पोखरामा वडा कार्यालयकै फोहोर टोल विकास संस्थाको अगुवाईमा सफा गरियो !

दीननाथ बराल, पोखरा न्यूज – ०४, साउन ।  पोखरा महानगरपालिकाले घर-घर र टोल-टोल सरसफाई गरौ भनिरहदा  पोखरा-६ का वडावासीले भने आफ्नै वडा कार्यालयमा रहेको फोहोर सरसफाइ गरेका छन्।

स्थानियले आग्रह गर्दा समेत वडा कार्यालयले आफ्नो वडा परिसर भित्र रहेको फोहोर सरसफाई गर्न  नमाने पछि शनिबार स्थानिय बगैचा टोल विकास संस्थाको अगुवाइमा वडा परिसरमा भएको फोहोर सर-सफाई गरिएको संस्थाका सल्लाहकार नवराज अधिकारीले बताए ।

संस्थाका अध्यक्ष मिना ढकालको नेतृत्वमा गएको टोलीले करिब एक गाडी फोहोर वडा परिसरबाटै संकलन गरेको अधिकारीले दाबी गरे । उनले भने “वडालाई कसरी व्यवस्थित पार्न सकिन्छ भनेर वडासंग छलफल हुँदा, पहिला बाहिर भएको फोहोरको सरसफाई गर्ने, सोफिटको पानी फाल्ने, पार्किङ कसरी व्यवस्थित पार्ने, लाइट कसरी राख्ने लगायतका आधारभूत कुराहरुको बारेमा छलफल भएको थियो ।

आफ्नै वडामा भएको फोहोर नफाली अन्य ठाउँको फोहोर उठाउनु उचित नभएर सफाई अभियान वडा कार्यालयबाटै शुरु गरिएको उनले जनाए । सर-सफाई कार्यक्रममा वडा अध्यक्ष जगत बहादुर पहारी सहितका अन्य केही सदस्य आए पनि केही समय पछि आफ्नो गन्तव्यमा लागेको उनले गुनासो गरे ।

रुख काटेर फालेको दाउरा, पातपतिङगर सहितको प्लाष्टिक र सिसा समेत वडा परिसरमा भेटिएको सल्लाहकार अधिकारीले दाबी गरे । पोखरा-६ का वडा अध्यक्ष जगत बहादुर पहारीले भने स्थानिय टोल विकास संस्थाको समन्वयमा आफुहरुले शनिबार वडा कार्यालय परिसरमा सरसफाई गरेको बताए ।

उनले भने “वर पिपलको रुखका हागाविगा काटेर जम्मा पारेको दाउरा सहितको पातपतिङगर केही महिना देखि जम्मा गरेका राखेका थियौं तर टोल विकासका पदाधिकारीले सफा गर्ने भने पछि लौ त भनेर हामी सवै मिलेर सफा गरेका हौं । ” उक्त दाउरा वडाबाट हटाउनको लागि २ हजार ५ सय रुपैया तिरेर दाउरा हटाइएको उनले जनाए ।

टोल विकास संस्थाले सफाईको सानो काम गरेर ठुलो फुई लगाएको उनको आरोप छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button