विजयपुरको डाइभर्सन बाढीले बगाउदा पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य प्रभावित !

दीननाथ बराल, पोखरा न्यूज – २३, असार ।  पोखराको विजयपुर खोलामा अस्थायी रुपमा संचालनमा ल्याइएको डाइभर्सन पुल नै बाढीले बगाए पछि निर्माणधीनपोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको काम प्रभावित हुने भएको छ ।

मालवाहक सामान बोकेका गाडी पोखरा भित्रिने एकमात्र विजयपुरको डाइभर्सन पुल नै बगाए पछि हाल पोखरा विमानस्थलको निर्माण कार्यलाई प्रत्यक्ष रुपमा असर पर्ने भएको चाईनिज सि.ए.एम.सी. कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले बताए । राष्ट्रिय गौरवको आयोजना पोखरा विमानस्थलको निर्माण कार्यले तीव्रता पाएको बेलामा हाल विभिन्न संरचनाको फाउण्डेसन निर्माण तथा स्टील संरचना निर्माणको क्रममा हाल चाइनाबाट पोखरा आउदै गरेका करिब ४० वटा गाडीको सामान बाटोमै रोकिन पुगेमा आफुहरुको काममा प्रभाव पर्ने भएको उनले बताएका हुन्।

उनले भने “पहिलाका डाइभर्सन निर्माण गर्दा पनि हामीले विभिन्न इकुपमेन्ट सहितको जनशक्ति परिचालन गरेका थियौं, यस पाली हामीले आजै सोमबारबाटै डाइभर्सन निर्माणमा लागेका छौं, १ लोडर र दुइ वटा टिप्पर पठाएका छौं, थप सहयोग आवश्यक परेमा हामी तयार छौं । ”

आइतबार राति गण्डकी प्रदेशको राजधानि पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायी रूपमा करिब ३ महिना संचालनमा ल्याएको डाइभर्सन गएराति बाढीले बगाए पछि हाल १० टन भन्दा बढी भारवान क्षेमताका ट्रक सहितका गाडीहरु हाल सडकमै अलपत्र अवस्थामा रहेका छन्। गाडीका मजदुरहरुले पिउने पानीदेखि खाना र दिशा पिसाप फेर्न समेत समस्या रहेको गुनासो गरेका छन्।

समयमै स्थायी पुल बन्न नसक्दा पटक पटक डाइभर्सन पुलमा पानीको बहाव बढ्न साथ रोकिनु पर्ने भएकोले गर्दा आफुहरु धेरै पटक रोकिनु परेको एक चालक राम निवास सिंहले बताए । सर्लाहीबाट हिम पाइप बोकेर मुस्ताङका लागि ल्याउदै गरेका अरुण कुमार थारु, पोखरा विमानस्थलको लागि सिमेन्ट ल्याएका सहदेव थापा लगायले सोमबार खाना खान र दिशा पिसाप गर्न पनि आफुहरुलाई कठिन भएको गुनासो गरे । सिहंले बिहानको खानाको रुपमा स्थानिय एक पसलमा चाउमिन खाएको गुनासो गरे ।

 

डाइर्भसन बाढीले बगाउँदा पोखरा हुदै स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लामा जाने मालबाहक ट्रकको लाइन गगनगौडमा रहेको छ । पृथ्बी राजमार्गमा पर्ने विजयपुरको पुलको विकल्पमा बेलिब्रिज पुल समयमै निर्माण हुन नसक्दा जनतालाई सास्ती भोग्नु परेको स्थानियले गुनासो गरेकाछन्। करिब दुई सय भन्दा बढी मालवहाक सवारी साधनहरु पोखराको गगनगौडा, तालचोक, विजयपुर लगायतका ठाँउमा रहेका छन्।

डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरी पोख्रेलले हालै अस्थायी रुपमा निर्माण गरेको विजयपुरको डाइभर्सन खोलाले बगाएकोले पुन डाइभर्सन बनाउन कम्तिमा ३/४ दिन लाग्ने बताएका छन्। उनले भने “हामीले सम्भवत मंगलबार बिहानै देखि डाइभर्सनको काम सुरु गर्छौ, मौसमले साथ दिएमा करिब ४ दिन भित्रमा हामीले पहिलाकै अवस्थमा अस्थायी पुल(डाइभर्सन) बनाउन सक्छौं । ”पहिला ७ रो मा ३५ वटा हिम पाइप प्रयोग गरिएको बताएका उनले यसपाली केही रो बढाएर केही हिम पाइप समेत बढाउनु पर्ने जनाए ।

करिब एक दशक अघि निर्माण गरिएको पक्की मोटरेबल पुलको स्टिल बीम करिब ३ महिना अघि चर्केको थाहा भएपछि उक्त पुलमा जोखिमलाई मध्यनजर गरी १० टन भारवान क्षमतका गाडीहरु संचालनमा रोक लगाइएको हो । पोखरा विमानस्थल निर्माणको जिम्मा पाएको चाइनाको सि.ए.एम.सी. कम्पनि, सडक डिभिजन कार्यालय पोखराले अस्थायी डाइभर्सन बनाएका थिए । पुलमा डाइभर्सन खोलाले बगाए पछि केही हिम पाइपहरु करिब एक सय मिटर भन्दा तलसम्म पुर्याएको छ ।

आइतबार बेलुका पानी परेकोले जोखिमलाई मध्यनजर गरी आफुहरुले विजयपुर खोलाको डाइभर्सन हुँदै जाने १० टन भन्दा धेरै भारवानका सवारी साधनहरुलाई गगनगौडामै रोकेको प्रहरी सहायक निरिक्षक तिर्थराज पौडेलले बताए । उनका अनुसार गगनगौडामा ७ टन भन्दा माथिका प्रायः ट्रक सहितका बढी भारवान क्षमताका सवारी साधनलाई रोकिएको छ ।

करिब ७ टन सम्मका सवारी साधनहरुलाई पट्नेरी-बागमारा हुदै अर्को बाटोबाट पोखराको मुख्य बजार तर्फ पठाइएको उनले बताए । विजयपुरको मोटरेबल पुलमा विगत ३ महिना देखि खाली ट्रक पनि संचालनमा रोक लगाएकोले उनीहरुको लागि डाइभर्सनबाटै वार पार गर्ने गरेको प्रहरी सहायक निरिक्षक पौडेलले जनाए । अत्यावसेक र तत्काल विग्रन सक्ने बस्तु तथा सेवाको लागि अन्य सवारी साधनहरुमा प्रयोग गरेर ब्याबस्थापन गर्ने तर्फ आफुहरुले सहयोग गरेको उनले जनाए ।

बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको ठेक्दार कम्पनीका उद्धव राईले बताए । जाली बुन्दै बिचमा आसिसि ढलान गर्नुपर्ने भएकोले निर्माणको काम केही ढिलो हुन पुगेको उनले जनाए । गत बैशाख २४ गते एक महिनामा उक्त पुल निमार्ण सक्ने गरी सम्झौता भए पनि प्राविधिक रुपमा एक महिनामा नसकिने दाबी गर्दैै उनले अबको दुई साता भित्रमा पुल निर्माण गर्ने दाबी गरे ।

बेलिब्रिज पुलको लागि प्रयोग हुने स्टील संरचनाहरु आइ सकेको उनले जनाए । करिब दुई करोड ३० लाखको लागतमा बेलिब्रिज पुल निर्माण हुन लागेको होे । सब इञ्जिनीयर किरण सुवेदीले बेलिब्रिजको काम ढिलो भएकोले् डाइभर्सन पटक पटक बनाउनु परेको जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button