दुई करोड ३१ लाख लागतमा नौडाँडा-कार्कीनेटा सडकखण्डमा पक्की पुल

पोखरा न्यूज – २९, असार । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका नौडाँडा–कार्कीनेटा सडकखण्डको जुग्लेखोलामा पक्की पुल निर्माण भएको छ । कात्तिक महीनामा निर्माण शुरु गरिएको २२ मिटर लम्बाइ र छ मिटर चौडाइको सो पुल नेपाल सरकार र विश्व बैंकको संयुक्त रु दुई करोड ३१ लाख १६ हजारको लगानीमा तोकिएकै समयमा निर्माण सम्पन्न गरिएको हो ।

शनिबार निर्माण सम्पन्न पुलको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय जनता र जनप्रतिनिधिको निगरानीमा हुने कुनै पनि विकास निर्माणका कार्य छिटोछरितो र गुणस्तरीय हुने विश्वास व्यक्त गरे । मुलुकबाट ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गर्दै कछुवाको चालमा नभई खरायोको गतिमा विकास निर्माण गरिनुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै उनले प्रदेश सरकारले यस वर्षलाई भौतिक निर्माणको वर्षका रूपमा लिएको जानकारी दिए ।

प्रदेश सरकारले दुई वर्षभित्र ‘एक घर एक धारा र सबैका घरमा उज्यालो’ पुर्उयाने अभियान सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री गुरुङले उर्वरफाँटमा सिँचाइको व्यवस्था गरी कृषि उत्पादनमा वृद्धि गर्दै खाद्यान्नमा निर्भर हुने बताए  ।

प्रदेशका भौतिक योजना तथा विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले दुई वर्षभित्र काठेपोल विस्थापित गरी स्टिलपोल राख्ने योजनाअन्तर्गत तीव्ररुपमा काम भइरहेको जानकारी दिए । विकास निर्माणको काममा ढिलासुस्ती भएका कारण मुलुकले विकासले गति लिन नसकेको बताउँदै उहाँले तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने धारणा राखे ।

गण्डकी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले मुलुकमा सङ्घीयता आएसँगै जनताले घरआँगनमै सेवा प्राप्त गरेको बताउँदै निर्माणकार्यलाई व्यवस्थित गरिने बताए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्माले उत्पादनमा वृद्धि गर्नका लागि भौतिक विकासमा जोड दिइनुपर्ने बताए ।

आँधीखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेल, उपाध्यक्ष शर्मिलादेवी पौडेल क्षेत्री, वडाध्यक्ष कृष्णप्रसाद पनेरुलगायतले पालिकाको विकास निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button