गण्डकी प्रदेशका पदक विजेता खेलाडीलाई शुक्रबार पोखरामा सम्मान गरिने 

दीननाथ बराल, पोखरा न्यूज – २५, असार । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी भइ पदक विजेता खेलाडी एवं प्रशिक्षकहरुलाई गण्डकी प्रदेश सरकारले नगद पुरस्कार सहितको सम्मान गर्ने भएको छ । शुक्रबार साँझ पोखरा रंगशालामा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिने भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

उनका अनुसार आठौं खेलकुदमा प्रदेशबाट सहभागि भएर स्वर्ण पदक दिलाउनेलाई जनही १० हजार, रजत पदक दिलाउनेलाई जनही ७ हजार र कास्य पदक दिलाउनेलाई जनही ५ हजारका दरले रकम सहित सम्मान गरिने भएको छ । आठौं खेलकुदमा गण्डकी प्रदेशका ४० जनाले एकल तथा समुहमा गरी स्वर्ण पदक जितेका थिए । त्यसै गरी रजत पदक ५७ जनाले र एक सय ६ जनाले कास्य पदक जितेका थिए । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङ सहितको टोलीले खेलाडीहरुलाई सम्मान गर्ने भएको उनले जनाए ।

आठौं खेलकुदमा सहभागि खेलाडी, अफिसियल, प्रशिक्षक सबैलाई एकै थलोमा भेला गराई सम्मान गरिने भएको अध्यक्ष श्रेष्ठले जनाए । उक्त कार्यक्रम सम्पन्न गर्न करिब १८ लाख ५० हजार खर्च लाग्ने उनले जनाए । आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश पाचौं तथा प्रदेशमा दोस्रो भएको थियो । पुरुष ह्याण्डबलको टीमले टिम इभेन्टमा प्रदेशमै पहिलो पटक समुह तर्फ स्वर्ण पदक दिलाएको हो । टिम इभेन्टमा अधिकाशं विभागिय टोलीले बाजी मारेका हुन् । नेपालगन्जमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशलाई पदक दिलाउने खेलाडीहरुको पुरस्कार स्वरुप प्रदेश सरकारले ११ लाख ८५ हजार रुपैया सहयोग उपलब्ध गराएको छ ।

यसैबिच, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा बिहिबारदेखि पोखरा रंगशालामा ११ औं गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा ११ जिल्लाका करिब ९ सय भन्दा बढी खेलाडीहरु सहभागि हुने भएको समितिका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा तेक्वान्दो, कराँते, उसु, कवड्डी, भलिबल र एथ्लेटिक्स तर्फको प्रतिस्पर्धा हुने भएको छ । प्रदेशमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक सय ६ जना खेलाडीहरु यही असार २८ गते राष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि काठमाण्डौं प्रस्थान गर्ने भएका छन्। उक्त छनौट सहितको प्रतियोगिता सम्पन्न गर्न २९ लाख बजेट रहेको समितिले जनाएको छ । उक्त प्रतियोगिताको उद्घाटन विहिबार विहान गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button