दूध र मासुमा तनहँ आत्मनिर्भर

पोखरा न्यूज – ०१, साउन । दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो । जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ ।

जिल्लामा वार्षिक २९ हजार ४१९ मेट्रिक टन दूधको माग रहेकामा ४९ हजार ५४३ मेट्रिक टन दूध उत्पादन भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार तनहुँमा वार्षिक २० हजार २४ मेट्रिक टन दूध बढी उत्पादन भइरहेको छ । बढी भएको दूध तनहुँ जिल्लाभन्दा बाहिर निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ ।

विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७४/७५ मा भन्दा आर्थिक वर्ष २०७५/७६ मा मा जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा ४८ हजार ३३५ मेट्रिक टन दूध उत्पादन भएको थियो । डा श्रेष्ठका अनुसार प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यकता पर्ने भए पनि १५२ लिटर दूध उपलब्ध भइरहेको छ ।

डा श्रेष्ठका अनुसार तनहुँमा उत्पादित दूधमा भैँसीको योगदान बढिरहेको छ । जिल्लामा एक लाख ४० हजार २०६ भैसी, ९६ हजार ४४१ गाईपालन गरिएको छ । गाईभन्दा भैँसीपालन बढी भएकाले दूध उत्पादनमा भैँसीको योगदान धेरै रहेको डा श्रेष्ठले जानकारी दिए ।

मासुमा पनि आत्मनिर्भर

वार्षिक चार हजार ५२६ मेट्रिक टन मासुको माग रहेको तनहुँमा चार हजार ५५८ मेट्रिक टन मासु उत्पादन भइरहेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन विगतदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको कार्यालय प्रमुख डा श्रेष्ठले बताए ।

जिल्लामा राँगो/भैसीबाट दुई हजार ९४९, खसी/बोकाबाट ९९६, भेडाबाट ४.५८, सुङ्गुर/बङ्गुरबाट ३३७.४०, कुखुराबाट २६८.५६ र हाँसबाट १.०८ मेट्रिक टन मासु उत्पादन भएको छ । तनहुँमा १७२ गाई फार्म, ४९ भैँसी, २८६ बाख्रा, ९६ बङ्गुर र २३६ वटा कुखुरा फार्म दर्ता भएर सञ्चालमा रहेका छन् । युवालाई पशुपालनमा आकर्षित गराउने अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायतका कामहरु गरिएको श्रेष्ठले बताए ।

अण्डामा भने तनहुँ आत्मनिर्भर हुन सकेको छैन । एक करोड ७१ लाख ३४ हजार गोटा अण्डाको माग रहेकामा एक करोड ५२ लाख ५७ हजार गोटा मात्रै अण्डा उत्पादन भइरहेको कार्यालयले जनाएको छ । प्रतिव्यक्ति वार्षिक १४ केजी मासु आवश्यक भए पनि १४.०९ केजी र ५३ गोटा अण्डा आवश्यक भए पनि ४७.१९ गोटा मात्रै अण्डा उपलब्धता भइरहेको छ ।

आव २०७५/७६ मा जिल्लामा ९६ हजार ४४१ गाई, एक लाख ४० हजार २०६ भैँसी, पाँच लाख १२ हजार २४ बाख्रा, पाँच लाख ४८ हजार ५८२ कुखुरा र ७८ हजार ४४७ सुङ्गुर/बुङ्गुर पालन गरिएको छ । पशुपालनको सङ्ख्या बढेसँगै तनहुँ दूध र मासुमा आत्मनिर्भर बन्न सफल भएको डा श्रेष्ठले जानकारी दिए ।

आव २०७४/७५ मा ९५ हजार २९७ गाई, एक लाख ३७ हजार १८८ भैंसी, चार लाख ९८ हजार ७८ बाख्रा, पाँच लाख २९ हजार ५१९ कुखुरा र ७६ हजार ९८४ सुङ्गुर÷बङ्गुर पालिएको थियो । जिल्लामा ७८ हजार २८६ घरधुरीमध्ये ५२ हजार ६१५ घरधुरी पशुपालनमा आबद्ध छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button