तनहुँको प्रसिद्ध तीर्थस्थल छाब्दीबाराही जाने बाटो कालोपत्रे गरिदै

कृष्ण न्यौपाने, पोखरा न्यूज – २५, असार । तीन तहको सरकारको लगानी रहेको छाब्दीमार्गमा कालोपत्रे गर्ने काम शुरु भएको छ । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग मङ्गलबारदेखि बाँकी खण्डमा कालोपत्रे शुरु भएको हो ।

ब्यास नगरपालिका–१ स्थित कुन्छालीगाउँदेखि ब्यास नगरपालिका–१२ भड्खालासम्मको आठ सय मिटर मार्गमा कालोपत्रेको काम शुरु भएको सडक उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिए । पण्डितका अनुसार छाब्दीमार्गलाई तीन खण्डमा विभाजन गरेर कालोपत्रेको थालिएको छ ।

कुन्छालीगाउँदेखि भड्खालासम्म पहिलो, भड्खालादेखि गौडापहरासम्म दोस्रो र गौडापहरादेखि छाब्दी मन्दिरसम्मको मार्गलाई तेस्रो खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा सङ्घीय, दोस्रो खण्डमा स्थानीय र तेस्रो खण्डमा प्रदेश सरकारको बजेट रहेको छ । पण्डितका अनुसार पहिलो खण्डमा सङ्घीय सरकारले रु एक करोड, दोस्रो खण्डमा ब्यास नगरपालिकाले रु दुई करोड र तेस्रो खण्डमा प्रदेश सरकारले रु एक करोड लगानी गरेको छ ।

“तीन तहको सरकारको लगानी रहेको यस मार्गको चार किलोमिटर कच्ची बाटो कालोपत्रे हुनेछ,” उनले भने, “एउटै सडकलाई तीन तहको सरकारले बजेट विनियोजन गर्नुले यो मार्गको महत्व र आवश्यकता प्रष्ट भएको छ ।”

ब्यास नगरपालिकाले यो मार्गलाई नगरस्तरीय मार्गको रुपमा छनोट गरी कालोपत्रेका लागि बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । सङ्घ र प्रदेश बजेटबाट कालोपत्रे हुने सडकको ठेक्का डायमण्ड कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ भने ब्यास नगरपालिकाको ठेक्का जिएस कन्स्ट्रक्सन प्राली दमौलीले पाएको छ । उक्त सडक कालोपत्रे नहुँदा वर्षायामको समयमा हिलो र हिउँदमा धुलोले सर्वसाधारण मर्कामा पर्दै आएका थिए । स्थानीयवासीले छाब्दी मार्ग कालोपत्रेका लागि जनप्रतिनिधिलाई पटक-पटक दबाब दिँदै आएका थिए ।

चुनावको समयमा नेताहरुले उक्त मार्ग कालोपत्रे गर्ने भन्दै मत माग्ने गरेको र अहिले कालोपत्रेको काम शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । स्थानीयवासी अमृत पन्थले घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने यस मार्गमा कालोपत्रे सम्पन्न भएपछि आवातजावत सहज हुने बताए । उनले भने, “प्रसिद्ध छाब्दीबाराहीमा दैनिक भक्तजनको भीड लाग्छ, बाटो कालोपत्रे नहुँदा भक्तजनलाई यात्रामा केही असहज स्थिति उत्पन्न भइरहेको थियो । अब भने सहज हुने विश्वास छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button