पोखरामा गण्डकी प्रदेशका पदकधारी खेलाडी पानीमा भिज्दै पुरस्कृत !

दीननाथ बराल , पोखरा न्यूज – २७, असार । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी भइ पदक विजेता खेलाडी एवं प्रशिक्षकहरुलाई गण्डकी प्रदेश सरकारले नगद पुरस्कार सहित सम्मान गरेको छ । शुक्रबार साँझ पोखरा रंगशालामा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको संयोजनमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाल, सदस्य राजेश कुमार गुरुङ, नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ लगायतले खेलाडीहरुलाई नगद सहित सम्मान गरेका हुन्।

आठौं खेलकुदमा प्रदेशबाट सहभागि भएर स्वर्ण पदक दिलाउने एकल तर्फको खेलाडीलाई जनही १० हजार, रजत पदक दिलाउनेलाई जनही ७ हजार र कास्य पदक दिलाउनेलाई जनही ५ हजारका दरले रकम सहित सम्मान गरिएको छ भने समुहतर्फ स्वर्ण पदक ल्याउनेलाई जनही ७ हजार, रजत पदक दिलाउनेलाई जनही ५ हजार र कास्य पदक दिलाउनेलाई ५ हजार प्रदान गरिएको थियो ।

त्यसै गरी राखेप अन्तर्गतका प्रशिक्षकलाई मात्र सम्मान गरिएको थियो । स्वर्ण, रजत र कास्य पदक दिलाउने प्रशिक्षकलाई क्रमशः ७, ५ र ३ हजार नगद सहित सम्मान गरिएको थियो । २ सय ३ जना पदकधारी खेलाडीहरुलाई सम्मान गरिएको थियोे । उक्त अवसरमा खेलकुदमा उल्लेखनिय योगदान पुराएको भन्दै एसियन पदकधारी खेलाडी चित्र गुरुङ, गणेश भट्टराई, पूर्व खेलाडी एवं राखेपका पुर्व सदस्य खड्ग बहादुर रानाभाट, नेपाल ह्याण्डबल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक अध्यक्ष एवं पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, मञ्च गण्डकीका निवर्तमान अध्यक्ष केशव पाठक लगायतलाई सम्मान गरिएको थियोे ।

राखेपसंग आवद्ध करिब १६ जना प्रशिक्षकहरु सम्मानित हुँदा पदक दिलाउन अहोरात्र खट्ने केही प्रशिक्षकहरु  समारोहमा सम्मानित नहुँदा निराश भएका थिए । आठौं खेलकुदमा गण्डकी प्रदेशका ४० जनाले एकल तथा समुहमा गरी स्वर्ण पदक जितेका थिए । त्यसै गरी रजत पदक ५७ जनाले र एक सय ६ जनाले कास्य पदक जितेका थिए ।

आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश पाचौं तथा प्रदेशमा दोश्रो भएको थियो । पुरुष ह्याण्डवलको टीमले टिम इभेन्टमा प्रदेशमै पहिलो पटक समुह तर्फ स्वर्ण पदक दिलाएको हो । टिम इभेन्टमा अधिकाशं विभागिय टोलीले बाजी मारेका हुन् । नेपालगन्जमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशलाई पदक दिलाउने खेलाडीहरुको पुरस्कार स्वरुप प्रदेश सरकारले ११ लाख ८५ हजार रुपैया सहयोग उपलब्ध गराएको हो ।

११ औं गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापनसंगै खेलाडी सम्मानको एकै मञ्चलाई प्रयोग गरिएको कार्यक्रमको समापन तथा सम्मान कार्यक्रमको अवसरमा पानी परेर खेलाडीहरु भिजे पनि आयोजकले खेलाडीहरुलाई खुल्ला आकासमै राखेर पुरस्कार वितरण गरेको थियो ।

प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ सहितका अतिथीहरुले मञ्चमा बसेर खेलाडीहरुलाई सम्मान गरेसंगै सम्मान सहित प्राप्त गरेको प्रमाण पत्र पानीबाट जोगाउन खेलाडीहरुलाई कठिन भएको थियो । नेपालकै ठुलो बहुउद्धेश्य कवर्डहल कार्यक्रम स्थल भन्दा करिब २ मिटर नजिक हुदा पनि आयोजकले अतिथीहरुलाई मञ्चमै राखेर खेलाडीहरुलाई पानीमा भिजाउदै हतार हतारमा पुरस्कार तथा सम्मान गरेको थियो ।

