पोखराको लेकसाइडमा रातो प्लेटका सवारी साधन नियम विपरित भाडामा लगाइदै

दीननाथ बराल, पोखरा न्यूज – २५, असार । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा रातो प्लेडका मोटरसाइकल तथा स्कुटर नियम विपरित भाडामा संचालन हुदै आएका छन् । रातो प्लेटका कुनै पनि सवारी साधनहरु भाडामा लगायर व्यवसाय संचालन गर्न नपाउने प्रावधान हुँदा हुदै विगत तीन दशकभन्दा बढी समयदेखि पोखरामा यसरी व्यवसाय संचालन गरिदै आएको पाइएको छ  ।

पर्यटकको आवश्यकताको आधारमा आफुहरुले रातो प्लेटकै मोटरसाइकल तथा स्कुटर भाडामा संचालन गर्दै आएको व्यवसायीहरुले नै बताएका छन्। पोखरामा एक व्यवसायी पोखरा रेन्ट बाईक प्रा.लिले दर्ता गरेर र अन्य करिब २ सयको हाराहारीमा व्यवसायीहरुले  करिब एक हजार मोटरसाइकल तथा स्कुटर भाडामा लगाउदै आएका छन्। हालसम्म नत यसको कुनै निकायले तथ्याङक लिएको छ नत यहाँको कुनै निकायले यसलाई व्यवस्थित वा संचालनमा रोक नै लगाउन सकेको छ ।

विगत १८ बर्ष देखि बाइक भाडामा लगाइ व्यवसाय संचालन गर्दै आएका कृष्ण सुवेदीले हाल हल्लनचोकमा ८ वटा बाईक तथा स्कुटर भाडामा संचालन गर्दै आएका छन्। राज्य निश्चित मापदण्ड पुरा गरेर आफुहरुले विगतका बर्षदेखि गर्दै आएको व्यवसाय संचालन गर्ने वातावरण मिलाउन उनले आग्रह गरे । पोखरामा विगत ३५ बर्ष देखि भाडामा रातो प्लेटका मोटरसाइकल तथा स्कुटर संचालन हुदै आएको पोखरा लेकसाइड स्थित हल्लनचोकका एक व्यवसायी इन्द्रमान चौहानले बताए ।

उनले भने “यसलाई नत सरकारले व्यवस्थित पार्न सक्छ नत व्यवसायीहरुले नै व्यवस्थित पार्न सकेका छन्, मैले थाहा पाएको ३५/३६ बर्ष अघि देखि पोखरामा भाडामा मोटरसाइकल तथा स्कुटर संचालन हुदै आएकाछन् ।” विदेशका धेरै पर्यटकीय स्थलहरुमा पर्यटकहरुको घुमघामको लागि भाडामा सवारी साधनहरु पाउने भएकोले पोखरामा पनि यसको उचित व्यवस्था गरेर राज्यले आफुहरुसंग निश्चित कर संकलन गर्ने वातावरण मिलाउन  व्यवसायी चौहानले आग्रह गरे ।

सरकारले नियमन पनि गर्न नसक्ने व्यवसायीले पनि सधै त्रासमा व्यवसाय गर्दा हाल बार्षिक करिब ५० लाख भन्दा बढी राजश्व गुमेको उनको भनाई थियो । स्थानिय र प्रदेश सरकारले यसलाई नियमन गरेको खण्डमा आफुहरुले उचित कर तिर्न तयार रहेको चौहानले जनाए ।

बाइक भाडामा लगाउने उद्धेश्यले पोखराको हल्लनचोकमा रहेको पोखरा बाइक रेन्ट प्रालिले २०७४ मा पोखरा महानगरपालिका तथा कम्पनि रजिष्टार कार्यालयबाट अनुमति लिए पनि उक्त प्रा.लि.ले समेत निर्वात रुपमा पोखरामा भाडामा सवारी साधनहरु लगाउन नपाएको प्रा.लि.का संचालक सन्देश रानाभाटले बताए । रानाभाटका बाबु दलबहादुर रानाभाटले आफुहरुले सम्बन्धित निकायमा दर्ता गरी केही रकम राज्यलाई कर बुझाएर व्यवसाय गरौं भन्दा पनि राज्य पक्ष, ट्राफिक प्रहरीले पटक पटक दुःख, कस्ट र जरीवाना गराउने गरेको जनाए ।

