पोखरा क्षेत्रमा बेलायती प्रविधि सेन्ट्रल हिटिङ हट वाटर सिस्टम जडान गरे २ बर्ष वारेन्टी

दीननाथ बराल, पोखरा न्यूज – ०३, साउन । बेलायतको प्रविधि सेन्ट्रल हिटिङ हट वाटर सिस्टम पोखरा क्षेत्रमा जडान गरे दुई बर्ष वारेन्टी हुने भएको छ ।

पोखरा छिनेडाँडामा रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा शुक्रबार आयोजित प्रविधिको जानकारी गराउदै डि एण्ड जे  थर्मल सोलुसन प्रलि संंचालक मध्येका एक धनु थकालीले प्रविधि जडान गरे दुई बर्षको वारेन्टी दिने घोषणा गरेका हुन्।

उनले भने “हामी तीन भाईले बेलायतमा यस्तो सिस्टमा काम गरेको अनुभवले गर्दा यो प्रविधि नेपाल भित्र्याएको हौं, हामी अझै नेपालमा पक्षिणकालमै छौं, यदि कसैले यो प्रविधि जडान गरेमा हामीले सम्पूर्ण पार्टसदेखि सेवाको लागि हामी हरदम तयार छौं । ” नेपालको पोखरा र काठमाण्डौंका केही ठाउँमा मात्र यसको प्रयोग भएको बताएका थकालीले अब नेपालको मुख्य शहरहरुसम्म पुर्याउने आफुहरुको लक्ष्य रहेको जनाए ।

आफुहरुले जडान गरेको प्रविधिमा कुनै पार्ट्स विग्रेमा दुई बर्ष भित्र नि:शुल्क साटफेर गर्ने उनले जनाए। थकालीसहित युवा व्यवसायी जगन गुरुङ र राजिव गुरुङ मिलेर प्रालि दर्ता गरी नेपालमा व्यवसायीक रुपमा यसलाई अघि बढाउने सोचका साथ आफुहरु लागेको उनीहरुको भनाई छ ।

तीन वर्षदेखि नेपालमा सिस्टमको परीक्षण गर्दै आउने क्रममा सफल परीक्षण भएसँगै आफूहरूले प्रविधिसँगै व्यवसाय रुपमा अगाडी बढाएको थकालीले जनाए । चिसो मौसममा विषेशगरी बालबालिका र वृद्धवृद्धाका लागि आवश्यक पर्ने कोठामा तातोपन र तातोपानीका लागि उक्त सिस्टम अति नै उपयुक्त हुने थकालीले दाबी गरे । “आर्थिक हिसाबले केही महँगो भएपनि, बिस्तारै यसको उपयोगिता बढ्दै जाने भएकाले धेरैलाई मूल्य ठीकै लाग्नेछ,” उनले भने, “यसको जोखिम खासै धेरै नभएकाले विदेशमा बढी नै प्रयोग भएको पाइन्छ, यसको प्रयोग अब नेपालमा पनि भित्र्याउन हामी लागेका छौं ।”

एलपी ग्याससहित दुई वटा पानी तताउन र दुई वटा कोठा तताउनका लागि सिस्टममा पाइप जडान गरिएकाले आवश्यकता अनुसारको तापक्रम बढाउन वा घटाउन सकिने सिस्टम रहेको थकालीले जानकारी दिए । सामान्यतया ४ वटा अत्याधुनिक सेन्ट्रल हिटरको मेसिन किन्दा करिब ३ लाख लाग्ने उनले जनाए । एउटा कोठामा एउटा मात्र उक्त सिस्टम जडान गर्दा करिब दुई लाख रूपैयाँ लाग्ने थकालीले जानकारी दिए ।

धाराको पानीमा मेसिनको सिस्टमले सेन्सरको रूपमा पानी तताउने गर्दछ भने मेसिन भित्र करिब ५० लिटर पानी हुन्छ । मेसिन भित्र आगो बल्ने भएकाले पंखाले पानी घुमाउँदै त्यसले तताएर कोठा नै तताउने गर्दछ । वातावरणीय तथा स्वास्थ्यका दृष्टिले समेत उपयुक्त सिस्टम नेपालका होटल तथा बिरामी एवं चिसो मौसममा बढी उपयोगी हुन सक्ने उनले जनाए ।

बेलायतको सिस्टमलाई चीनबाट आफूहरूले मेसिन भित्र्याउँदै नेपालमा यसको व्यवसाय शुरु गर्न लागेको थकालीले बताए । दैनिक ४ घण्टा सिस्टमबाट कोठा वा पानी तताउन मेसिन सञ्चालन गर्दा एउटा १४ केजीको एलपी ग्याँस खपत हुने गर्दछ ।

पोखरामा व्यवसायी अशोक पालिखेले प्रविधि प्रयोग गरिसकेका छन । पालिखेले नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजमा प्रविधि जडान गरेका हुन । युरोपियन सिस्टम भएकोले हाल आफुहरुलाई सिस्टम राम्रो लागेको उनले प्रतिक्रिया दिए ।

कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यावसायी, निर्माण व्यावसायी, इन्जिनियर, उद्योगी व्यावसायी लगायतको सहभागिता रहेको थियो । सेन्ट्रेल हिटिङ प्रणालीमा तामा वा प्लाष्टिक को कम्पोजिट पाइप प्रयोग गरिन्छ । लामाको पाइप सोल्डर बाट जडान गरिन्छ । प्लाष्टीकको पाइपलाई यसैको फिटिङबाट जोडिने छ । यस बोइलरबाट निस्किएको हानिकारक धुवा फ्लु को माध्यमबाट कोठा बाहिर फ्याकिनेछ । कोठाको तापक्रम मागे जति पुगे पछि बोइलर आफै बन्द हुने गर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button