केही खेलाडी तथा खेलाडीका अभिभावकहरु आयोजकको व्यावस्थापन प्रति रुष्ट भएका छन्। ८ औं खेलकुदमा दुई वटा कास्य पदक दिलाएका लङटेनिसका खेलाडी धरम लामिछानेले खेलाडी सम्मानले आफुहरुलाई खुसी लागेको बताउदै व्यावस्थापकीय पक्षमा कमजोर हुदा आफुहरु थप उत्साहित नभएको प्रतिक्रिया दिए ।

एक अभिभावक शान्ति उदासले खेलाडीहरुलाई पानीमा भिजाउदै आफुहरु मञ्चमै बसेर खेलाडी सम्मान गर्नुको कुनै अर्थ नभएको गुनासो गरिन्। उनले भनिन“ खेलाडीले दुःख गरेर खेलेरै प्रदेशको नाम राख्ने, अहिले सम्मान कार्यक्रममा खेलाडीलाई पानीमा भिजाउदै मञ्च को ओतमा बसेर पुरस्कार बाड्ने, यो सम्मान कार्यक्रम होइन अपमान कार्यक्रम हो म यो भन्छु । ” यस्ता गति विधिले खेलाडी तथा अभिभावकको मनोवल घट्ने उनले बताइन्।

राखेप संगको सहकार्यमा गण्डकी प्रदेशमा धेरै खेलकुदको विकास गर्ने आफुहरुको योजना रहेको मुख्य मन्त्री गुरुङले बताए । उनले भने “सम्मान पत्रले खेलाडीहरुको खाली पेट भरिदैन प्रदेशमा रहेका खेलाडीहरुको व्यवसायीको लागि राखेपको समन्वयमा प्रदेश सरकारले के गर्नुपर्छ हामी तयार छौं ।” समयमै खेलकुदमा समन्वयन नहुदा यस बर्ष पनि खासै धेरै बजेट नछुट्याएको उनले बताए ।

यसैबिच, ११ औं गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कास्कीले उपाधि जितेको छ । कास्कीले १० जिल्लालाई पछि पार्दै १९ स्वर्ण, १३ रजत र १० कास्य पदक सहित ४२ पदक हात पार्दै उपाधि जितेको हो । त्यसै गरी ६ स्वर्ण २ कास्य पदक सहित ८ पदक हात पारेकोे बागलुङ दोश्रो र ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक सहित १४ पदक ल्याएको नवलपुर तेश्रो भएको छ । कास्की गत बर्षको च्याम्पियन हो । पोखरा रंगशालामा विहिबार देखि उक्त प्रतियोगिता सुरु भएको थियो । उक्त प्रतियोगितामा सहभागि केही एथ्लेटिक्सका खेलाडी प्रतियोगिताकै अबधिमा लड्न पुग्दा समेत मेडिकल सेवा पाएका थिएनन्।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा संचालन भएको प्रतियोगितामा ११ जिल्लाका करिब ९ सय भन्दा बढी खेलाडीहरु सहभागि हुने भएको समितिका अध्यक्ष श्रेष्ठले बताए ।

 प्रतियोगितामा तेक्वान्दो, कराँते, उसु, कवड्डी, भलिवल र एथ्लेटिक्स तर्फको प्रतिष्प्रर्धा भएको हो । प्रदेशमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक सय ६ जना खेलाडीहरु यही असार २८ गते राष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि काठमाण्डौं प्रस्थान गर्ने भएकाछन्। उक्त छनौट सहितको प्रतियोगिता सम्पन्न गर्न २९ लाख बजेट रहेको समितिले जनाएको छ ।

यसै बिच प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले ९ औैं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डोत्त्तोलन गरेकाछन्। आउदो बर्ष गण्डकी प्रदेशमा हुने उक्त प्रतियोगिताको लागि मुख्य मन्त्री गुरुङले नेपालगन्जबाट ल्याएको झण्डा पोखरा रंगशालामा झण्डोत्त्तोलन गरेका हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button