बागलुङ-बुर्तिवाङ सडक खण्डमा ठाउँ ठाउँमा पहिरो, यात्रामा सास्ती

पोखरा न्यूज – २७, असार ।  मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ सडकखण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ ।

बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा सडकबाट बगेर आएको बाढीका कारण लोकमार्गमा क्षति पुर्याउँदा आउजाउमा निकै सास्ती खेप्नुपरेको यात्रुले गुनासो गरेका छन् । लोकमार्गको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुरतुरे ताल नजिकै लोकमार्गमा सबैभन्दा ठूलो जोखिम रहेको छ ।

गत वर्षको भदौ २९ गते गएको सुक्खा पहिरो खस्दा बडिगाड खोला थुनिएर एक किलोमिटर ताल बनेको तुरतुरे ताल नजिकै लोकमार्गको करीब ५० मिटर सडक भासिएर चिराचिरा परेको छ । वैकल्पिक बाटोको व्यवस्था नहुँदा निकै जोखिम मोलेर यातायातका साधन चलाउँदै आएको चालक भरत गौतमले बताए ।

गौतमका अनुसार बागलुङ बजारदेखि झण्डै तीन घण्टामा बुर्तिवाङ पुग्न सकिनेमा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग सडकखण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको बडिगाड गाउँपालिका–७ खाल बजारका रवीन्द्र श्रेष्ठले बताए । “नाली बिनाको सडकले जम्मा गरेको भल सोझै लोकमार्ग हुँदै आउँछ”, श्रेष्ठले भने “सामान्य पानी जाने गरी लोकमार्गले सडकमुनि बनाएको संरचना पुरिएर लोकमार्गमा लेदो बग्छ ।” लोकमार्ग माथि खनेको सडकको लेदो भ्वाङ खोलाले बगाउँदा पकट–पटक लोकमार्ग अवरुद्ध हुँदै आएको छ भने तीन घरमा क्षति पुर्याएको छ ।

वर्षायाममा लोकमार्ग हुँदै बग्ने दर्जनौँ खोलाको उचित व्यवस्थापन नहुँदा लोकमार्ग नै जोखिममा परेको हो । भ्वाङ खोलाले ल्याएको बाढीले बडिगाड गाउँपालिका–६ खाल बजार नजिकैका तीन वटा घरमा क्षति पुर्या एकोे छ भने दर्जनौ पटक लोकमार्ग अवरुद्ध भएको छ । जेठ २८ गत बाढीका कारण क्षति पुर्याएको घर असार २३ गते आएको बाढीले थप क्षति पु¥याउँदा विस्थापित हुने अवस्थामा आएको पीडित गोठे सार्कीले बताउनुभयो ।

भ्वाङ् खोलो मात्र होइन, मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि बुर्तिवाङसम्म लोकमार्ग माथि खनिएका सडकको भलसँगै आएको लेदोले लोकमार्ग जोखिममा परेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।

राजमार्ग खुलाउने स्थानीय तहको काम नभए पनि यात्रुको सहजताका लागि पटक–पटक गाउँपालिकाको खर्चमा सडक खुलाउँदै आएको पाइजाको भनाइ छ । बागलुङ नगरपालिका–३ बोक्से, दुदिलाभाटी, तुरतुरे ताल वरपर, भ्वाङ खोला, रिघाको मनेवा पाटा, आँगा खेतलगायतका दर्जनौ  स्थानमा पहिरो जाँदा लोकमार्ग असुरक्षित भएको खाल बजारकी सुष्मा केसीले बताउनुभयो । वर्षात् शुरु भएसँगै मध्यपहाडी लोकमार्ग दर्जनौ पटक अवरुद्ध भइसकेको छ ।

बागलुङ बजारदेखि घोडा बाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेको सन्र्दभमा पक्की सडक भएको घोडाबाँधेदेखि बुर्तिवाङ पुग्ने सडक कतै भासिने, कतै चर्किने, कतै पहिरो जाने हुँदा निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् ।

बागलुङ बजारदेखि बुर्तिवाङ सडकखण्डमा सहजरुपमा आउजाउ गर्न लोकमार्ग आयोजनासँग समन्वय गरेर अगाडि बढेको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । “विपद् व्यवस्थापनमा हामी संवेदनशील छौँ”, प्रजिअ क्षेत्रीले भने, “जोखिम भए पनि लामो समयसम्म सडक अवरुद्ध भएको छैन ।” दीर्घकालीन जोखिम न्यूनीकरणका लागि आयोजनासँग छलफल भइरहेको प्रजिअ क्षेत्रीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button