाएका हुन् ।

मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकाले व्यावसायिक रूपले खेती गरिएको स्थानीय युवा कृषक राजु शाहीले बताए । पहिलो चरणमा झण्डै एक रोपनी जमीनमा टिमुरका बिरुवा लगाइएको छ । थोरै लगानी र कम मेहिनतले राम्रो आम्दानी हुने देखेर उक्त खेती गरिएको उनले जानकारी दिए  ।

विभिन्न पेशा व्यवसायमा रहेका पाँच युवाले समूह बनाएर अमलाचौरको ढाँडबाट बसाइ सरेर जानेहरुले छोडेको बाँझो जग्गाको सदुपयोग गर्न थालेका हुन् । “बाँझो जग्गाको सदुपयोग हुने र उत्पादन लागतसमेत कम हुने भएकाले टिमुर खेती थालेका हौँ कृषक शाहीले भने, “केही वर्ष मेहिनत गर्न सके टिमुरले राम्रो आम्दानी दिन्छ । अहिले लगाइएका बिरुवा हुर्किन थालेपछि आसपासमा रहेका थप जमीनमा टिमुर लगाउने योजना बनाएका छौँ ।”

समुन्द्री सतहबाट १००० देखि २५०० मिटर सम्मको उचाइमा टिमुरको खेती गर्न सकिने कृषि विज्ञहरुले बताएका र अमलाचौरको ढाँड हजार २०० मिटरभन्दा माथि रहेकाले टिमुरको उत्पादन राम्रो हुने अर्का युवा कृषक कृष्ण अँखेलीले बताए। स्याङ्जामा उत्पादन भएका उन्नत जातको टिमुरका बिरुवा गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको हो । ‘‘हामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिरुवामा सघाएको छ” अँखेलीले भने, “अर्को वर्ष थप जमीनमा टिमुर खेती विस्तारका लागि आफैँबिरुवा उत्पादन गर्ने योजना बनाएका छौँ ।”

उक्त बिरुवा लगाएको चारदेखि पाँच वर्षमा फल दिन थाल्छ । एक एक याममा एउटै बोटमा १५ देखि २० किलो ग्रामसम्म टिमुर फाउन सकिने अँखेली बताउछन् । एक किलोग्राम टिमुरको बजार मूल्य रू दुई हजार ३०० देखि दुई हजार ५०० सम्म रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button