बाढीले बगाएको पोखरा विजयपुरको डाइभर्सन पुनः निर्माण

दीननाथ बराल,  पोखरा न्यूज – २४, असार । पोखराको विजयपुर खोलामा अस्थायी डाइभर्सन पुल पुनः निर्माण गरिएको छ । खोलाले बगाएको डाइभर्सन पुल चाइनाको सि.ए.एम.सी. कम्पनि र सडक डिभिजन कार्यालय पोखराले निर्माण गरेसंगै आज (मंगलबार) बेलुका करिब ९ बजे भित्र उक्त डाइभर्सन पुल पुनः संचालनमा आउने भएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि पोख्रेलले बताए ।

पहिलाको डाइभर्सनमा ७ रो मा हिम पाइप राखेर अस्थायी पुल निमार्ण गरिएकोमा हाल ९ रोलमा ३६ वटा हिम पाइप प्रयोग गरिएको उनले बताए । उनले भने “बाढीसंग हामीले के नै गर्न सक्छौं र तर पनि पहिलाको भन्दा अहिले केही मजबुद अस्थायी डाइभर्सन पुल निर्माण भएको छ भन्ने हामीलाई लागेको छ ।” सोमबार साँझबाट डाइभर्सन निर्माणमा सि.ए.एम.सी. कम्पनि र सडक डिभिजन कार्यालयको टोलीले जुटेको थियो । उक्त डाइभर्सन निर्माण गर्न सि.ए.एम.सी कम्पनीबाट ३० ट्रक भन्दा बढी ढुंगा तथा माटो, लोडर, रोलर लगायतको सहयोग गरेको थियो भने सडक डिभिजन कार्यालयबाट स्काभेटर, प्राविधिक सहितको टोली खटिएको थियो ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले आज साँझ  बाढीले बगाएको डाइभर्सन पुलको दृश्यावलोकन गर्दै तत्काल उक्त पुल निर्माण गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका थिए । गण्डकी प्रदेशको राजधानि पोखराको मुख्य बजार क्षेत्रको प्रवेशद्धरमा मोटरेबल पुल चर्केकोले १० टन भारवान क्षमताका मालवाहक सवारी साधनहलाई रोक लगाएकोले गर्दा अस्थायी विकल्प डाइभर्सन पुल भएकोले उक्त पुल निमार्णमा मुख्यमन्त्री गुरुङले निर्देशन दिएका हुन्।

डाइभर्सन नै पानीको बहावले बगाउदा निर्माण हुदै गरेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको काम केही प्रभावित भएको चाईनिज सि.ए.एम.सी. कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले बताए । राष्ट्रिय गौरवको आयोजना पोखरा विमानस्थलको निर्माण कार्यले तीव्रता पाएको बेलामा हाल विभिन्न संरचनाको फाउण्डेसन निर्माण तथा स्टील संरचना निर्माणको क्रममा हाल चाइना सहित विभिन्न ठाउँबाट पोखरा आउदै गरेका करिब ४० वटा गाडीको सामान बाटोमै रोकिन पुगेमा आफुहरुको काममा प्रभाव असर परेको उनले गुनासो गरे ।

१० टन भारवान क्षमताका मालवाहक सवारी साधनहरु गगनगौडा क्षेत्रमा लाईन लगाएर बसेका थिए । गाडीका मजदुरहरुले खानपिन तथा दिशा तथा पिसाप फेर्न समेत कठिन भएको गुनासो गरेका थिए । आइतबार बेलुका पानी परेकोले जोखिमलाई मध्यनजर गरी आफुहरुले विजयपुर खोलाको डाइभर्सन हुँदै जाने १० टन भन्दा धेरै भारवानका सवारी साधनहरुलाई गगनगौडामै रोकेको प्रहरी सहायक निरिक्षक तिर्थराज पौडेलले बताए । उनका अनुसार गगनगौडामा ७ टन भन्दा माथिका प्रायः ट्रक सहितका बढी भारवान क्षमताका सवारी साधनलाई रोकिएको छ । करिब ७ टन सम्मका सवारी साधनहरुलाई पट्नेरी-बागमारा हुदै अर्को बाटोबाट पोखराको मुख्य बजार तर्फ पठाइएको उनले बताए ।

विजयपुरको मोटरेबल पुलमा विगत ३ महिनादेखि खाली ट्रक पनि संचालनमा रोक लगाएकोले उनीहरुको लागि डाइभर्सनबाटै वारपार गर्ने गरेको प्रहरी सहायक निरिक्षक पौडेलले जनाए । अत्यावश्यक र तत्काल विग्रन सक्ने बस्तु तथा सेवाको लागि अन्य सवारी साधनहरुमा प्रयोग गरेर ब्यावस्थापन गर्ने तर्फ आफुहरुले सहयोग गरेको उनले जनाए । गण्डकी प्रदेशको राजधानि पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायी रूपमा करिब ३ महिना संचालनमा ल्याएको डाइभर्सन आइतबार राति बाढीले बगाए पछि १० टन भन्दा बढी भारवान क्षेमताका ट्रक सहितका गाडीहरु तीन दिन देखि सडकमै अलपत्र अबस्थामा रहेका थिए ।

करिब एक दशक अघि निर्माण गरिएको पक्की मोटरेबल पुलको स्टिल बीम करिब ३ महिना अघि चर्केको थाहा भए पछि पुलमा जोखिमलाई मध्यनजर गरी १० टन भारवान क्षमतका गाडीहरु संचालनमा रोक लगाइएको हो । डाइर्भसन बाढीले बगाउँदा पोखरा हुदै स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लामा जाने मालबाहक ट्रकको लाइन गगनगौडमा रहेका थिए । बर्षादको समय भएकाले सवारी साधन चलाउदा रातिको समयमा विशेष ख्याल गर्न सडक डिभिजनका सव-इञ्जिनीयर किरण सुवेदीले आग्रह गरेका छन्।

बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको ठेक्दार कम्पनीका उद्धव राईले बताए । जाली बुन्दै बिचमा आरसिसि ढलान गर्नुपर्ने भएकोले निर्माणको काम केही ढिलो हुन पुगेको उनले जनाए । गत वैशाख २४ गते एक महिनामा उक्त पुल निमार्ण सक्ने गरी सम्झौता भए पनि प्राविधिक रुपमा एक महिनामा नसकिने दाबी गर्दैै उनले अबको दुई साता भित्रमा पुल निर्माण गर्ने दाबी गरे । बेलिब्रिज पुलको लागि प्रयोग हुने स्टील संरचनाहरु आइ सकेको उनले जनाए । करिब दुई करोड ३० लाखको लागतमा उक्त पुल निर्माण हुन लागेको होे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button