तनहुँको प्रसिद्ध तीर्थस्थल छाब्दीबाराही जाने बाटो कालोपत्रे हुँदै

पोखरा न्यूज – ०४, साउन ।  तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी मोटरमार्गको चार मिटर चौडाइसहित ८०० मिटर दूरी कालोपत्र कार्य सम्पन्न भएको छ । जिल्लाको व्यास नगरपालिका– १ मोहोरियाटारदेखि भेडिखोलासम्मको उक्त दूरी कालोपत्र गरिएको हो ।

सदरमुकाम दमौलीदेखि छाब्दी देवी मन्दिर पुग्न करीब आठ किलोमिटर दूरी रहेकामा तीन किलोमिटर अघिल्ला वर्षमा कालोपत्र भइसकेको छ । कालोपत्र हुन बाँकी रहेको पाँच किलोमिटर दूरीमध्ये पहिलो चरणमा ८०० मिटर दूरी कालोपत्र सम्पन्न भएको छाब्दी मोटर मार्ग उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिए । उनका अनुसार उक्त मार्गको लागि केन्द्रीय सरकारले रु एक करोड विनियोजन गरेको थियो ।

छाब्दी मोटरमार्गको कालोपत्र गर्नका लागि दोस्रो चरणमा गण्डकी प्रदेश सरकारले रु एक करोड विनियोजन गरिसकेको छ । उक्त बजेटबाट ८०० मिटर नाला र ५०० मिटर सडक कालोपत्र गर्ने योजना रहेको सचिव पण्डितले बताए ।

तेस्रो चरणमा व्यास नगरपालिकाले विनियोजन गरेको रु दुई करोड बजेटले मोटरमार्ग कालोपत्र गर्दा पनि करीब ३०० मिटर मार्ग कालोपत्र हुन बाँकी रहने देखिएको छ । समितिका सचिव पण्डितले भने, “बाँकी रहेको मार्गको प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेकाले आउँदो दशैभित्रमा पूरै मार्ग कालोपत्र हुने विश्वास लिएका छौँ ।”

उक्त मार्गको स्थानीय, प्रदेश र सङ्घीय गरी तीनवटै सरकारको सहयोग रहेको हुँदा आउँदा दिनमा यात्रु तथा भक्तजनले हिलो र धुलोमा यात्रा गर्नेुपर्ने समस्याको अन्त्य हुने अपेक्षा गरिएको उपभोक्ता समितिका सदस्य सूर्यबहादुर केसीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button