पोखरामा विज्ञहरुको भनाइ: स्वास्थ्य सेवा प्रभावकारी भएन

दीननाथ बराल, पोखरा न्यूज – २४, असार । मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा हाल प्रभावकारी नभएको विज्ञहरुले सुझाव दिएका छन्। कर्मचारी र स्रोत व्यवस्थापन उचित ढंगले नहुँदा मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा प्रभावकारी नभएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा विज्ञहरुले सुझाव दिएका हुन्।

स्कुल हेल्थ एण्ड अलाइड साइन्सेस र स्वास्थ्य विज्ञान संकाय, पोखरा विश्वविद्यालयको संयुक्त आयोजना र विश्वविद्यालय अनुदान आयोगको आशिंक वित्तिय सहयोगमा संचालन भएको दुई दिने कार्यक्रम पश्चात आयोजित पत्रकार सम्मेलनमा विज्ञहरुले देश संघियतामा गएसंगै स्वास्थ्य सेवा कुन सरकार कस्तो भुमिका खेल्ने भन्ने बिषयमा प्रष्ट नभएकोले गर्दा हाल स्वास्थ्य सेवा जनताको पहुचबाट टाडा हुदै गएको विज्ञहरुको भनाई थियो ।

स्वास्थ्य सम्बन्धि दिगो विकास लक्ष्य सम्बन्धमा संघिय स्वास्थ्य प्रणालीको पुन:संरचनाको आवश्यकता सम्बन्धि राष्ट्रिय स्वास्थ्य सम्मेलनको समापनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटिका अध्यक्ष सह प्राध्यापक डा. डमरु प्रसाद पनेरुले देशमा स्वास्थ्य सेवा हाल कमजोर हुदै गएको दाबी गरेका हुन्। स्वास्थ्यमा गुणस्तरिय सेवा आवश्यक भएको बताउदै उनले स्वास्थ्यमा लगानी गर्न आवश्यक भएको जनाए ।

सह प्राध्यापक डा.पनेरुले देशको क्षेत्र र भेगमा फरक फरक स्वास्थ्य सम्बन्धि सेवा आवश्यक भएको बताए । हाल जनतशक्ति अभावमा जनताले मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा सहज ढंगले प्रयोग गर्न नपाएको दाबी गरे । सदस्य सचिव सह-प्राध्यापक डा. दीपेन्द्रकुमार यादवले स्वास्थ्य बिमा संचालन भएका स्थानहरुमा जनतालाई सहज ढंगले सेवा प्रदान नभएको गुनासो आएकोले त्यसको नियमन गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य विमा हाल देशका ५१ जिल्लामा पुगेको र करिब १२ प्रतिशत जसो जनता यसबाट लाभान्वित भएको उनले जनाए ।

सह प्राध्यापक डा. तुल्सीराम भण्डारीले कर्मचारी व्यवस्थापन र स्थानिय, प्रदेश र संघिय सरकारले स्वास्थ्य सेवामा के कस्तो भूमिका हुने बारे प्रष्ट नभएकाले हाल जनताले उक्त सेवा प्रभावकारी ढंगले लिन नपाएको बताए । केही स्थानिय सरकारले चाहेर पनि निती नियम बनाउन नसकेको र साधन स्रोत पनि कमी भएको उनले जनाए । स्वास्थ्य विमा कार्यक्रम पनि हाल प्रभावकारी हुन नसकेको सह प्राध्यापक डा. भण्डारीले बताए ।

डा. दीपेन्द्र प्रसाद यादवले २०३० मा दिगो लक्ष्य प्राप्तीको लागि सबै नेपालीलाई स्वास्थ्य सेवाको पहुच पुर्याउने सरकारको लक्ष्यलाई सवै क्षेत्रबाट सहयोग आवश्यक भएको बताए । स्वास्थ्य विमा व्यवस्थापनि कमजोरले गर्दा केही असन्तुष्टि रहेको उनले जनाए । नन्दराम गहतराजले स्वास्थ्य विमा हाल ८० प्रतिशत जसोले राम्रो प्रक्रिया दिएको र बाँकी २० प्रतिशतले भने झनझटीलो, पुन नविकरण गर्न नमान्ने गरेको जनाए ।

कार्यक्रममा ७ जना विज्ञहरुले नसर्ने रोग, सरुवा रोग, मातृशिशु स्वास्थ्य र पोषण र स्वास्थ्य विमा जस्ता स्वास्थ्य अनुसन्धानका मुख्य बिषयमा आ-आफ्नो प्रस्तुती राखेका थिए । जनस्वास्थ्यका प्राध्यापक डा.शरदराज वन्तले विश्व कार्ययोजना स्वास्थ्य सम्बन्धि दिगो विकास लक्ष्य प्राप्तीको मार्ग, प्रा.डा.राजेन्द्र कुमार बि.सी.ले तथ्य निर्माण प्रणाली र स्वास्थ्य सम्बन्धि दिगो विकास लक्ष्य जस्ता बिषयहरुमा प्रस्तुती राखेका थिए ।

त्यसै गरी कार्यक्रममा सह प्राध्यापक राजेन्द्र कार्की, प्रा.डा. सुजन बाबु मरहट्टा, खिम बहादुर खड्का, सह प्राध्यापक डा. उमाशंकर प्रसाद लगायतले आ-आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रममा जनस्वास्थ्यका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारी, स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरु सहित एक सय ६० जनाको सहभागिता रहेको उपप्राध्यापक चिरिन्जिबी अधिकारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button