उनले भने “पोखरामा मैले विगत ८/१० बर्ष देखि विना दर्ता मोटरसाइकल तथा स्कुटर भाडामा लगाउदै आएको थिए तर अब त राज्यलाई कर तिर्नुपर्छ भनेर दर्ता गरेर व्यवसाय संचालन गर्दा पनि अझै प्रहरी प्रशासनको त्रास खेप्नु पर्छ । ” दर्ता गरेर पनि  प्रहरी प्रशासनको डर धम्की खेप्नु भन्दा दर्ता विना नै संचालन गरेको भए आफ्नो बार्षिक करिब ५०/६० हजार बचत हुने उनले जनाए । राज्यले आफ्नो व्यवसायलाई अझ राम्रोसंग नियमन गरी कर संकलन गर्ने एउटा निती ल्याउनु पर्ने उनको माग थियो ।

ट्राफिक प्रहरीले पोखरा महानगर र कम्पनि रजिष्टारको कार्यालयबाट मान्यता प्राप्त पत्र देखाउदा पनि माथिको आदेश भन्दै  एक पटकमा ५ सय रुपैया जरिवाना गर्ने गरेको दलबहादुरले पोखरा न्यूजलाइ बताए । आगन्तुक पाहुना स्वदेशी तथा विदेशीको हकमा उनीहरुको लाइसेन्स लियर मात्र उनीहरुलाई प्रति घण्टा देखि केही दिनसम्मको लागि भाडामा लागाउदै आएको उनले जनाए । प्रति घण्टा २ सय देखि ३ सय ५०, प्रति दिनको ८ सय देखि २ हजार रुपैयासम्म मोटरसाइकल तथा स्कुटरको भाडा लिने गरेको दलबहादुरले बताए । उनको कम्पनीमा हाल ५ वटा स्कुटर, २ पल्सर र ३ बुलेट मोटरसाइकल रहेको उनले जनाए ।

मोटरसाईकल तथा स्कुटर भाडामा लगाउने सिस्टम पर्यटकीय धेरै देशहरुमा लागु भएकोले गर्दा पोखरा आउने पर्यटकहरुलाई पनि हामीले उक्त सेवा उपलब्ध गराउने उद्धेश्ययले राज्यले अनुमति नदिए पनि आफुहरुले जेनतेन संचालन गर्दै आएको एक व्यवसायी बताए । उनले भने “हामीले बाइक भाडामा संचालनको लागि यातायात मन्त्रालयसम्म फाइल पेश गरेका छौं, हामीले राज्यलाई कर तिर्न तयार छौं, राज्यले यसलाई नियमन गर्नु पर्यो । ”सानो सवारी साधन पर्यटकहरुको लागि अति आवश्यक भएको उनले बताए । उनले भने “विहान पर्यटकलाई बाइक लियर गए पछि कुनै पनि समयमा हामीलाई प्रहरीबाट फोन आउन सक्छ हामीलाई एका तर्फ त्रास छ भने पर्यटकलाई समेत यसले असर पारेको छ । ”

यस बिषयमा कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्कीले कुनै पनि रातो प्लेटका सवारी साधनहरुले भाडामा लगायर व्यवसाय संचालन गर्न नहुने बताए । उनले भने “रातो प्लेटका सवारी साधनहरु यदि कसैले आफ्ना साथी भाइलाई केही समयको लागि चलाउन दिनु छुट्टै कुरा हो तर व्यवसायीक रुपमा रातो प्लेटका सवारी साधनहरु भाडामा लगाएको हामीले भेटेमा कारवाही गछौं । ”रातो प्लेटको सवारी साधन भाडमा संचालनको लागि कसैले अनुमति लिन र दिन नमिल्ने उनको भनाइ छ । प्रयोजन विपरित कसैले कुनै सवारी साधन प्रयोग गरे आफुहरुले कारवाही गर्ने एस.पी. कार्कीले चेतावनी दिएका छन्।

यसैबिच, पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले रातो प्लेटका कुनै पनि सवारी साधनहरुलाई भाडाको रुपमा प्रयोग गर्न नपाउने पोखरा न्यूजलाइ बताए। महानगरले नै बाइक भाडामा दिने गरी इजाजत पत्र दिएको छ त भन्ने हाम्रो प्रश्नमा प्रवक्ता नेपालीले यस बिषयमा कसैले दबाबमा परेर वा पारेर गरेको हुन सक्ने प्रतिक्रिया  दिदै त्यसको राम्रोसंग सोधपुछ गर्ने जनाए । यदि कसैले झुक्काएर वा पैसा खाएर पनि इजाजत दिएको भए दोषी उपर कारवाही गर्ने उनले जनाए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button